कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भूगोलको कैदी

देशको नेतृत्वले पनि चुनावमा भोट बटुल्नेभन्दा बढी नागरिकलाई यो भूगोल मेरो हो भन्ने अपनत्व गराउनेतिर जोड दिन आवश्यक छ । यो चुनौतीलाई चिर्न सके भूगोलको कैदी नभएर यो नै देशका लागि अवसर हुन सक्छ ।
तुलसी आचार्य

भौगोलिक बनोट र शासकीय व्यवस्थाले देशलाई समृद्ध बनाउने होइन, बरू त्यही भौगोलिक अवस्थिति र पद्धति सुहाउँदा स्रोतहरूको खोजी र तिनीहरूको सही सदुपयोगले देशलाई उन्नत बनाउँछ । यस अर्थमा देशको भूगोल र त्यहाँभित्रका सांस्कृतिक, भाषिक, धार्मिक र प्राकृतिक स्रोतहरू नै कसरी समुन्नत विकासको लागि अवसर बन्न सक्छन् त्यसको खोजी आजको आवश्यकता हो ।

भूगोलको कैदी

विकासका बाधकलाई नै औजार बनाउन सकियो भने देशविकास हुन कति पनि समय लाग्दैन ।

‘प्रिजनर्स अफ जियोग्राफी’ अर्थात् ‘भूगोलका कैदीहरू’ नामक पुस्तकमा माटिम मार्शल लेख्छन्—‘हामी बसेको भूमिले हामीलाई आकार दिएको हुन्छ । त्यसले युद्ध, शक्ति, राजनीति र मानवीय सामाजिक विकासलाई समेत प्रभावित पारेको हुन्छ । त्यो भूगोलभित्रका नदीनाला, पहाड पर्वत, तालतलैया आदिको उत्तिकै प्रभाव हुन्छ । भौगोलिक धरातलले देशको राजनीतिक धरातल पनि निर्धारण गरेको हुन्छ ।’

नेपाल भूगोलको कैदीजस्तो छ, भूपरिवेष्टित छ । दुई ठूला देशको बीचमा तरुल झैं च्यापिएको छ । तर नेपालको समृद्धिमा न भूगोल बाधक छ न सतीको सराप न व्यवस्था नै ।

भूगोल

विश्वमा अर्ध–भूपरिवेष्टित र भूपरिवेष्टित गरी ४४ देश छन् । प्रायः समुद्रसँग जोडिएका देशसँगको तुलनामा यी सबै भूपरिवेष्टित देशको अर्थतन्त्र कहालीलाग्दो छ । म्याकेलरको रिपोर्टअनुसार भूपरिवेष्टित देशको वार्षिक आर्थिक वृद्धिदर १.५ % ले कम छ । आफ्नै सामुद्रिक बन्दरगाह नहुनाका कारण वस्तुको मूल्य बढी तिर्नुपर्ने, ढुवानी समयमा नहुने र निर्यातमा कठिनाई हुने कारणले देशको अर्थतन्त्र नाजुक बन्दै जान्छ । छिमेकी देशसँग परनिर्भरता बढी भयो भने अन्य देशसँगको सम्बन्ध बिग्रने डर पनि त्यति कै रहन्छ ।

सामुद्रिक मार्ग भइदिएको भए नेपालले अन्य धेरै देशसँग सामग्री आयात निर्यात गर्न सक्थ्यो । आत्मविश्वासका साथ संसारका हरेक देशसँग सम्बन्ध बलियो बनाउन सक्थ्यो । त्यसो गर्न सक्दा अर्को छिमेकी देश रिसाउँछ कि भनेर डराउनु पर्ने स्थिति पनि आउने थिएन । सस्तो सामग्री आयात गरेर, महँगो वस्तु निर्यात गर्न सकिन्थ्यो र देश भूगोलको कैदी हुनु पर्दैनथ्यो ।

