उपयोगी शिक्षाको लागि समुदायसँग सहकार्य

विद्यार्थीहहरू स्थानीयले भोगेका यथार्थ र उनीहरूका सपनासँग परिचित हुनु पर्छ । समुदायसँग मिलेर स्थानीय समस्याहरूको समाधान निकाल्नु पर्छ । यसबाट विद्यार्थीहरूमा समस्या पहिचान गर्ने र स्रोतसाधन जुटाएर समाधान निकाल्ने सीपको विकास हुन्छ ।
नरोत्तम अर्याल

सात वर्षअघि एक अतिथि प्राध्यापक किङ्ग्स कलेजमा आए । कलेज छेउको सडकमा एउटा बिरूवाको पोथ्रा देखाउँदै उनले सोधे, ‘यो बिरूवाबारे के थाहा छ ?’

उपयोगी शिक्षाको लागि समुदायसँग सहकार्य

करिब एक दशकदेखि कलेज ओहोरदोहोर गर्ने बाटो त्यही थियो । कक्षाकोठाको झ्यालबाट हेर्दा देखिने ठाउँमा उक्त वनस्पति थियो । तर, धतुरोजस्तो देखिने त्यो वनस्पति जहिल्यै नजरबाट ओझेलमा पर्ने गरेको थियो ।

‘यो बोटबारे शिक्षक, विद्यार्थीहरूलाई के थाहा छ ?’, उनले फेरि सोधे ।

हामी अवाक भयौँ । हामीले हेर्न छुटाएछौँ—त्यो वनस्पति भित्र कस्तो रसायन हुन्छ ? मानिसलाई अक्सिजन दिनेबाहेक अन्य उपयोगिता के के हुनसक्छ ? जडिबुटी हो कि ? चौपायाले खान मिल्ने घाँस ? निर्माणकार्य पो प्रयोग गर्न मिल्छ कि ?

एक कार्यशालाको दौरान तिनै प्राध्यापकसँग ललितपुर कोन्ज्योसोम गाउँपालिकाको एक गाउँमा गएका थियौँ । गाउँमा विद्यालय छेउमै एउटा दूध सङ्कलन केन्द्र थियो । गाईभौसी पाल्ने हरेक घरबाट त्यहाँ दूध जम्मा गरिन्थ्यो ।

हामीले विद्यालयमा शिक्षक र विद्यार्थीहरूसँग सोध्यौँ, ‘यहाँ विज्ञानको कुन सिद्धान्त र प्रविधि प्रयोग हुन्छ ? किसानलाई दिने र उपभोक्तालाई बेच्ने दूधको मूल्य कसरी निर्धारण हुन्छ ? दूधबाट आम्दानी बढाउन अरू के के गर्न सकिन्छ होला ?’

यस्ता धेरै प्रश्नहरूमा शिक्षक र विद्यार्थीहरू अनभिज्ञ थिए ।

यस्ता अनेकन घटनाहरूपछि अनुभूत हुन थाल्यो—कक्षाकोठाको पर्खालभित्र पाठ्यक्रमले तोकेको विषयवस्तु त पढाइ भइरहेकै थियो । तर, यो प्रक्रियामा पाठ्यक्रम र समुदाय जोडिएको थिएन । कलेज परिसरबाट ५० मिटर टाढा आफै उम्रिएर बढिरहेको एउटा बिरूवा पाठ्यक्रममा अटाएको थिएन । विद्यार्थीहरूका अभिभावकको आम्दानीको मूल स्रोत दूध उत्पादनलाई बिक्री गर्ने सङ्कलन केन्द्र पनि विद्यालयको पाठ्यक्रममा अटाएको थिएन ।

