कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘दलित नारीवादी दृष्टिकोण किन ?’

म यस्तो दिनको पर्खाइमा छु, जुन दिनमा नागरिक समाज, बुद्धिजीवी, विश्वविद्यालय, राजनीतिक दल, भ्रातृ संगठन र महिला संगठनहरूले आफूलाई क्रान्तिकारी ठहर्‍याउन होइन, बरु नेपाली समाजको जटिल शक्ति–सम्बन्ध बुझ्न जात र लैंगिकताको अन्तरसम्बन्ध बुझोस् ।

काठमाडौँ — लेखक सुनैना आर्य ‘दलित फेमिनिस्ट थ्योरिज: अ रिडर’ की सम्पादक र सेन्टर फर फिलोसफी, जेएनयुकी रिसर्च फेलो हुन् । उनले अशोक गुरुङसँग मिलेर ‘कास्ट ग्लोबल जर्नल’ को लैंगिक विशेषांक सम्पादन गरेकी छन् । सरिता परियार लेखक तथा सामाजिक न्यायकी अभियन्ता हुन् ।

‘दलित नारीवादी दृष्टिकोण किन ?’

उनी समता फाउन्डेसनले दलित महिलाका नयाँ कथाहरू सिर्जना गर्न थालेको ‘जस्ट फ्युचर्स इनिसिएटिभ’ की सहप्रमुख अन्वेषक हुन् । उनी सन् २०२२ का लागि स्ट्यानफोर्ड युनिभर्सिटीको लोकतन्त्र, विकास र कानुनको शासनबारे ड्रेपर हिल्स समर फेलो हुन् । सुनैनाको विचार अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएको हो । सरिता र सुनैनाको वार्ता:

सरिता: सामाजिक न्यायका लागि दर्नाल अवार्डको क्रममा जात, वर्ग, लैंगिकता र यौनिकताबारे विश्वव्यापी संवादमा जोडिँदै नेपाल भ्रमण गर्दाका अनुभव सुनाउनुस् न ।

सुनैना: यो नेपाली समाजबारे सिक्ने पहिलो अवसर हो । नेपाली समाजमा जातले कसरी काम गर्छ, भारतको भन्दा कति फरक छ ? यी प्रश्नमा भारतीय अध्ययनले नेपाली समाजका मौलिक सूक्ष्मतालाई व्याख्या गर्न नसक्ला । जस्तै, सन् १८५४ को मुलुकी ऐनले बहुसंख्यक नेपालीलाई जातव्यवस्थामा विभाजित गरेको छ । सामान्य रूपमा जातव्यवस्थाको गतिशील प्रकृति र नेपालमा यसको विशेष सञ्चालन पद्धतिबारे खोज्ने अवसर दिएकोमा आभारी छु ।

मेरो सीमित बुझाइमा, यहाँको दलित जीवन समृद्ध संस्कृति भएका आदिवासी जनजातिको जीवनसँग पनि धेरै जोडिएका छन् । नेपालमा जात, जनजाति, लैंगिक-वर्गीय गतिशीलताबारे धेरै खोजी गर्न बाँकी रहे पनि यी क्षेत्रमा प्राज्ञिक अध्ययन हुनेमा आशावादी छु । विश्वव्यापी रूपमा जातव्यवस्थाको विमर्शमा धेरैजसो त भारतको मात्रै कुरो बढी सुनिन्छ । प्राज्ञिक तहमा नेपालको जातव्यवस्थालाई लिएर कमै छलफल हुने गरेको देख्छु । विश्वास छ, तपाईंहरूका कामले नेपाललाई नयाँ ढंगले बुझ्न सघाउँछन् । विशेषगरी ‘जस्ट फ्युचर्स इनिसिएटिभ’ बाट सिक्ने मौका पाएकी छु । नेपाली समाजको पुनर्संरचनाका लागि यहाँहरूले गरिरहेका काम निकै महत्त्वपूर्ण छ । सबैको समानता, अधिकार र मर्यादाका लागि लड्ने प्रत्येक नेपालीलाई शुभकामना !

सुनैना: दर्नाल अवार्डको अवसरमा जातीय असमानताबारे छलफल शृंखला आयोजना गरिसकेपछि तपाईं के महसुस गरिरहनुभएको छ ?