त्यसो त भूपरिवेष्टित भएर पनि विश्वका धनी मुलुक भनेर चिनिएका देशहरू प्रशस्त छन् । स्वीट्जरल्यान्ड, अस्ट्रिया, काजकस्तान त्यसैका उदाहरण हुन् । हुन त समुद्रसँग जोडिएका बंगलादेश, पाकिस्तान जस्ता देश पनि गरीब छन् । देशको आयतन ठूलो भएर वा सबै प्राकृतिक स्रोतहरूले पूर्णभएर मात्रै पनि देश धनी हुन नसक्ने रहेछ । अफ्रिकाकै सबैभन्दा ठूलो देश डेमोक्रेटिक रिपब्लिक अफ कंगो यसैको उदाहरण हो । हामी जस्तो भूगोलमा छौं त्यो आफैंमा उपयुक्त छ र त्यसैमा हामीले अवसर खोज्नुपर्छ । नेपालको उत्तरी भागजति विकट छ त्यति नै सुदृढ पनि छ । यसलाई भौगोलिक विकटताको रूपमा लिनुको साटो अवसरको रूपमा लिएर त्यहीअनुसार देशलाई बाहिरी आक्रमणबाट जोगाउन सीमा रक्षकहरू तयार गर्न सकिन्छ । त्यही भूगोलभित्र जन्मिएका र हुर्किएकाहरू त्यो भूगोलभित्र अभ्यस्त हुन्छन्, त्यहाँको हावापानीसँग परिचित हुन्छन् । अन्तर्राष्ट्रिय सन्दर्भमा, सामर्थ्य, आधुनिक हातहतियार र खरबौं खर्च गर्दा पनि भूगोल चिन्न नसक्दा अमेरिकी सेनालाई तालिवानसँगको युद्ध असहज मात्र भएन धेरै अमेरिकी सेनाले ज्यान गुमाउनुपर्‍यो । मार्शल लेख्छन्, ‘हरेक भूगोलको आˆनो नियम हुन्छ । त्यो नियमसँग अभ्यस्त नहुनेहरू टिक्न सक्दैनन् ।’ त्यो कुरा हाम्रो नेतृत्वले पनि बुझ्न जरुरी छ । कसरी देशको इतिहास भूगोलले निर्माण गर्छ त्यो पनि बुझ्नु जरुरी छ । किन नालापानीको युद्धमा गोर्खालीहरूको जीत हुन सक्यो । यस्तो ज्ञान मात्रले पनि हामीलाई भूगोलको रक्षा गर्न सिकाउँछ ।

यस अलावा राष्ट्रिय र स्थानीय नीतिहरू तय गर्दा देशको भूगोल हेरेर गरिनुपर्छ । सिमानामा कसरी सुरक्षाकर्मीहरू तैनाथ राख्ने ? भू–बनोटअनुसार कस्तो तयारी गर्ने ? आपूर्तिको सिलसिलेवार कसरी खडा गर्ने ? यी सामयीक प्रश्न हुन् । आपूर्ति शृंखलाको अपर्याप्तताको कारण नै नेपोलियनले सन् १८१२ मा रसियासँगको युद्धमा हार बेहोर्नु परेको थियो । त्यही गल्ती पछि हिट्लरले सन् १९४१ मा दोहोर्‍याएका थिए । हामी सँग भएको भूगोल र त्यसका स्रोतहरूलाई ठीक ढङ्गले सदुपयोग गर्ने हो भने नेपाल सहजै समृद्ध राष्ट्र बन्न सक्छ ।

स्रोतसाधन

नेपाल कृषि प्रधान देश हो । तर खेतीयोग्य जमिन दैनन्दिन र्‍हास हुँदै गइरहेको छ । मानवबस्तीले उर्वर भूमिलाई ढाक्दै र ओगट्तै छ । आजभन्दा दुई दशकअघिको काठमाडौं र अहिलेको काठमाडौं सहर हेर्ने हो भने आकाश जमिनको फरक छ । मान्छेको बस्ती मौलाएर खुट्टा हाल्ने ठाउँ छैन । काठमाडौंको त्यो मलिलो माटोमा अहिले अनियन्त्रित हिसाबले छपक्कै बस्ती बसेको छ । अनियन्त्रित बसोबास र अव्यवस्थित सहरीकरणले देशको उब्जाउ हुने मलिलो माटो हराउँदै गएको छ । सहारा मरुभूमिमा उब्जाउ हुने भएको भए कति अन्नको भण्डार हुन्थ्यो होला । हाम्रो देशमा उत्पादन हुने भनेकै अन्न हो । तर त्यसको बाटो पनि हामीले बिस्तारै थुन्दैछौं । हामीले यही भूगोलमा बसेर भूगोलप्रति नै गरेको यो अन्याय र घिनलाग्दो हर्कत हो ।

हामीले विश्व बजारमा उदियमान हुन सक्ने वस्तुहरूको उत्पादन र प्रवर्द्धनमा जोड दिन आवश्यक छ । यहाँका जडिबुटी, वनपैदावर, प्राकृतिक सम्पदा र विभिन्न भूगोल सुहाउँदिला अन्नबाली विश्व बजारमा सहजै निर्यात हुन सक्छन् । यहाँ कुनै तेलको खानीखोजेर हुँदैन । रसियामा हाम्रोमा जस्तो सलल बग्ने नदीनाला छैनन्, जति छन् प्रायः सधैंभरी हिउँले मात्र ढाक्ने छन् । उसलाई भूगोलले साथ दिएको छैन तर तेल र ग्यासको अधिक उत्पादनले ऊ कमजोर राष्ट्रको वर्गमा पर्दैन । त्यहीभएर हाम्रो देशको सामर्थ्य कुन कुरामा छ त्यसको पहिचान सर्वोपरी हो ।