यसको अर्थ यो हो कि, शैक्षिक संस्थाहरू र समुदायका अन्य पक्षबीच सहकार्य भइरहेको छैन । आज उच्च शिक्षामा अनेकन सवालहरू छन् । शिक्षा इतिहासको पाठबाट सिक्दै भविष्यतर्फ उन्मुख हुनुपर्ने विषय हो । समग्र समाजलाई नै गति र दिशा दिनुपर्ने थियो । तर, त्यो हुन सकिरहेको छैन ।

शैक्षिक संस्था आफैले मात्र गुणस्तरीय र उपयोगी शिक्षा प्रदान गर्छु भनेर सक्दैन । एउटा विद्यार्थीको अर्थपूर्ण सिकाइ र प्रगतिमा समाजका सम्पूर्ण पक्षहरूको उत्तिकै भूमिका रहन्छ ।

भनाइ नै छ, एउटा बच्चालाई शिक्षित बनाउन पुरै गाउँ नै लाग्नु पर्छ । एउटा शैक्षिक संस्था जति नै उत्कृष्ट र सक्षम भए पनि शैक्षिक संस्थाभित्र सिङ्गो समाज खडा गर्न सक्दैन । जस्तै— म्युजियम, आर्ट ग्यालरी, खेतरबारी, जङ्गल, मन्दिर, गुम्बा, मस्जिद, गिर्जाघर आदि ।

आखिर सभ्य, इमानदार र सक्षम नागरिक कसलाई मन पर्दैन र ? समाजका हरेक संस्थाहरू र व्यक्तिहरूले भविष्यमा आम नागरिकसँग काम गर्नुपर्ने हुन्छ ।

नेपालमा पुरातन कालदेखि नै शैक्षिक अभ्यास भएको बौद्ध, हिन्दू आदि दर्शनहरूले अनुभवजन्य ज्ञानलाई निकै महत्व दिन्छन् । गुरुकुलीन अभ्यासमा शिष्यहरूलाई प्रकृति तथा मानव समाजमा विभिन्न अनुभव र अनुभूतिको अभ्यास गर्न पठाएको पाइन्छ । गौतम बुद्धले कुनै कुरा आफूले अनुभव र अनुभूति नगरी विश्वास नगर्नु भनेर सिकाएको पाइन्छ । पाउलो फ्रेरे, जोन डिवे, डेभिड कोल्भजस्ता धेरैलाई प्रभाव पारेका शिक्षाकर्मीहरू पनि विद्यार्थीहरूले प्राप्त गर्ने अनुभवलाई प्राथमिकतामा राख्छन् । उनीहरू ज्ञानको लागि विद्यार्थीहरूको सक्रिय सहभागितामा जोड दिन्छन् ।

आज नेपालमा धेरैले स्वीकार गरेको तथ्य हो— शिक्षालाई व्यवहारमुखी, सीपमूलक र भविष्य उन्मुख बनाउनै पर्छ । यसको लागि विद्यार्थीहरूलाई अध्ययनकै क्रममा विभिन्न अनुभवहरू दिनु पर्छ । प्राविधिक, शैक्षिक संस्थामा सीपलाई अभ्यास गर्ने अनुभव त हुन्छ । तर, समग्र समुदायकै अनुभव नहुन सक्छ । यसको लागि समुदायका विभिन्न पक्षहरूसँग सहकार्य गर्नु पर्छ ।

आमसमुदायसँग सहकार्य

समुदायमा विभिन्न संघसंस्था र पेशा व्यवसाय गर्ने मानिसहरू हुन्छन् । यीमध्ये कति मानिस र संघसंस्थाहरूको स्थानीय शैक्षिक संस्थासँग प्रत्यक्ष सम्बन्ध हुन्छ । कति व्यक्तिहरूका सन्तान पढिरहेका हुन सक्छन् । कति संघसंस्थाहरूले शैक्षिक प्रयोजनको लागि परियोजना सन्चालन गरिरहेका हुन सक्छन् ।

