टुँडिखेल जनताको हो

फाल्गुन ७, २०७७

खगेन्द्र संग्रौला

आन्दोलनमा आएका एकजना भाइले भने, 'नागरिक आन्दोलनमा नागरिकहरुको उपस्थिति यति पातलो किन ?' मैले भनें, 'नागरिक आन्दोलनको शक्ति नागरिकहरुको टाउको गनेर थाह हुँदैन् । नागरिक आन्दोलन प्रहरी भाइबैनीहरुको टाउको गनेर नागरिक आन्दोलनको शक्ति नापिन्छ । आज यो सभामा जति नागरिकहरुको सहभागिता छ त्यो भन्दा बढी प्रहरी भाइबैनीहरुको सहभागिता छ । तसर्थ तानशाह जब डराउँछ, नागरिकहरुको अगाडि आफूसँग भएको सबै शक्ति उतार्छ । त्यसले प्रहरी पठाउँछ, सेना पठाउँछ, ट्यांक पठाउँछ, तोप पठाउँछ । त्यसैले नागरिक आन्दोलन तपाईंहरु सबैको प्रयत्नबाट बलियो भएको छ ।'

नागरिक आन्दोलनमा नागरिकहरुको आवाज सुन्न उपस्थित भएका सुरक्षाकर्मीहरुलाई पनि म सलाम गर्छु । यो काठमाडौं सहर हो । काठमाडौं सहर यो देशको राजधानी हो । कुनै पनि सहरको, त्यसमा पनि राजधानी सहरको केही विशेषताहरु हुन्छन्, केही गुणहरु हुन्छन् । पहिलो गुण, प्रत्येक सभ्य सहरमा एउटा पेटी हुन्छ । जहाँ नागरिकहरु एक अर्कालाई नछोइकन हिँड्न सक्छन् । प्रत्येक सभ्य सहरमा साइकल चलाउने लेन हुन्छ, जहाँ मानिसहरु साइकल चलाउँछन् । प्रत्येक सभ्य सहरमा सडकका दायाँबायाँ रुखहरु हुन्छन् । रुखले सहरलाई शोभा दिन्छ र नागरिकलाई स्वस्थ बनाउँछ । प्रत्येक सभ्य सहरमा पुष्पवाटिका हुन्छ, पार्क हुन्छ, जहाँ मानिसहरु आराम गर्छन्, मनोरन्जन गर्छन् । प्रत्येक सभ्य सहरमा व्यवस्थित किसिमको पुस्तकालय हुन्छ, व्यवस्थित किसिमको नाट्यगृह हुन्छ । 

तर यो काठमाडौं सहरमा अहिले मैले गनिरहेको कुनै पनि कुरा छैन । जे जे हुनुपर्ने त्यो छैन । जे जे हुनु नर्पने त्यही छ । हुनु नपर्ने एउटा के हो भने, राजधानी सहरको बाक्लो बस्तीको बीचमा जंगीअड्डा छ । कुनै पनि सभ्य सहरको बीचमा, बाक्लो बस्तीको बीचमा जंगीअड्डा हुँदैन । जंगीअड्डामा के हुन्छ, बारुदको थुप्रो हुन्छ, जिलेटिन हुन्छ, बम हुन्छ । बन्दुक हुन्छ, मेसिनगन हुन्छ । जसले विनाश गर्छ । संसारैभरी तानाशाहहरु जहिल्यै पनि जनतासँग डराउँछन् । तानाशाह जब जनतासँग डराउँछन् तब तिनले आफ्नो दरारको बलेसीमुनि प्रहरीहरुको, सेनाहरुको जमात लगाउँछन् । 

नेपालको सेना, शाह राजाहरुले आफ्नो नोकरको रुपमा पालित पोषी हुर्काएको सेना हो । पछि त्यसको नाम नेपाली सेना भएको छ । तानशाह जब डराउँछ, त्यसले आफ्नो बलेसीमुनि अड्डा बनाउँछ । यो जंगी अड्डा पनि त्यसैगरी बनाइएको हो । हामी आज टुँडिखेल हाम्रो भन्न आएका छौं । अघिल्लो नागरिक आन्दोलनमा मलाई सम्झना छ, रत्नपार्क हाम्रो हो भन्न आएका थियौं । 