सरिता: जातव्यवस्था धेरै जटिल, बहुस्तरीय र अन्तरपुस्ताको प्रश्न हो । यसबारे विभिन्न विधामार्फत अध्ययन गरिरहेका अध्येता र अभियन्तासँगको झन्डै दस दिन निरन्तर छलफल गरियो । जात, वर्ग, लैंगिकता र यौनिकतासम्बन्धी छलफलको अर्थ र प्रभाव बुझ्ने कोसिस गर्दै छु । जातव्यवस्थालाई दलितको कोणबाट मात्रै नहेरी कसरी प्रभुत्वशाली जात समुदायको कोणबाट पनि हेर्ने ? यस विषयमा समाजशास्त्री सतिश देशपाण्डेको जातविहीनता (कास्टलेसनेस) को अवधारणा केलाउँदै छु । प्रभुत्वशाली जात समुदायका सदस्यहरू पनि कसरी जातव्यवस्थाकै हिस्सा हुन् ? उनीहरूले कसरी निश्चित जातमा जन्मिएकै कारण पुस्तौंपुस्तादेखि संरचनात्मक लाभांश पाउँदै आए ? जातबारे विश्वव्यापी विमर्शमा नेपालको विशिष्ट जातव्यवस्था र यसको इतिहास कसरी अध्ययन गर्ने, बुझ्ने र जोड्ने होला ? यी प्रश्नमा भएका बातचितबाट आशावादी छु ।

अवार्डमार्फत दलित सौन्दर्य र गौरवको पक्षमा उभिँदै दलित सिर्जनशीलतालाई सम्मान गर्ने प्रयास गर्दै छौं । जस्तै: मधेसी दलित महिलाहरूले आफ्नो जीवन भोगाइमा आधारित शक्तिशाली कवितावाचन गरे । उनीहरूले माइक समाउनु र भोगाइ पोख्नुको अर्थ के होला भनेर सोचिरहेकी छु । र्‍यापमार्फत दिमृति विश्वकर्माले बाल्यकालका स्मृतिलाई गहिरोसँग जोडिन् र जातव्यवस्था माथि प्रश्न उठाइन् । म र मेरो समुदायको इतिहास बुझ्न हाम्रो कथा महत्त्वपूर्ण हुन्छ र हाम्रो भोगाइले आफ्नै इतिहासलाई बुझ्न सघाउँछ । कलाका माध्यमबाट भोगाइ पोख्ने, प्रश्न गर्नेको युवा जमात बिस्तारै बढ्दै छ । कल्पनाशीलता र रचनात्मकताले दलित जीवनलाई खोतल्दै आफ्ना दुःख, पीडा र संघर्षसँगै खुसी साटासाट गर्न सघाउँछ । रचनात्मक अभिव्यक्तिका लागि ठाउँ बनाउन सक्यौं भने एकअर्कालाई अझ राम्ररी बुझ्न सक्छौं कि ?

सरिता: तपाईं दर्शनशास्त्रको अध्येता भएकीले दलित महिलाको संसारलाई कसरी बुझ्नुहुन्छ ?

सुनैना: दर्शनशास्त्रले विभिन्न स्थितिलाई हाम्रो संसारको समग्र दृष्टिकोणबाट हेर्न सघाउँछ । दर्शनले दलित महिलाको कोणबाट संसारबारे जटिल र कठिन प्रश्न सोध्न सिकाउँछ । जस्तै, जातसँग जोडिएका संस्थानले सामाजिक सम्बन्ध र अन्तर्क्रियाको मेरुदण्डको रूपमा कसरी काम गर्छन् ? जातव्यवस्थाभित्र पितृसत्ताको भूमिका के हुन्छ ? दलित महिलाको रूपमा अधिकार प्राप्त गर्नुको अर्थ के हो ? पुस्तौंदेखि पीडा भोगेका दलितहरूको सशक्तीकरणमा कसले के–के योगदान गर्न सक्छ ? दलित महिलालाई शिक्षाविद्, प्रशासक, दार्शनिकको रूपमा कल्पना गर्न किन असम्भवजस्तै छ ?


