'परराष्ट्र सम्बन्ध राष्ट्रिय हितमा भन्दा लाभहानीका मुद्दामा अल्मलिएको छ'- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बीपी जन्मजयन्ती

'परराष्ट्र सम्बन्ध राष्ट्रिय हितमा भन्दा लाभहानीका मुद्दामा अल्मलिएको छ'

'बीपीले देशका राष्ट्रिय शक्तिहरूलाई एकत्रित गर्न चाहने हाम्रो पार्टी र त्यसभन्दा बाहिरकालाई पनि सम्बोधन गर्नसक्ने नेता हुनुपर्छ भनी बृहत् सामर्थ्यको कुरा गर्नुभएको थियो'
महेश आचार्य

बीपी कोइराला भन्नेबित्तिकै हाम्रो मन–मस्तिष्कमा जनताको लोकतान्त्रिक अधिकारका निम्ति अनवरत संघर्ष गर्ने नेताको छवि आँखा अगाडि आउँछ । उहाँको व्यक्तित्वको अर्को बलियो पाटो जनताको सामर्थ्य बुझेर राष्ट्रियताको चुरोलाई समातेर राष्ट्रियता र लोकतान्त्रिक अधिकारहरूबाट मात्रै देशको कल्याण हुनसक्छ भनेर अगाडि बढ्ने विचारक नेताका रूपमा आँखा अगाडि आउँछ । 

विकासको अवधारणामा बीपीको आफ्नै अवधारणा थियो । यो अवधारणालाई अघि सार्दा साधनस्रोत र सुविधाहरूबाट वञ्चित, गरिबीको गहिरो खाडलमा रहेका गाउँका जनताको जीवनयापनलाई समुन्नत बनाउने कुरा गर्ने नेताको छवि थियो ।

देशको राजनीति अहिले जुन जटिल मोडमा छ, जुन सोपानमा उभिएको छ यतिबेला जनताका लोकतान्त्रिक अधिकारका निम्ति प्रतिबद्ध, राष्ट्रियताको मूल चुरो समातेर अघि बढ्ने र विकास प्रक्रियामा पछाडि परेका जनताको ठूलो हिस्सालाई विकासको बाटोमा अगाडि लैजान सक्ने संकल्प बोकेका नेताको छवि बनेर बीपीको तस्बिर मेरा आँखा सामुन्ने आउँछ ।

अहिले बीपीले जस्तै राष्ट्रियता र समृद्धिको दृष्टिकोण भएको नेताको अभाव खड्किन्छ । तर नेपाली आमाको कोखचाहिँ त्यस किसिमको क्षमता भएको नेता जन्माउन सक्ने हैसियतको छैन भन्न सकिन्न । बीपीचाहिँ एउटा असाधारण क्षमता भएका नेता हुनुहुन्थ्यो । अहिलेका नेताहरूलाई उहाँसित तुलना गर्नु उपयुक्त हुँदैन ।

बीपीले देखाउनुभएको नेताप्रधान बाटो होइन । उहाँले भन्नुभएको थियो, ‘मेरो अनुपस्थितिमा पनि देशभित्र त्यो सामर्थ्य छ । त्यो सामर्थ्यको चुरो समाउन सक्ने साथीहरू हाम्रो पार्टीमा निस्कन्छन् ।’ अझ जीवनको उत्तरार्धमा त उहाँले कांग्रेस पार्टीको मात्र कुरा गर्नुभएन, देशको राष्ट्रिय एकतालाई मजबुत बनाउन सक्ने, देशका राष्ट्रिय शक्तिहरूलाई एकत्रित गर्न चाहने हाम्रो पार्टी र त्यसभन्दा बाहिरकालाई पनि सम्बोधन गर्न सक्ने नेता हुनुपर्छ भनी बृहत् सामर्थ्यको कुरा गर्नुभएको थियो ।