कुनै पनि देशको सेना बस्तीभन्दा धेरै टाढा बस्छ । सेना सामान्यत: नागरिकले देख्ने गरी कहिले पनि आउँदैन । दुई अवस्थामा मात्र आउँछ । ठूलो प्राकृतिक विपत्ति भएपछि राहत बाड्न सेना देखिन्छ । अथवा गृहयुद्ध वा सिमानायुद्ध भयो भने सेना देखिन्छ । सैनिक जवानहरु बिहान बिहान 'आई लभ यु' भन्दै सहरमा कुद्दैनन् । त्यसैले यो सेना नेपालका शासकहरुको बर्बरताको प्रतीक हो । यो सेना सहरको असभ्यताको प्रतीक हो । यो सेनाले नागरिकहरुले घेर्ने, डुल्ने टुँडिखेल पनि कब्जा गरेको छ । 

आज हामीलाई टुँडिखेलमा पस्न दिइएन । हाम्रो डरले बालुवाटारको आदेशमा टुँडिखेलका सबै ढोकाहरु बन्द भएका छन् । तर मेरा मित्र कृष्ण खनालले अघिल्लो आन्दोलनको भाषणमा भन्नुभएको थियो, नागरिक आन्दोलन तबसम्म रहन्छ, जबसम्म विश्वमा एउटा नागरिक रहन्छ । अधिकार जहिले पनि जोखिममा रहन्छन् । तानाशाहले जहिले पनि अधिकार खोस्न चाहन्छ, जीवनलाई सीमित बनाउन चाहन्छ, सबैलाई कमारो बनाउन चाहन्छ । त्यसैले आज हामीले टुँडिखेल नागरिकको हो भनेर उद्घोष गरेका छौं । टुँडिखेल नागरिकको हुनेछ । आज टुँडिखेलको ढोका हाम्रो लागि खोलिएन । टुँडिखेल सधैंभरी यसरी नै बन्द भयो भने टुँडिखेलको ढोका फोडिनेछ । यो सहरमा बसिरहेका सभ्य नागरिकहरुले टुँडिखेललाई पार्क बनाउनका लागि पुष्प वाटिका बनाउनका लागि, वृद्धवृद्धाहरु आराम गर्ने, मनोरन्जन गर्ने, केटाकेटीहरु खेल्ने ठाउँ बनाउनका लागि टुँडिखेल कब्जा गरिनेछ । टुँडिखेललाई पार्कमा परिणत गरिनेछ । 

हामी त्यो कुरा भन्दैनौं, सेना प्रतिकात्मक रुपमा भए पनि देशका लागि आवश्यक छ । नेपालको लागि यत्रो सेना आवश्यक छ कि छैन त्यो बहसको विषय होला । यो सेना जहाँ राखिएको छ, त्यो सेनाको ठाउँ होइन । सेनालाई नागरिकहरुको आवाजले, नागरिकहरुको दबाबले, नागरिकहरुको हुंकारले सैनिक अड्डा सहरको बीचबाट कतै एकान्तमा सारिनेछ । जंगी अड्डा एकलासमा हुनुपर्छ, एकान्तमा हुनुपर्छ । त्यसले आफ्नो पेशाअनुसार आफ्नो गोप्यताहरु कायम गर्दै काम गर्ने हो । 

जोसुकैले जेसुकै भने पनि भन्ने कुरा जम्मा यत्ति हो, टुँडिखेल नागरिकहरुको हो, टुँडिखेल नेपालीहरुको हो । टुँडिखेलबाट जंगीअड्डा पन्छिनुपर्छ । जंगी अड्डा पन्छिएन भने जंगीअड्डालाई टुँडिखेलबाट लखेटिनेछ । टुँडिखेल जब खाली हुन्छ, यो पार्क बन्नेछ, पुष्पबाटिका बन्नेछ । काठमाडौं राजधानीका निम्ति त्यो शोभायमान पनि बन्नेछ । मानिसहरुको स्वास्थ्यका लागि मनोरन्जनका लागि उपयुक्त ठाउँ पनि हुनेछ ।

(बृहत् नागरिक आन्दोलनले शुक्रबार आयोजना गरेको टुँडिखेल मार्चका क्रममा लेखक तथा अधिकारकर्मी संग्रौलाले राखेको धारणाको सारसंक्षेप)     

प्रस्तुति : जनकराज सापकोटा 

खगेन्द्र साहित्यकार संग्रौला मुलत: सामाजिक न्याय र लोकतन्त्र विषयमा लेख्छन् । उनका बाल्यकालका पदचापहरू, जुनकिरीको संगीत, आफ्नै आँखाको लयमा, संग्रामबहादुर सार्की लगायतका कृतिहरु प्रकाशित छन् । उनले अंग्रेजी साहित्यका विभिन्न कृतिकाे नेपाली अनुवाद पनि गरेका छन् ।

Link copied successfully