कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डायस्पोरा संवादको साँझ

अभि सुवेदी

अप्रत्याशित संवादहरूमा बस्नुको आफ्नै उत्तेजना र चुनौती हुन्छन् । मलाई भर्खरै एउटा त्यस्तै संवादमा बस्ने संजोग मिल्यो । असोज ११, २०७७ को साँझ गैरआवासीय नेपाली संघ अथवा एनआरएनएको भाषा साहित्य विभागबाट साहित्यिक प्रवाहअन्तर्गत मसँग नेपाली डायास्पोराको साहित्यिक पक्ष विषयमा संवाद गर्ने प्रस्ताव आयो । म झस्किएँ ।

डायस्पोरा संवादको साँझ

मैले भने, ‘अहिले यो विशेषज्ञताको विषय भएको छ । छलफलहरूमा यसको परिभाषादेखि लिएर बाहिर बसेर साहित्य–रचना गर्नेहरूको विषयमा छलफल भइआएका छन् ।’

डायस्पोरा लेखनका ठेलीहरू बाहिर र नेपाल प्रज्ञा प्रतिष्ठानबाट पनि प्रकाशित भइरहेका छन् । डा. गोविन्दराज भट्टराई, सोआसका प्राध्यापक डा. माइकल हट, केन्द्रीय नेपाली विभागका डा. खगेन्द्र लुइँटेल, डा. नेत्र एटमले यस विषयमा गुणस्तरीय काम गरेका छन् । यही विषयमा केही वर्षअघि मात्रै विद्यावारिधि गरेर भिन्न दृष्टिकोण लिएर आएका मेरा पूर्वविद्यार्थी डा. रामजी तिमल्सिना, गीता खत्री, खिमानन्द आचार्य, पुरन राई, टङ्क सुब्बा, रक्षा राई, मिजास तेम्बे, डेभिड गेल्नर र काठमाडौं केन्द्र भई नेपालका बाहिरी ‘बजार’ हरूमा गई बस्ने नेवारहरूलाई डायस्पोरा भनेर लेख्ने टड लुई आदिले लेखेका विश्लेषण र तिनले सम्पादन गरेका संग्रहहरू बग्रेल्ती भएको अवस्थामा म यस विषयमा काम नगरेको मानिसले बोल्ने रहर गरिनँ । तर, यसका संयोजक अमेरिकामा बस्ने गौतम दाहाल, नाइजेरियामा बस्ने हिक्मत थापा र नेपालमा संयोजन गर्ने पत्रकार भगवती बस्नेतले म नेपाली डायस्पोराको वैचारिक र भावनात्मक पक्षमा बोल्न स्वतन्त्र छु भनेपछि मैले भाग लिएँ ।

त्यो संवादमा यस संघका पूर्वअध्यक्ष जीवा लामिछानेसँग भेट भयो । मेरा फूर्वविद्यार्थी र अहिले मेरिल्यान्ड राज्य एसेम्ब्लीको डिमोत्रेटिक पार्टीका सांसद ह्यारी भण्डारीले मसँग जोडिएका संस्मरण सुनाए । तिनले भने मानवअधिकार र स्वतन्त्रता मूल मन्त्र हुन् । मजस्तो शिक्षक र साहित्यकारको कर्म भनेको शान्ति सिर्जना गर्नु हो, तिनले मलाई लिएर थपे । आफैंतिर फर्किएर अर्थ सोचें ।

मैले आफ्ना वैचारिक पूर्वाधार राख्दै भने, ‘म आप्रवासनलाई सीमापारि जाने अवस्थाका भौगोलिक अनि भावनात्मक परिस्थितिसँग जोड्न चाहन्छु । सबै बाहिर जाने ढुक्कले एक ठाउँमा घर गरेर बस्दैनन् । तिनमध्ये कति घुमिहिँड्छन् । ठाउँहरू बदलिन्छन् । आप्रवासन एउटा खोजी हो, बाहिरिनु एउटा महाभिनिष्क्रमण नै हो ।’ यो अवस्थालाई एडवार्ड सइदले ‘एक्जाइल्’ भने । अथवा बाहिर निस्किनेहरू एक ठाउँमा बसोबासो नगरेर अनेकौं सम्भावनाको खोजी गरिरहन्छन् । ती घुम्छन् । ती दुःख पनि भोग्छन् । राष्ट्रको पहिचान गुमाउँछन् वा त्यो पहिचान बोकेरै घुमिरहन्छन् । ती सीमान्त मानिस पनि हुन्छन् । एडवार्ड सइदको यस्तो मानिस, यस्तो चिन्तकलाई ‘संसारहीन संसारी, घरहीन घर भएको मानिस’ एउटा ‘दर्पणभित्र आफूलाई हेर्ने–स्पेकुलर–सीमान्त विचारक’ सम्म पनि भने छलफल गर्नेले । तर, नेपालीको आप्रवासनको प्रक्रिया देश भताभुङ्ग भएर सइदले भनेजस्तो गरी भएको होइन । धेरै नेपालीको आप्रवासनको कारण दुःखभन्दा परको सहज जीवन अनि सुन्दर सपनाको खोजी गर्ने चाहना हो । तर, भुटानी मूलका नेपालीको कथाले अलग्गै बोल्छ । हामीले भारत, बर्मा, अहिलेको पाकिस्तान लाहोर (लाहुर) गएका मानिसको इतिहास पनि हेर्नुपर्छ । समुद्रपारि नेपाली नपुगेको बेला खुला सीमा पार गरेर नेपाली यिनै भूमितिर जान्थे ।