यी व्यक्ति र संस्थाबाहेक अन्य पनि शैक्षिक संस्थासँग जोडिनु पर्छ । उनीहरूसँग आफ्नो समुदायमा काम गरेको अनुभव हुन्छ । समुदायका स्रोत, साधन र चुनौतीहरूसँग उनीहरू परिचित हुन्छन् । समुदायको जनसाङ्खिकी, इतिहास, भूगोल, पर्यावरण, संस्कृति र प्रविधिसँग उनीहरू जानकार हुन्छन् । समुदायको वास्तविकता सिकाउन उनीहरूबाहेक अरू कोही विज्ञ हुनै सक्दैन ।

विद्यार्थीहहरू स्थानीयले भोगेका यथार्थ र उनीहरूका सपनासँग परिचित हुनु पर्छ । समुदायले भोगिरहेका चुनौतीको अपनत्व शैक्षिक संस्थाहरूले पनि लिनु पर्छ । र, समुदायसँग मिलेर स्थानीय समस्याहरूको समाधान निकाल्नु पर्छ । यसबाट विद्यार्थीहरूमा सुरुदेखि नै समस्या पहिचान गर्ने र स्रोतसाधन जुटाएर समाधान निकाल्ने सीपको विकास हुन्छ ।

यसको लागि सुर्खेतमा जनज्योति माध्यमिक विद्यालयले गज्जबको अभ्यास गरिरहेको छ । उक्त विद्यालयमा प्रधानाध्यापकले आफ्ना विद्यार्थीहरूलाई विभिन्न सीप सिकाउनका लागि समुदायका स्रोत व्यक्तिहरू ल्याउँछन् । खेतीपाती र पशुपालनसम्बन्धी स्थानीय तवरमै समुदायका सदस्यहरूले विद्यार्थीहरूलाई आफ्नो अनुभव सुनाउँछन् ।

काभ्रेपलान्चोक मन्डनदेउपुरको महाकाली माध्यमिक विद्यालयमा गाउँका विभिन्न व्यक्तिहरूको विज्ञता र उपलब्ध समय पहिचान गरेर सोहीअनुसार कक्षा राखिन्छ । यसमा गाउँको आमा समूहसँगको समन्वयमा विभिन्न स्थानीय सीपहरू विद्यार्थीहरूलाई सिकाइन्छ । कसैले टपरी गाँस्न सिकाउँछन् । कसैले चकटी र चट्टाई बनाउन सिकाउँछन् । कसैले असारे गीत र अन्य लोक भाका सिकाउँछन् । काभ्रेपलान्चोक लामिडाँडाको गोल्मादेवी प्राथमिक विद्यालयले आफ्ना विद्यार्थीहरूलाई पनि समुदायका सदस्यहरूबाट विद्यार्थीहरूलाई विभिन्न सीप सिकाउने गर्छन् । जस्तैः माघमा चाकु बनाउने, आलु रोप्ने, लसुन मुठा पार्ने आदि ।

यस्ता अनेकन अभ्यासहरू भइरहेका छन् । यसलाई अझै फराकिलो बनाउनुपर्ने देखिन्छ । समुदाय पनि अरूमा आश्रित हुने वा अनुदानको अपेक्षा गर्ने सोचबाट मुक्त भएर शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्नु पर्छ ।

समुदायका हरेक सदस्य र शैक्षिक संस्थाहरू मिलेर नवीनतम सोच र ज्ञानको सहसिर्जना गर्न सकिन्छ । यसबाट मात्र उद्यमशील सोचको निर्माण हुन्छ ।

उद्योग, व्यवसायसँग सहकार्य

आजसम्म शिक्षण संस्थाको काम विद्यार्थीहरूलाई डिग्री दिने र उद्योग, व्यवसायको काम रोजगार दिनेजस्तो मात्र देखिएको छ । यी दुई पक्ष अन्तरनिर्भर छन् । तर संवाद र सहकार्य न्यूनतम देखिन्छ ।