सुनैना आर्य

जब हामी सामान्य ठानिने बहिष्करणका उत्पत्ति, संयन्त्र र कार्यप्रणालीबारे चिन्तन मनन गर्छौं, दलित महिलाका भोगाइले दर्शनका परम्परागत तौरतरिकालाई ठूलो चुनौती दिन्छ । लाग्छ, दर्शनले एक विधाको रूपमा दलित महिलाहरूको जीवनबाट धेरै सिक्नुपर्छ । दलित महिलाको संसारलाई दार्शनिकको नजरले भन्दा केही बेसी नै सोच्नुपर्छ ।

सुनैना: मलाई जान्न मन छ, नेपाली समाजमा दलित महिलाहरू बोल्दा साधारणतया पुरुषहरूले कसरी सुन्ने गरेको पाइन्छ ?

सरिता: दलित महिलाहरू सघनताका साथ आफ्नो भोगाइका कथा सुनाउँछन् । तर, उनीहरूबाट सिक्न सकिन्छ कि भनेर गम्भीर भएर सुन्नेको जमात साह्रै सानो छ । गैरदलितका हाउभाउ र नजर हेर्दा उनीहरूले गम्भीरतापूर्वक हामीलाई सुन्दै छन् भन्ने अनुभूति गर्न सजिलो छैन । हामीलाई ‘सुनिरहँदा’ उनीहरूका मन्द मुस्कान र आँखाको सुस्त गतिको चित्र कोर्न सकिन्छ ।

प्रायःजसो दलित महिलाले बोल्दा पुरुषले आँखामा नहेर्ने, हाईहाई काढिरहेको भए पनि लोग्ने मानिसतिरै मुन्टो फर्काएर कुरो गर्ने, हामीले सोधेका प्रश्नको जवाफ दिनु आवश्यक नठान्ने, मौन बस्ने, विलम्ब गर्ने, सकेसम्म टार्ने, प्रोफेसनल काममा पनि कम जवाफदेही हुने, कुनै न कुनै बहानामा दलित महिलाका अध्ययन, अनुभव र ज्ञानलाई गिराउने, उडाउने, धेरै भावुक भयौ भन्ने, फिस्स हाँस्ने, बैठकमा बस्दा आफ्नो पक्षमा बहुमत बनाउनु परे महिलाको अनुहार हेरेर अव्यक्त स्वीकृति माग्ने, तथ्यसहित तर्क दिँदा नस्विकार्ने, केही पनि सीप नलागे हकार्ने गरेको देख्छु । आम रूपमै महिलाहरू बोल्दा यस्तो प्रवृत्ति देखिन्छ । पितृसत्तात्मक सोचाइ बोकेका पुरुषले मात्रै होइन, प्रभुत्वशाली जातका महिलाले पनि दलित महिलालाई यस्तै व्यवहार गर्छन् । दलित महिलाले बोल्दा मात्रै होइन, आम दलित समुदायले बोल्दा पनि यस्तै प्रतिक्रिया जनाउने प्रवृत्ति देखिन्छ ।

उनीहरू धेरैजसो भन्ने गर्छन्, दलित महिलाहरू एउटै कुरो दोहोर्‍याउँछन्, नयाँ कुरै गर्दैनन्, गुनासो धेरै गर्छन् । आफैभित्र हीनताबोध छ, केही गर्न आफैं अघि सर्दैनन् । दलित महिलाहरू केही जान्दैनन्, निरीह प्राणी हुन्, उनीहरूलाई सिकाउनुपर्छ भन्ने भाष्य अझै पनि बलियो दखिन्छ ।

सरिता: दक्षिण एसियामा लैंगिकताबारे बुझ्न जातव्यवस्था किन महत्त्वपूर्ण छ ? यसले प्रभुत्वशाली जातका महिलालाई पनि कसरी प्रभाव पार्छ ?