जातीयता

नेपाल आफैंमा बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश हो । यहाँ कहिल्यै पनि जाति, भाषा र धर्मको नाममा ठूला युद्ध र द्वन्द्वहरू भएनन् । यद्यपि केही वर्गले नबुझेर वा आˆनो पूर्वाग्रही विचार लाद्न खोज्दा सानातिना दुर्घटनाहरू भने भएका छन् । अपवादमा ती केही हृदयस्पर्शी पनि छन् । तर यहाँ भारतको काश्मिरमा जस्तो हिन्दू र मुसलमानको झडप भएको छैन । यहाँ अफगानिस्तानमा तालिवान र सरकारबीच जस्तो गृहयुद्ध भएको छैन । इरानमा शिया र सुन्नीबीच भएजस्तो अराजकता छैन । माओवादी जनयुद्ध कालमा केही हताहत अवश्य भयो । धर्मकै नाममा विश्वमा विध्वंश भएको छ । लाखौंले ज्यान गुमाएका छन्, धर्मको नाममा, जातीयताको नाममा । यो कोणबाट हेर्ने हो भने नेपाल शान्त छ । त्यसले हाम्रो देश नेपालको भूगोललाई चिनाएको छ । तर जातीयता र धर्मको सवाल पटक पटक ल्याउन थालियो भने त्यसले देशलाई नै बिरूप बनाइदिन सक्छ । हरेक व्यवस्था फेरिएसँगै मानिसमा चेतनाको नयाँ लहर आएको छ । तर जब चेतना सभ्यताभन्दा व्यक्तिगत स्वार्थतिर जान थाल्छ अनि कलह उत्पन्न हुन थाल्छ । बाहिरी देशले आँखा गाड्न थाल्ने त्यही बेलादेखि हो । हाम्रो देश नेपालको भूगोल रह्यो भने मात्र हाम्रो पहिचान रहन सक्छ । बहुलताभन्दामाथि हामी सबै नेपाली हौं भन्ने भावनाको विकास हुन सक्यो भने मात्र हाम्रो भूगोल एक अवसर बन्न सक्छ । त्यही भएर देशको नेतृत्वले पनि चुनावमा भोट बटुल्नेभन्दा बढी नागरिकलाई यो भूगोल मेरो हो भन्ने अपनत्व गराउनेतिर जोड दिनु आवश्यक छ । यो चुनौतीलाई चिर्न सके भूगोलको कैदी नभएर यो नै देशका लागि अवसर हुन सक्छ ।

अन्त्यमा

राष्ट्रको सबल पक्षको पहिचान गरी सोहीअनुसारका नीति र त्यसको कार्यान्वयन आजको आवश्यकता हो । यदि हामीले भूगोल सुहाउँदा विकल्पहरू सोचेनौं भने बाँचुन्जेल हामी भारत वा चीनको भर परिराख्नु पर्ने हुन्छ । हामी कम्तीमा पनि कुनै एउटा स्रोतमा सबल र आत्मनिर्भर हुन जरुरी छ । त्यसो हुनसके विश्वका शक्तिशाली देशहरूको सूचीमा सजिलै पर्न सकिन्छ । आफू सक्षम र आत्मनिर्भर भइयो भने नकारात्मक कुराको खुलेर आलोचना गर्न सकिन्छ । तसर्थ हामीले भूगोललाई चिन्ने र सदुपयोग गर्ने रणनीति र कार्यनीति ल्याउनुपर्छ ।

भूगोलको नियमलाई चिनेर हामीले भूगोलसँग व्यवहार गर्न जान्नुपर्छ । त्यसो भयो भने देशका नदीनालाको पूर्ण सदुपयोग हुन सक्छ । हाम्रो गन्तव्य व्यवस्था बदल्नतिर होइन, अवस्थाको सुदृढीकरणतिर हुनुपर्छ । व्यवस्था बदल्दैमा केही उल्लेख्य प्राप्ति हुँदैन । जुन राष्ट्रमा नेतृत्व वर्ग उत्तरदायी हुँदैन त्यहाँ लुटपाट, गरिबी, अशिक्षा, बेरोजगारी, अकर्मण्यता र दादागिरी भन्दा अरू केही हुँदैन । त्यही भएर भूगोल, भौगोलिक संरचना, त्यहाँभित्रका स्रोतहरू, त्यहाँ विद्यमान मूल्य र मान्यताहरूलाई चिन्नु र बुझ्नु अनिवार्य छ । यदि त्यसलाई नबुझी कुनै नेतृत्वले बुज्रुक बनेर हठ गर्न थाल्छ भने बुझे हुन्छ त्यो देशको भविष्य अन्धकार छ । मार्शलकाअनुसार ‘त्यसो भन्ने नेताले देशलाई एउटा असफल राष्ट्र बनाउँदैछ ।’

समग्रमा, देश विकास नहुनु वा धीमा गतिमा हुनुमा भूगोल मात्र जिम्मेवार छैन किनकि देश भूगोलको मात्र कैदी हुन सक्दैन । त्यो देशको अवस्था बदल्न सक्ने र भूगोललाई अवसरमा उपयोग गर्न सक्ने क्षमतावान् नेतृत्वको पनि आज त्यतिकै खाँचो छ ।

(आचार्यले जनप्रशासन तथा नीति विषयमा अमेरिकाबाट विद्यावारिधी गरेका हुन् । उनको ‘जेण्डर डिसेबिलिटि र नीति’ पुस्तक प्रकाशित छ ।)

प्रकाशित : कार्तिक २१, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?