समुद्रपारि पुगेका नेपालीहरूको आप्रवासन वा डायस्पोरा पहिले भारतमा जाने र त्यता बस्ने नेपालीहरूको आप्रवासनको दैहिक र भावनात्मक अवस्थाबाट आरम्भ भएको थियो भन्ने मेरो मान्यता मैले सुनाएँ । त्यस विषयमा प्रमुख संवाद गर्ने गौतम दाहालले कुरा उजागर गरे । गैर–आवासीय नेपाली संघको कार्य क्षेत्र फराकिलो छ । त्यहीँ थाहा पाएँ, अहिले विश्वका ८० देशमा छन् नेपाली । सायद तिनका संघहरू छन् अनि तिनमध्ये कतिले कविता वा कथा लेखेका छन्, गीत बनाएर गाएका छन् । ती रचनामा कस्ता भावना छन् अनि मूल भूमि नेपाल त्यसमा कहाँ छ भन्ने कुरा कसरी व्यक्त हुन्छ होला, कल्पनाको विषय हो । नेपालीहरू कुन कुन अवस्थामा बाहिर गए, को फर्किए, को अड्किए त्यो बृहत् खोजीको विषय हो । संघले केही खोजेको होला ।

अखण्ड भारत जाने नेपालीहरूले भारतीय संघभित्र नेपाली भाषाको पहिचान भएको राज्य सिक्किम, अनि अर्ध्दराज्य दार्जिलिङ र अरू आफ्नो भारतीय नेपाली भएको पहिचान बनाए । उनीहरूमध्ये कति त्यहाँ भएकै बेला नेपालले त्यताको भूमि जित्यो, अनि १८१६ को सुगौली सन्धिबाट ती भूमि गुमिसकेपछि भारतमै बसेर ती हाम्रा भूमि हुन् भनेर तिनले नेपाली डायस्पोराको पहिचान नेपालको स्मृति र उताको यथार्थमा बनाए । डायस्पोराको अन्तरङ्ग चेतना हो त्यो । यता नेपालीले लगभग बिर्सेका विषयलाई तिनले बोलिरहे, तर त्यसको भावनात्मकभन्दा अर्को अर्थ थिएन । तर, आप्रवासनको स्वरूप त्यही दृश्य वा अदृश्य सीमा वारपार गर्ने नेपालीको आदिम अभ्यासबाट बनिएको हो । अहिले त्यो द्वैतता, त्यो सीमाहीन सीमाको कथा झन् उजागर भएको छ कोभिड–१९ ले । राष्ट्रको परिभाषा गर्ने, ‘इम्याजिनरी होमल्याण्ड’ लेख्ने बेनडिक्ट एन्डर्सन, श्रमिक जनताको राष्ट्र हुँदैन भन्ने कार्ल मार्क्सका भनाइहरूले अहिले मलाई सबैभन्दा धेरै हल्लाइरहेको अवस्था छ । एउटा अखबारमा ‘दसैं होइन, दशा टार्न मुग्लान जानेको ताँती’ शीर्षकमा पढें ‘रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हूल पाँच गुणा ठूलो छ र ती विश्वमै एउटा ठूलो संक्रमित भएको देशमा जाँदै छन्’ (नयाँ पत्रिका, असोज १३) । प्रवासतिर लाग्ने नेपालीको एउटा यो आदिम कथा हो, जसको नैरन्तर्य कायमै छ । देशबाहिर गएर बस्ने वा कर्म गर्ने नेपालीको इतिहास अंग्रेजको शासनमा रहेको भारत अनि सन् १९४७ मा तिनको शासनबाट मुक्त भएको भारतीय गणतन्त्रसम्म विस्तारित छ ।

डायस्पोरा भन्दाखेरि अलिक केही पहिचान बनिसकेको अवस्था बुझिने हो, वा यो शब्दले केही विशेष ‘प्रेस्टिज्’ बोकेको हो, मैले मैले छलफलमा राखें । तर, गौतम दाहालले संवादलाई अनेकौं प्रेरक विषयतिर लगे । बीपी कोइरालादेखि, मेरा हिप्पी र एक समयका राजनीतिक आलम्बनका कुरा पनि उठाए उनले । श्रोताहरूले अनेकौं कुरा उठाए । भगवती बस्नेतले मानवोत्तर विषय उठाइन् । मैले त्यो संवादमा डायस्पोरा साहित्यलाई मूल विषय बनाइनँ ।