सुनैना: ‘थियराइजिङ जेन्डर इन साउथ एसिया’ नामक मेरो लेख लैंगिकता, महिला र यौनिकताका प्रश्नमा केन्द्रित छ, जुन जातको सिद्धान्त र अभ्याससँग जोडिएको छ । अम्बेडकरको किताब ‘कास्ट इन इन्डिया’ को बौद्धिक विश्लेषणले पनि देखाउँछ- पितृसत्ता जातकै जुम्ल्याहा हो । महिलाको यौनिकतालाई नियन्त्रण गर्नुको उद्देश्य आफ्नै जातभित्र मात्रै बिहे गर्ने सजातीय विवाह पद्धति कायम राख्नु हो, जुन अन्तरजातीय विवाहको निषेध हो । त्यसैले हाम्रो जातीय समाजमा परिवारको इज्जतका लागि गरिने ‘अनर किलिङ’ हिंसाको भयानक रूप हो ।

ब्राह्मणवादी पितृसत्ताले ब्राह्मण र क्षत्रीय पुरुषलाई हाम्रो समाजको अधिकांश स्रोतसाधन र पुँजीको मालिक बनाउँछ, दलित महिला र दलित क्वेयरलाई प्रभुत्वशाली श्रेष्ठतावादी समुदायहरूको सिकार हुने हालतमा राख्छ । हामीहरूले बेहोर्ने हिंसा, अपमान, बहिष्करण, भेदभाव र आघात संयोगवश भएको होइन, दुर्गन्धित जातवादी पितृसत्ताको नियोजित देन हो । यहीँनेर प्रभुत्वशाली सवर्ण महिला र सीमान्तकृत दलित-बहुजन-आदिवासी महिलाको जीवनबीचका ‘भिन्नता’ लाई बुझ्नुपर्छ । मूलधारे नारीवादमा रहेको दुर्भाग्यपूर्ण खाडललाई दलित नारीवादी सिद्धान्तले मात्रै दलित प्रश्नलाई केन्द्रमा राखेर सुधार्न सक्छ । यसलाई ‘दलित डिफरेन्स’ (दलित फरकपना) को रूपमा सोच्दछु, जुन ब्राह्मणवादी नारीवादमा सुधारका लागि केन्द्रबिन्दु बन्न सक्छ ।

सुनैना: यहाँको विचारमा नेपालमा नारीवादबारे कस्तो विमर्श भइरहेको छ ?

सरिता: कुनैबेला ‘असिल् हिन्दुस्ताना’ भनिने यस मुलुकको जातव्यवस्थामा हिन्दुस्तानको भन्दा केही फरक कानुनी अभ्यास र सामाजिक इतिहास छ, कतिपयमा समानता छ । प्रभुत्वशाली जातका महिलाले दलित महिलाका ज्ञान र जीवन अनुभवलाई अन्देखा गर्ने अभ्यास यहाँ पनि छँदै छ । सन् १९८० को दशकमा नारीवादको तेस्रो लहरसँगै काला महिलाका भोगाइ र अनुभव गोराहरूको भन्दा पृथक् हुन्छ भन्दै महिलाहरूबीचको फरकपनाको विमर्श सुरु भएको मानिन्छ । लैंगिकताले मात्रै होइन, वर्ग, रङलगायत अन्य तत्वले गर्दा महिलाहरू एकैपटक धेरै मारमा पर्छन् भनेर इन्टरसेक्सनालिटीको अवधारणा आएको हो । नेपालमा पनि मधेसी दलित महिला जात, वर्ग, क्षेत्र, भाषा र संस्कृतिको कारण एकैसाथ बढी मारमा पर्छन्, दलित क्वेयर भए थप मारमा पर्छन् । यो सिद्धान्त दलितबाहेक ऐतिहासिक रूपमा बहिष्करणमा पारिएका अन्य महिलाको हकमा पनि लागू हुन्छ । फरकपनाले साँच्चै के फरक ल्याउँछ भन्ने सैद्धान्तिक बहसको खाँचो छ ।

फरकपनाको अवधारणालाई दलित महिलाको परिवेशमा विश्लेषण गर्दै समाजशास्त्री तथा नारीवादी अध्येता शर्मिला रेगेको ‘दलित फेमिनिस्ट स्ट्यान्डपोइन्ट थियरी’ (दलित नारीवादी दृष्टिकोणको सिद्धान्त) महत्त्वपूर्ण छ । उनी भन्छिन्, ‘यस दृष्टिकोणलाई मुक्ति प्रदान गर्ने दृष्टिकोण मानिन्छ । किनभने यसको ज्ञानको विषय मूर्त र देखिन सक्ने खालको छ । दलित महिलाहरूको विचार उनीहरूको जीवनबाट सुरु हुन्छ, जुन त्यही विचारको परिणामको रूपमा अवस्थित हुन्छन् ।’