उद्योगी, व्यवसायीबाट टिप्पणीहरू आउँछ— शिक्षा खत्तम भयो । यसले सीप सिकाएन । अब्बल शैक्षिक डिग्री पाएको जनशक्तिले पनि राम्रोसँग काम गर्न सकेन ।


शैक्षिक संस्थाहरूबाट गुनासो सुनिन्छ— विद्यार्थीहरूको सीप र क्षमता विकासमा उद्योग, व्यवसायले सहयोग नै गरेनन् । पाठ्यक्रमले निर्दिष्ट गरेको ‘इन्टर्नसीप’ गराउन पनि मुस्किल छ । अनुसन्धानमा त झन् लगानी नै छैन ।


विद्यार्थीहरूले अध्ययनकै क्रममा पेशागत अभ्यास, अनुसन्धान र त्यससम्बन्धी ‘रिफ्लेक्सन’ गर्न पाएनन् भने उनीहरूले पाएको सैद्धान्तिक ज्ञान मजबुत र व्यवहारमुखी हुन सक्दैन । यसले उद्योग, व्यवसायको समग्र सामर्थ्यमै प्रभाव पार्छ ।

फिनल्यान्डको एउटा अभ्यास छ । ‘डेमोला’ भनिने परियोजनामार्फत् शैक्षिक संस्था र विभिन्न संस्थाहरू सँगै आएर ती संस्थाहरूले भोगिरहेका चुनौतीहरूको समाधान निकाल्न खोज्छन् । यसमा संस्थाहरूको व्यावहारिक र शैक्षिक संस्थाहरूको सैद्दान्तिक पक्षहरूको गज्जबको मिलन हुन्छ । यस प्रक्रियामा विद्यार्थीहरू, शिक्षकहरू र सम्बन्धित संस्थाका कर्मचारीहरू मिलेर संयुक्त रूपमा समस्याको विश्लेषण गर्दै समाधान निकाल्छन् ।

विभिन्न देशमा विश्वविद्यालयले अनुसन्धान गर्ने र उद्योग, व्यवसायले त्यसलाई कार्यान्वयन र विकास गरेको उदाहरणहरू पाइन्छ ।

पुरानै एकाङ्की धरातलमा जाने हो भने शैक्षिक संस्था र उद्योग, व्यवसायमा कुनै कायापलट हुने सङ्केत देखिँदैन । एकअर्कालाई उन्नत दिशामा लैजान उद्योग, व्यवसाय र शैक्षिक संस्थाबीच यथासक्य चाँडो सहकार्य सुरू हुनु जरूरी छ ।

सरकारसँग सहकार्य

सार्वजनिक शैक्षिक संस्थाहरू राज्यकै स्रोतबाट सन्चालित छन् । अपशोच ! यी दुईबीच पनि सहकार्य विरलै भएको पाइन्छ । झन् निजी शैक्षिक संस्थाको त कुरै छाडौँ । कतै स्रोत र साधन आवश्यक पर्‍यो वा कुनै कुराको अनुमति चाहियो भने शैक्षिक संस्थाहरू सरकारसमक्ष पुग्छन् । कार्यक्रमहरूमा सरकारी कर्मचारी वा जनप्रतिनिधिलाई अतिथिको रूपमा बोलाउँछन् । सरकार पनि शैक्षिक संस्थाहरूलाई निर्देशन दिने, अनुगमन गर्ने, कारबाही गर्ने र आफू अन्तर्गतकालाई स्रोत र साधन दिने काममा मात्र सीमित छ ।

सरकारलाई नीतिनिर्माण गर्न अनुसन्धान आवश्यक पर्छ । नयाँ योजनाहरू बनाउन र कार्यान्वयन गर्न नवीनतम सोच, ज्ञान, प्रविधि आदि आवश्यक पर्छ । यसको लागि शैक्षिक संस्थाहरूसँग सहकार्य हुनसक्छ । शैक्षिक संस्थामा आवद्ध विज्ञ, अनुसन्धाता र विद्यार्थीहरू यस कार्यमा सहभागी हुन सक्छन् । सरकारी योजनाको तर्जुमा र कार्यान्वयनमा विद्यार्थीहरूको सहभागिताले उनीहरू सरकारलाई नजिकबाट चिन्ने मौका पाउँछन् । यसबाट विद्यार्थीहरूमा लोकतान्त्रिक नागरिक चेतको विकास हुनेछ ।