समुद्रपारि नेपाली डायस्पोराको इतिहासबारे ग्रन्थहरू निस्केका छन् । ब्रिटेनमा नेपालीहरू गएको इतिहास खासै लामो रहेनछ । अमेरिकामा त झन् छोटो होला । पढ्न पाएको छैन । पाँच वर्षअघि ब्रिटेन–नेपाल असोसिएसन वा बीएनएको प्रवचन गर्ने निमन्त्रणामा जाँदा मैले त्यहाँका नेपालीहरू र तिनको डायस्पोरा विषयमा पहिलो जानकारी पाएको थिएँ । लेखेको छु, ‘डायस्पोरा विषयमा एउटा प्रवचन राखेका थिए लोकेन्द्र ढकाल र डा. चन्द्र लक्सम्बाको संस्थाले । डायस्पोरा त मूल थलोबाट समय र स्थानमा हामी जति टाढा हुँदै जान्छौं त्यति नै दूरत्वमा बनिने चेतना र लेखन हो । हामीले यता भोगेका र बहस भएका विषय डायस्पोरामा पनि उठ्छन् तर ती कुरामाथिका भावनात्मक, बौद्धिक र दार्शनिक चिन्ताहरूमा दूरत्वले अर्को ‘स्पेस’ मा प्रभाव पार्दै लान्छ (कान्तिपुर १४ मंसिर २०७२) ।’ अहिले पनि त्यही नै हो मेरो धारणा । डा. सूर्य सुवेदी र अरू विद्वान्हरूका लेखहरूबाट ब्रिटेनमा नेपाली डायस्पोराको विषयमा निकै थाहा पाएँ । तर, अक्सफोर्ड विश्वविद्यालयका डा. कृष्ण अधिकारीले एउटा चाखलाग्दो खोज गरेर एउटा पात्र चिनाए । सन् १८५० मा बेलायतमा भ्रमण गर्न आउने पहिलो सरकार प्रमुख थिए जङ्गबहादुर राणा । तर, ती पहिलो नेपाली होइन रहेछन् । अधिकारीले भनेका छन्– मुत्ती लोल् सिंह अथवा मोतीलाल सिंह भन्ने नेपाली यतै बसेका र जङ्गबहादुर आएपछि तिनले उनलाई भेटेर टोलीमा सामेल भएर दोभासेको काम गरेका कथा रहेछन् । त्यो बेला नै मोतीलाल सिंहले लेखेको लामो लेखमा नेपाल–अंग्रेज युद्धमा कब्जा गरेका कतिपय बन्दीहरू यहाँ श्रम गर्न ल्याइएका थिए भन्ने कुरा उल्लेख भएको छ । दुई सय वर्षजतिको कथा हो । नेपालीहरू समुद्रपारि त्यो पनि बेलायतमा गएका रहेनछन् । अहिले त ब्रिटिस गोर्खादेखि लिएर अरू नेपालीका बसोबासका कुराका अध्ययन भएका छन् । नेपालबाट ब्रिटेनमा आएर बस्ने नेपालीहरूका इतिहासका कथा पढ्दै जान्छु । एउटा अनौठो ऐतिहासिकी छ नेपाली र ब्रिटिसहरूको । दुई सय वर्षको भएछ भेटघाटको इतिहास । यो बीचमा ब्रिटिस गोर्खा भर्तीका न्यारेटिभहरू जन्मे । चन्द्र लक्सम्बाले भने– यहाँ आउने नेपाली ‘इकोनोमिक माइग्रन्ट,’ शरणार्थी होइनन्, यहाँ, रेडिङ् र अरू थलोमा बस्ने अनेकौं नेपालीले नेपालबाट पैसा ल्याएर घर किनेका छन् ।

त्यो संवादको साँझ मेरानिम्ति सिर्जनात्मक थियो । मेरो भनाइ दोहोर्‍याउँछु । नेपाली डायस्पोरा आज बृहत् छ । गौरवमय संस्था छन् । सफलताका कथा छन् । तर, डायस्पोरा भन्ने आफैंमा एउटा प्रतिष्ठाको नभएर स्थितिको यथार्थ जनाउने शब्द हो । यसको ‘जेनेसिस्’ हामी घर छोडेर निस्केको साधारण यात्राबाट सुरु हुन्छ । अनि यो गतिशील यात्राहरू हुँदै स्थायी बसोबासको रूपमा परिणत हुने पहिचानको यथार्थ रहेछ ।

प्रकाशित : आश्विन १७, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?