राष्ट्रियताको चुरो समात्न सक्ने, विकासका दृष्टिकोणलाई दृढतासाथ अगाडि बढाउन सक्ने र लोकतान्त्रिक अधिकारलाई अगाडि बढाउन सक्ने नेतृत्व जन्मन्छ भन्ने विश्सास भएको नेता हुनुहुन्थ्यो उहाँ ।

त्यसैले अहिले तत्काल हाम्रो आँखा अगाडि बीपीको जस्तो समर्पण, राजनीतिक नेतृत्व क्षमता र दूरदृष्टि भएको नेता ‘फलानो हो’ भनेर एउटै मात्र पात्र देखाउन मुस्किल छ । उहाँले उठाउनुभएको राष्ट्रियता, जनताको लोकतान्त्रिक अधिकार र जनताको समृद्धिको मुद्दालाई बोक्न सक्ने चारित्रिक विशिष्ठता वा सिद्धान्तप्रति जस्तोसुकै त्याग पनि गर्नसक्ने सामर्थ्य भएको नेताको खोजी गर्नुपर्ने चरणमा हामी आइपुगेका छौँ ।

बीपीले स्थापना गर्नुभएको नेपाली कांग्रेसको सिद्धान्त र आदर्शप्रति अहिलेको हामी कतिको इमानदार छौं भनेर सोच्नुपर्ने बेला भएको छ । लोकतान्त्रिक अधिकारलाई सुदृढ गर्ने प्रयास, लोकतन्त्रलाई संस्थागत गर्ने यात्रा, राष्ट्रियताको मुद्दामा देश विभाजित नभइ एक ढिक्का हुनुपर्ने राजनीतिक दृष्टिकोण र विकासको निम्ति इमानदार प्रयास बीपीले अघि सार्नु भएको बाटो हो । त्यसमा हामीले गम्भीरतापूर्वक सोच्न ढिलाइ गर्न नहुने समयको माग हो ।

जनताको लोकतान्त्रिक अधिकार र राष्ट्रियताको मुद्दामा बीपीले धेरै गहन विचार दिएर प्रयोग पनि गर्नुभयो । तर, आर्थिक समृद्धिको निम्ति जुन समय आवश्यक थियो त्यो बीपीलाई प्राप्त थिएन । त्यसैले अहिले हाम्रो देशको जस्तो अवस्था छ यो तुलनायोग्य समय होइन । यी विषयलाई हामीले अलग–अलग हेर्नुपर्ने हुन्छ ।

बीपी भन्ने बित्तिकै राष्ट्रियताको एउटा स्पष्ट चित्र बन्छ । आज पनि बीपीले भन्नुभए जस्तो हाम्रो राष्ट्रियता सबल भएको छैन । यस विषयमा हामीले गम्भीरतापूर्वक काम गर्नुपर्ने हुन्छ । देशभित्रका शक्तिहरूबीच नै राष्ट्रियताको विषयमा समान दृष्टिकोण छैन । छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो परराष्ट्र सम्बन्ध राष्ट्रिय हितको रक्षा गर्ने गरी भन्दा पनि तात्कालिक लाभहानीका मुद्दामा अल्मलिएको छ । लोकतान्त्रिक अधिकारहरूको रक्षा गर्ने सवालमा पनि निकै आरोह अवरोहसहित हामी अघि बढिरहेका छौँ ।

यस बीचमा धेरै ठूला राजनीतिक परिवर्तनहरू भए । तर त्यो परिवर्तनले जगाएको आशाचाहिँ हामीले निष्ठापूर्वक जनताका आकांक्षा र आशाहरूलाई जुन चारित्रिक दृष्टिले सम्बोधन गर्नसक्नु पर्थ्यो त्यो गर्न सकेको अवस्था छैन । कहीँ न कहीँ हाम्रा कमीकमजोरीहरू छन् । सत्ताको राजनीतिको सिद्धान्त हाबी भएका कारण धेरै अस्वाभाविक तनावहरू राष्ट्रिय राजनीतिमा देखिएका छन् । र, विकाससम्बन्धी अवधारणामा पनि हाम्रा प्रयासहरू छ्यासमिस हुँदै गएका छन् ।