सारांशमा, गैरदलित नारीवादीले जातीय विभेद प्रत्यक्ष नभोगे पनि दलित महिलाका मुद्दालाई ‘तिम्रो मुद्दा’ बाट ‘हाम्रो मुद्दा’ मा फेर्न सम्भव छ, त्यो भनेको ‘दलित महिलाले जस्तै’ र ‘दलित महिलाका लागि’ बोल्ने होइन, बरु गैरदलित नारीवादीहरू आफै रूपान्तरण भई दलित नारीवादी हुने हो । त्यसो गर्दा दलितले भोग्ने ‘प्रत्यक्ष अनुभव’ र ‘पहिचानको राजनीतिबारे साँघुरो’ बुझाइ हुँदैन । धेरै गैरदलित नारीवादीका लागि यो दृष्टिकोण मुक्तिकामी हुन सक्छ । किनभने यसले गैरदलित महिला नै सहभागी भएको जातको शक्ति–सम्बन्धलाई पूर्ण रूपमा अस्वीकार गर्छ । ब्राह्मणवादी मध्यवर्गीय नारीवादीका पूर्वाग्रहलाई पनि आलोचनात्मक तरिकाले बुझ्न सघाउँछ ।

सरिता: तपाईं दलित महिलाहरूको सन्दर्भलाई जोडेर मीटू मुभमेन्टलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

सुनैना: दलित नारीवादी राया सरकारले भारतमा पहिलो पटक मीटू मुभमेन्टतिर ध्यानाकर्षण गराएकी थिइन्, तर ‘काफिला’ ब्लगसँग जोडिएको नारीवादी समूहले नेमिङ एन्ड सेमिङ विद्रोहको आलोचना गर्दै विज्ञप्ति जारी गर्‍यो र त्यसको सट्टा पुँजीवादी ‘उचित प्रक्रिया’ का लागि विडम्बनापूर्ण आग्रह गर्‍यो । दलित महिलाहरू उत्पीडनविरुद्ध आवाज उठाउन सक्ने भए पनि प्रभुत्वशाली जातका महिलाबाट आउने यस्ता प्रतिक्रियाले उनीहरूको प्रयासमा बाधा पुर्‍याउँछन् ।


सरिता परियार

उनीहरूबाट हुने दलित नारीवादको अवहेलना पनि ‘फेमिनिस्टहरूको विज्ञप्ति’ शीर्षकबाटै प्रस्ट देखिन्छ । यसको मतलब उनीहरूका नजरमा आफूलाई उत्पीडन गर्नेहरूको नाम सार्वजनिक गर्ने महिलाहरू ‘नारीवादी’ होइनन्, यस्ता विज्ञप्तिमा नाम भएका लेखकहरूमात्रै ‘नारीवादी’ हुन् । हुन त दलित नारीवादी विद्वताले मूलधारे नारीवादीहरूका अभिव्यक्ति र रबैयालाई मुखभरि जवाफ दिएको छ । तर, दलित नारीवादी सिन्थिया स्टिफन्सले औंल्याएझैँ मीटू मुभमेन्टले पनि नारीवादी आन्दोलनले जस्तै दलित महिलाहरूको आवाजलाई धेरै हदसम्म बेवास्ता गरेको छ ।

सुनैना: तपाईं नेपालको सन्दर्भमा मीटू मुभमेन्टलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