किङ्ग्स कलेजले समुदायका पक्षहरूलाई पाठ्यक्रममा जोड्ने हिसाबले पाँचखाल नगरपालिकासँग केही महिनादेखि सहकार्य गरिरहेको छ । हामीले नगरपालिका क्षेत्रको ज्ञानलाई पाठ्यक्रममा ल्याउने केही कोसिस गरेका छौँ । स्थानीय उद्यमीहरूलाई बीबीए र एमबीएको कक्षामा अतिथि शिक्षकको रूपमा बोलाउने गरेका छौँ । नगरपालिकाका शिक्षक र हाम्रा शिक्षकबीच सिकाइ आदानप्रदान गरिरहेका छौँ । नगरपालिकाका उद्यमीहरूको कथालाई पाठ्यक्रममै समावेश गरेका छौँ । नगरपालिकाको आवश्यक सम्बोधन हुनेगरी शिक्षा शाखासँग सहकार्य गर्दै स्थानीय विद्यालयका लागि विभिन्न सिकाइ कार्यशाला सन्चालन गरेका छौँ । आगामी दिनमा स्थानीय सरकार, उद्यमी र कलेज मिलेर स्थानीय स्रोत र साधन पहिचान गर्दै स्थानीय रूपमा देखिएका आर्थिक, शैक्षिक, वातावरणीय र सामाजिक समस्याहरूको समाधान खोज्ने प्रयासमा छौँ ।

शैक्षिक संस्थाबीच सहकार्य

हाम्रोमा शैक्षिक संस्थाबीच सहकार्य गर्ने चलन एकदम कम छ । अझ सँगसँगै अनुसन्धान वा कुनै साझा विषयमा ज्ञान उत्पादन गर्ने काम त लगभग शून्य बराबर छ ।

सार्वजनिक र निजीको बहसमा यो स्पष्ट देखिन्छ कि सार्वजनिकहरू आफ्नो दैनिकीमा सन्तुष्ट देखिन्छ । निजीहरू व्यापारिक चङ्गुलमा परेका छन् । यसमा पनि साना शैक्षिक संस्थाहरू बाँच्नकै लागि संघर्षमा छन् । ठूला र ‘ख्याति’ कमाएका शैक्षिक संस्थाहरू पनि आफ्नै दुनियाँमा मस्त छन् ।

कुनै नयाँ प्रयोग वा पहलको लागि तत्परता एकदम कम देखिन्छ । सबैलाई पाठ्यक्रम सकाउने र उत्कृष्ट नतिजा ल्याउने चटारो छ । परीक्षामाथि उठेर जीवनको लागि विद्यार्थीहरूलाई तयार गर्ने सोच राख्ने हो भने शैक्षिक संस्थाहरूबीच सहकार्य हुनु आवश्यक छ ।

यस अगाडि उल्लिखित काभ्रेको महाकाली माध्यमिक विद्यालयमा मौलिक नेपाली तरिकाले सहकार्य गरिरहेको उदाहरण देख्न सकिन्छ । यस विद्यालयले वर्षेनी केही विद्यालयसँग ‘मीत’ लाउने गरेको रहेछ । ‘मीत’ लाएको विद्यालयबीच शिक्षकहरू साटासाट गरेर कक्षा लिने, विद्यार्थीहरू सहभागी हुने कार्यक्रम गर्ने, सिकाइ कार्यशाला आयोजना गर्ने आदि गरेको रहेछ ।