यद्यपि, बीपीको समयमा जुन तहको गरिबी नेपालमा थियो त्यो अवस्थाबाट हामी माथि उक्लिँदै गएको अवस्था छ । जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखाभन्दा माथि निस्कँदै आइराखेको देखिन्छ । तर असमानता, विभेदका कुरा अझै हाम्रो समाजमा जीवित छन् । सम्यक दृष्टिकोणले यी समस्या चाँडो निदान गर्न सक्थ्यौं तर, हामी अलमलिएका छौँ ।

हाम्रो पार्टीभित्र मतभेद व्यवस्थापनको अभाव, राष्ट्रिय राजनीतिमा बढिरहेको तिक्तता, वैमनस्यता र राजनीतिक दलहरूबीच बढ्दो दूरी, फुट र विभाजनका कारण मुलुकको ध्यान विकासतिर केन्द्रित हुन सकिरहेको छैन । त्यसैले बीपीले देखाउनुभएजस्तो राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकास र विभेदरहित समाज निर्माण गर्न हामीले अझै धेरै चुनौती पार गर्नुपर्ने छ । यसलाई व्यवहारमा उतार्न हामीले अझै बढी समय र क्षमता खर्चिनुपर्ने हुन्छ ।

राजनीतिक स्थिरताको बलियो पृष्ठभूमिमा विकासका प्राथमिकताहरू उचित ढंगले अघि बढाउनुपर्छ । यसमा राज्य, निजीक्षेत्र र गैरसरकारी क्षेत्रको भूमिका के हो ? यी सबै पक्षलाई विधिको शासनभित्र क्रियाशील, जनमुखी सरकार, गरिबमुखी बजेट विनियोजन, राष्ट्रको पूर्वाधार निर्माणका निम्ति तयार र कौशलका साथ निजीक्षेत्रको पुँजी व्यवस्थापनमा सक्रिय, समय सान्दर्भिक कानुन र नीति बनाउन आवश्यक छ । कहीँ पनि कसैको पनि एकाधिकार नहोस् । कालोबजारीको प्रवर्द्धन हुन नपाओस् । सन्तुलित परिधिभित्र रहेर प्रतिस्पर्धात्मक अर्थतन्त्रको अभ्यास अहिलेको खाँचो हो ।

हामीले निकै गम्भीरतापूर्वक ध्यान दिनुपर्ने विषय सुशासनको हो । विधिको शासन र सुशानको अभावले गर्दा हाम्रा प्रयत्नहरू धरासयी बन्ने गरेका छन् । यसमा हामीले सुधार गर्नु आवश्यक छ ।

पुँजी निर्माणका लागि उपयुक्त वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता हो । लगानी प्रवर्द्धन वातावरण निम्ति विधिको शासनमा ध्यान दिनु जरूरी हुन्छ । मुलुकमा पुँजी लगानी र प्रवर्द्धनका लागि विश्वासको वातावरण बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई उपयुक्त अवस्था बनाइदिनु हाम्रो दायित्व हुन्छ ।

यसबाट वृद्धि भएको देशको ऐश्वर्यलाई गरिब जनताको पक्षमा खर्च गर्न सक्ने सामर्थ्य भएको सरकार चाहिन्छ । प्राथमिकता निर्धारण गर्न सक्ने योग्यता भएको सरकारको खोजी हो अहिले । विकासका निम्ति हाम्रा चुनौती पनि यिनै हुन् ।

बीपीले भन्नुभएजस्तै आज पनि कम या धेरै हाम्रा विकासका प्राथमिकता उही छन् । बीपीका कृतिहरू पढ्नुभयो भने हामीसँग साधन र स्रोत मनग्य छ । हामीसित जमीन छ । कृषिको क्षेत्रमा निकै ठूलो परिवर्तन आवश्यक छ । जमिनको उत्पादनशील शक्तिमा परिवर्तन ल्याएर उत्पादन वृद्धिमा जोड दिनुपर्छ ।