सरिता: दलित महिला भएकै कारण विभेदमा पर्छु भने म दलित महिलाकै दृष्किोणबाट कुनै पनि वाद, आन्दोलन वा संसारलाई बुझ्ने गर्छु । त्यसैले दलित महिलाको जीवित भोगाइलाई नै केन्द्रमा राखेर सिक्दै, बोल्दै, लेख्दै छु । मीटू मुभमेन्टले महिलाविरुद्ध हुने यौन हिंसा र दुर्व्यवहारबारे सार्वजनिक बहस गर्न हौसला थपेको छ । कुनै पनि व्यक्तिले कलुषित मनसाय नराखी व्यवहार गरेको जिकिर गरे तापनि उसको आचरणका कारण अर्को व्यक्तिले यौन दुर्व्यवहार, उत्पीडन र हिंसा महसुस गर्छ भने त्यसबारे सर्भाइभरको आवाज आदरपूर्वक सुनुवाइ हुनुपर्छ । सर्भाइभरले न्यायको अनुभूति हुनेगरी न्याय पाउनुपर्छ । यति भन्दाभन्दै पनि मीटू मुभमेन्टमा समेत दलित फरकपनालाई बेवास्ता गर्दै, प्रभुत्वशाली जात समुदायलाई केन्द्रमा राख्दै बहस हुने गरेको देखिन्छ । अरू आन्दोलनको जस्तै यस मुभमेन्टको पनि सीमा छ ।

तराना बर्कले अफ्रिकी–अमेरिकी महिलाहरूविरुद्ध भएका यौनहिंसा र उत्पीडनका सर्भाइभरहरू एकआपसमा अनुभव बाँड्ने र घाउमा मलमपट्टि लगाउँदा बाँच्ने हौसला मिल्ने आशाका साथ मीटू मुभमेन्ट थालेकी थिइन् । उनी मुभमेन्टले विश्वव्यापी रूपमा ध्यानाकर्षण गरेकोमा जति खुसी छिन् त्यति नै अफ्रिकी–अमेरिकी महिलाविरोधी यौनहिंसाबारे कभरेज र बहस नभएकामा दुःखी छिन् । किनभने अमेरिकी समाजमा रहेको नस्ल वा रङको भेद मिडिया र महिला आन्दोलनमा पनि बलियोसँग देखिन्छ । बर्कको निष्कर्ष जातव्यवस्था भएको दक्षिण एसियामा, विशेषगरी भारतीय र नेपाली समाजमा पनि सान्दर्भिक देखिन्छ । जातव्यवस्थाले कुनै समुदायको यौनिकता पवित्र, शुद्ध, श्रेष्ठ मान्छ त कसैको अपवित्र, अशुद्ध र कमसल भनेर व्याख्या गर्छ । यो व्याख्यामा मीटू मुभमेन्टले कसरी बहस चलाउने होला ? (अ)सामाजिक सञ्जालका बहस हेर्दा प्रश्न उठ्छ, हामी महिलाभित्रको भिन्नतालाई अर्थपूर्ण र दीर्घकालीन तरिकाले कसरी सोच्न सकिन्छ ? नेमिङ एन्ड सेमिङ गर्ने स्थितिमा नेपालका सीमान्तकृत महिला पुगिसकेका छन् कि छैनन् ? (अ)सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा लाग्छ, के हामीमा एकअर्कालाई प्रश्न गर्ने र सुन्ने वातावरण छ ? के हामी आफैं नै प्रश्नभन्दा माथि छौं ? एकअर्कालाई सुन्ने वातावरण कसरी बनाउन सकिन्छ होला ? माफी दिँदा पनि आरोपित वा अभियुक्तले आत्मालोचना नगर्ने र दुर्व्यवहार दोहोर्‍याउने अवस्थामा उनीहरूलाई जवाफदेही कसरी बनाउने ?

आरोपित वा अभियुक्तलाई कसरी माफी दिने र कसरी जवाफदेही बनाउने भन्ने प्रश्न जटिल छ । यो मीटू मुभमेन्टभन्दा अघिका आन्दोलनले पनि हल गर्न नसकेको सवाल हो । यसको उत्तर ‘ट्रास्फरमेटिभ जस्टिस’ (रूपान्तरणकारी न्याय) सँग जोडिन पुग्छ । सन् १९९८ मा ब्ल्याक फेमिनिस्ट थियरिस्ट बेल हुक्सले र अमेरिकी कवि माया ऐन्जेलोसँगको कुराकानीमा हुक्सले आफैंलाई सोधेकी थिइन्, ‘मेरा लागि माफी र करुणा जोडिएको विषय हो । हामी कसरी मानिसलाई गलत कामविरुद्ध जवाफदेही बनाउँछौं र उनीहरूमा बाँकी रहेको मानवतालाई ध्यान दिँदै, उनीहरूमा पनि रूपान्तरण हुने क्षमता छ है भन्नेमा कसरी विश्वास गर्छौं ?’