यस विद्यालयले जस्तै अभ्यासहरू गर्न सकियो भने कम स्रोतमा अधिकतम कामहरू गर्न सकिन्छ । एउटा विश्वविद्यालय वा कलेजबाट उत्पादित ज्ञान अर्कोमा उपयोग गर्न सकिन्छ । एउटा संस्थाको विज्ञता अर्कोले उपयोग गर्न सक्छ । प्रतिस्पर्धाको सोचबाट माथि उठेर सहकार्य सुरू गर्ने हो भने यसले समाजलाई नयाँ दिशा दिनेछ ।

सङ्काय–सङ्कायबीच सहकार्य

विभिन्न सङ्कायहरू एकअर्काबाट छुट्टिएका छन् । एउटा विद्यार्थीको जीवन वा समाजको आवश्यकतालाई ध्यान दिने हो भने विभिन्न सङ्कायहरू एकै ठाउँ जोडिनु आवश्यक छ । कुनै एउटा उद्यमशीलताको उदाहरण लिऔँ । एउटा उद्यम गर्न उद्यमशील सोच, व्यवस्थापन, विज्ञान, प्रविधि, कला आदि सम्पूर्ण पक्षहरू चाहिन्छ । तर, हामी सबैलाई छुट्याएर सिकाइरहेका छौँ ।

हुन त अचेल विभिन्न सङ्कायहरू जोडिएर बनेका बहुसङ्काय, अन्तरसङ्काय तथा ‘लिबरल आर्ट्स’जस्ता केही कार्यक्रमहरू सन्चालित हुन्छन् । विद्यालयमा पनि प्राथमिक कक्षाहरूमा ‘इन्टिग्रेटेड’ पाठ्यक्रमबाट सिकाइ हुन्छ । यसको आफ्नै महत्व छ ।

यो सँगसँगै मूलभूत रूपमा एउटै सङ्कायका रूपमा सन्चालित कार्यक्रमबीच पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकास र समुदायकै हितको लागि सहकार्य हुनु पर्छ ।

अन्त्यमा,

हामी दशकौँदेखि नेपाललाई माटो सुहाउँदो शिक्षा आवश्यक छ भन्दै रटान लगाउँदै आइरहेका छौँ । यो सोचलाई मूर्तरूप दिन नीतिगत तहमा निर्णय भएर मात्र पुग्दैन । यसको लागि सम्पूर्ण सरोकारवालाहरू एकै ठाउँमा आएर संवाद सुरू गर्नु पर्छ ।

एकअर्काको महत्वलाईलाई बुझ्दै आलोचनात्मक छलफलका लागि खुला हुनु पर्छ । आफ्ना सामर्थ्य र कमजोरीहरू पहिचान गर्दै एकअर्कालाई प्रतिस्पर्धी होइन परिपूरकको रूपमा बुझ्नु पर्छ ।

‘म भर्सेस तँ’ को सोच छाड्नै पर्छ । उसले गर्दा यस्तो भयो भनेर भन्नु भन्दा हामी सँगै मिलेर शिक्षालाई समुदाय र जीवनसँग जोड्न सकिन्छ । सहकार्य, एकता र आपसी विश्वासले नै उन्नत समाज निर्माण गर्न सकिन्छ । आउनुहोस्, हातेमालो गरौँ । भविष्यको पिढीँलाई एउटा सभ्य र उन्नत समाज निर्माणमा सहयोग गरौँ ।

पाठ्यक्रम बनाउने र त्यसलाई कार्यान्वयन गर्ने दायित्व सरकार वा शैक्षिक संस्थाहरूको मात्र होइन । यसका लागि समुदायका सबै पक्षले जिम्मेवारी लिनु पर्छ । शैक्षिक संस्थाहरूले समन्वयकारी भूमिका खेली यस प्रक्रियाको सुरूवात गर्नु पर्छ ।

अर्याल किङ्गस कलेज, नेपालका अध्यक्ष हुन् ।

प्रकाशित : आश्विन ३०, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?