हाम्रो अर्को महत्त्वपूर्ण स्रोत र साधन भनेको श्रमशक्ति हो । त्यसलाई अत्यधिक परिचालन गर्न पनि बीपी नीतिगत संरचनाको कुरा गर्नुहुन्थ्यो । तेस्रो कुरा, हामीसँग पानी छ । हामीसित भएको जलस्रोतलाई उपयोग गरेर त्यसबाट समृद्धि हासिल गर्नुपर्ने कुरा उहाँ गर्नुहुन्थ्यो । वनजंगलको विवेकपूर्ण वा वैज्ञानिक उपयोग गर्नुपर्ने उहाँको सोच थियो ।

सम्पत्तिको निम्ति हामीसित भएका माथि उल्लेखित चारवटा क्षेत्रको समुचित विकास र उपयोग गर्नसक्नु नै बीपीको आर्थिक अवधारणातर्फ पाइला बढाउनु हो । यस निम्ति राजनीतिक स्थिरता, विधिको शासन, उपयुक्त प्राथमिकताको चयन र लगानीको वातावरण हुनुपर्छ । सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्रको फराकिलो फाँट र सहकारी आन्दोलनको व्यापक परिचालनको सम्मिश्रणबाट उत्पादनशील शक्तिको विस्फोट हुने परिस्थिति हामीले बनाउन सक्नुपर्छ ।

यस्तो परिस्थिति निर्माण गर्न हामी चुकेका छौं । हाम्रो समय र सामर्थ्यचाहिँ राजनीतिका अत्यन्त झिनामसिना खिचातानीमा खर्च भइरहेका छन् ।

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य आचार्यसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित : भाद्र २४, २०७८ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्

देउवालाई पौडेलको प्रस्ताव– '७५३ वटै स्थानीय तहको अधिवेशन एकैपटक गरौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशन सकेर ७५३ वटै स्थानीय तहको अधिवेशन एकैपटक गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । पौडेलले बिहीबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर सबै वडाको अधिवेशन सम्पन्न भएपछि मात्रै एकै दिन पालिका तहको अधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

‘अब बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यताको विषय निष्पक्ष छानबिन गरी पारदर्शी रुपमा यथासक्य छिटो टुंगो लगाउनुपर्‍यो । र बाँकी रहेका २१ जिल्लामा वडा अधिवेशन सकेर एकैपटक ७५३ वटै पालिका तहको अधिवेशन गर्नुपर्‍यो,’ पौडेलले भनेका थिए ।

भेटमा पौडेलले अनुशासनमा परेका नेता कार्यकर्ताको कारबाही फिर्ता गर्न र डडेल्धुरामा देखिएको सदस्यताको विवाद समाधान गरेरमात्रै अधिवेशन गर्ने व्यवस्था आग्रह गरेको पौडेलका सहयोगी चिरञ्जिवी अधिकारीले जानकारी दिए । ‘क्रियाशील सदस्यताको विवाद समाधान, महाधिवेशनको प्रक्रिया लगायत पार्टीकै महाधिवेशनकै विषयहरुमा छलफल भयो । अरु राष्ट्रिय राजनीति र सरकार सञ्चालनका विषयमा छलफल भएन,’ अधिकारीले भने ।

कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ गते वडा अधिवेशन गर्ने मिति तोकेको थियो । तर, मतदाता अर्थात् क्रियाशील सदस्यको टुंगो लगाउन नसक्दा वडा अधिवेशन भइसकेको छैन । केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको सदस्यको नामावली सार्वजनिक भएको र ती जिल्लामा वडा अधिवेशन सम्पन्न हुने क्रममा रहेको जनाएको छ । सदस्यताको टुंगो नलागेका काठमाडौंसहित २१ जिल्लाको अधिवेशन भने अनिश्चित छ ।

प्रकाशित : भाद्र २४, २०७८ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×