यो कुराकानी पढ्दा प्रश्न उठ्यो- गलत काम गर्ने व्यक्तिलाई सुधारको मौका नदिने, माफी पनि नदिने हो भने अर्को उपयुक्त उपचार के होला ? कल्पना नै गर्न गाह्रो हुने अत्याचार सहँदै आएका दक्षिण एसियाका दलितसँगै महिला, आदिवासी र यौनिक अल्पसङ्ख्यकका लागि न्यायको नाममा प्रतिहिंसा नै उपचार हो र ? एकछिन लामो सास फेर्दै सोचौं- घृणा होइन, प्रेम गरेकै कारण हाम्रो समाजमा मानिस किन मारिन्छन् ? हामी कुन जगमा उभिएर प्रश्न गर्छौं । म यस्तो दिनको पर्खाइमा छु, जुन दिनमा नागरिक समाज, बुद्धिजीवी, विश्वविद्यालय, राजनीतिक दल, भ्रातृ संगठन र महिला संगठनहरूले आफूलाई क्रान्तिकारी ठहर्‍याउन होइन, बरु नेपाली समाजको जटिल शक्ति–सम्बन्ध बुझ्न जात र लैंगिकताको अन्तरसम्बन्ध बुझोस् । मानव सभ्यताको अत्यन्त क्रूर हिंसा भोगेका र आधारभूत मानव अधिकार अभ्यास गर्न गाह्रो भइरहेका दलित समुदायलाई सहयोग गरोस् र आफैंलाई मानवीय बनाओस् । होइन भने, जातको नाममा मारिने, काटिने, झुन्ड्याइने, जलाइने, बलात्कृत हुनेजस्ता जघन्य अपराधको रूपान्तरणकारी उपचार गर्ने र जिउने आशा जगाउने उपाय के होला ? र, मीटू मुभमेन्टकै सन्दर्भमा माफी दिँदा पनि आरोपित वा अभियुक्तले आत्मालोचना नगर्ने र दुर्व्यवहार दोहोर्‍याउने अवस्थामा उनीहरूलाई जवाफदेही कसरी बनाउने ?

सुनैना: तपाईंले जातव्यवस्थाबारे विश्वव्यापी विमर्शसँग आत्ससम्मान र न्यायको प्रश्नलाई जोड्दै काम गरिरहनुभएको छ, जेनुइन अलाइसिप कसरी बनाउने होला ?

सरिता: पहिलो, हामीले जात, जाति, धर्म, भाषा र भौगोलिक पहिचानका आधारमा बन्ने महिलाहरूको छुट्टै इतिहास र जीवनका अनुभवलाई पहिचान गर्नुपर्छ । दोस्रो, नेपालका दलहरूसँग सम्बद्ध तथा कथित उच्च जातका महिलाको आधिपत्य भएको महिला आन्दोलन दलित महिला र अन्य सीमान्तकृत समूहको आवाजलाई समावेश गर्न किन असक्षम छ भनेर पुनर्विचार गर्नुपर्छ । तेस्रो, नयाँ पुस्ताको कल्पनाशील र साहसी, विशेषगरी दलित र सीमान्तकृत समुदायका महिलालाई सहयोग र लगानी गर्नुपर्छ । चौथो, यो दक्षिण एसियाभित्र र बाहिर रणनीतिक साझेदारी र सहयोग सिर्जना गर्न तथा सुदृढ गर्न लगानी गर्नुपर्ने समय हो । पाँचौं, गैरदलितहरूलाई दलितहरूसँग सिक्न, सुन्न र संलग्न हुन समय निकाल्न आग्रह गर्दछु, तर दया गरेर, बिचरा भनेर होइन । यसरी सोच्यौं भने प्रत्येकलाई आत्मसम्मान पुनःस्थापना गर्न मद्दत पुग्नेछ ।

प्रकाशित : असार ३१, २०७९ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?