कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लकडाउनपछि एक दिन

‘अफिस दुई शिफ्टमा चल्दैछ । सरको डयूटी भरेको शिफ्टमा हो । भोलि आउनोस् ।’

पैसा झार्ने मशीन अर्थात् एटीएमको ढोकाबाहिर कोरोनाबाट बच्न सिकाउने सचित्र पोस्टर टाँसिएको थियो । पोस्टरको पहिलो सूत्र थियो— ‘घरबाहिर निस्कँदा सधैं मास्क र चश्मा लगाउनुहोस् ।’ मैले गमक्क परेर आफूले लगाएको मास्क र कालो चश्मा सुम्सुम्याएँ अनि ढोका ठेलेर भित्र पसें । 

लकडाउनपछि एक दिन

भित्र अर्को सचित्र पोस्टरले स्वागत गरिरहेको थियो, जसमा भनिएको थियो— ‘एटीएम प्रयोग गर्नुअघि मास्क र चश्मा फुकाल्नुहोस् ।’

म अलमल्ल परें । मास्क र चश्मा फुकालौं कोरोना लाग्ला भन्ने डर, नफुकालौं एटीएमबाट पैसा नझर्ला भन्ने डर । एक छिन पछि लाग्यो, कोरोनालाई बाहिरै मान्छे लखेट्न भ्याई नभ्याई होला, यहाँ पसिराख्न के भ्याउला ? अनि ढोका राम्ररी बन्द गरेर हतारहतार मास्क र चश्मा खोलें र फोहोरले काती परेका एटीएमका बटन थिच्न खोजें । त्यसवेला पो थाहा भयो, एटीएम त बन्द रहेछ !

तीन महीनाको लकडाउन खुकुलिएपछि पहिलोपल्ट घरबाट निस्केर सीधै एटीएम आएको, उसैले धोखा दियो । पहिलो गाँसमै झिंगा ! दिक्क मान्दै बाहिरिएर चार पाइला अघि बढेको मात्र थिएँ, पल्लो फुटपाथबाट प्रहरीले हप्कायो, ‘ओ दाइ, खोइ तपाईंको मास्क ?’ लौ जा, लगाउनै पो बिर्सेंछु । हत्तपत्त माफी मागें र मास्क, चश्मा दुवै लगाएँ ।

पैसा ननिकाली भएको थिएन, नजीकैको बैंकतिर लागें । ढोकाबाट पस्नासाथ कालो लुगा लगाएको एउटा भुस्तिघ्रेले मेरो निधारमा पिस्तोल तेर्स्यायो र भन्यो, ‘थाप्नोस् !’ चर्को घामले तिरिमिरी भइरहेका आँखाले भित्रको दृश्य राम्ररी ठम्याउन नपाउँदै यस्तो आक्रमणमा परेपछि म आत्तिएँ । अनि पड्किएँ, ‘वीर गोर्खालीको सन्तान हुँ । सक्छस् भने छातीमा गोली हान् न, के निधारमा बन्दूक तेस्र्याएर थाप्नोस् भन्छस् ?’ ऊ सुरक्षा गार्ड रहेछ । मुसुक्क हाँस्यो र भन्यो, ‘नरिसाउनोस् न सर, हाम्रो डयूटी यस्तै छ, के गर्नु ? निधारमा तपाईंको तापक्रम हेर्न लागेको अनि हातमा स्यानिटाइजर थाप्नोस् भनेको ।’ बल्ल ठम्याएँ, उसको हातमा पिस्तोल होइन ‘थर्मल गन’ पो रहेछ !

काउन्टरमा चेक साट्न दिएपछि काउन्टरवालीले भनिन्, ‘सही मिलेन ।’ तीन महीनासम्म कतै सही नगरेको, आफ्नै हस्ताक्षर बिर्सिएँछु ! उनले अरू दुईचोटि सही गर्न लगाइन् । तैपनि चित्त बुझेनछ र परिचयपत्रमा भएको फोटोसँग मेरो अनुहार मिलान गर्ने सुर कसेर भनिन्, ‘एकचोटि अनुहार देखाउनोस् त !’ मास्क र चश्मा एकैचोटि खोल्ने हडबडीमा चश्माको एउटा खुट्टा मेरो नाकमा छिर्‍यो र मैले जोडले हाच्छिउँ गर्न पुगें ।

हाच्छिउँले विस्फोटको काम गर्‍यो । उनी ‘मम्मी...’ भन्दै दुवै हातले मुख छोपेर अर्कातिर फर्किन् भने ग्राहकहरू लाइन छोडेर भित्तामा टाँसिए । सुरक्षा गार्डले मलाई एउटा कुनामा उभ्यायो र एकै छिनमा प्रहरीको जिम्मा लगाइदियो । प्रहरीले ‘कोरोना सार्न हिंडेको ?’ भनेर हप्काउँदै भ्यानमा हालेर क्वारेन्टाइनमा पुर्‍यायो । त्यहाँको भीड देख्ता ‘अब कोरोनाबाट नबचिने भइयो’ भनेर खङ्ग्रङ्ग भएँ । धन्न, नाम दर्ता गर्ने ठाउँमा एक जना चिनेको डाक्टर आइपुगेको वेला परेछ र उनले सामान्य सोधपूछ गरी रिहा गरिदिए ।

नजीकै अर्को एटीएम रहेछ । खुशी हुँदै त्यहाँबाट पैसा निकालें र साथीलाई भेट्न एउटा सरकारी कार्यालयमा पसें । उसको कुर्सी खाली थियो । ‘हाकिम साहेब खोइ ?’ भन्दा सहयोगीले बतायो, ‘अफिस दुई शिफ्टमा चल्दैछ । सरको डयूटी भरेको शिफ्टमा हो । भोलि आउनोस् ।’

‘भोलि किन ? आज भेट्न पाइँदैन ?’

‘जोरबिजोर नियम लागू भएको छ । आज जोर गते, सरको मोटरसाइकल बिजोर नम्बरको छ । त्यसैले आज अफिस आउनुहुन्न ।’

‘कर्मचारी किन यति थोरै नि ?’

‘यो अफिसमा जम्मा ८० जना हौं । दुई शिफ्ट भएपछि एउटा शिफ्टमा ४० जना भएका छौं । त्यसमा पनि जोरबिजोरको नियमले आधा जति घरमै थन्किन्छन् । बस, मिनीबस, माइक्रो चलेका छैनन् । मोटरसाइकल नभएका र हिंडेर आउन दुई–तीन घण्टा लाग्ने चार–पाँच जनाले विदा लिएका छन्,’ उसले भन्यो, ‘बाँकी १५–१६ जना सबै हाजिर छौं ।’

के हुन लागेको हो भन्ने बुझ्न नसकेर मेरो मथिंगल रन्थनियो । एक बोतल पानी खाएँ र खाली कुर्सीमा एकछिन थकाइ मारेर बाहिर निस्कें । मास्क नलगाई आइरहेको एकजना अधबैंसेलाई देखेर मुटु ढक्क भयो । त्यो मैले धेरै दिनदेखि रिन तिर्न बाँकी रहेको घामड साहू थियो, जहाँ भेटयो त्यहीं बेइज्जत गर्ने खालको । भागौं, भाग्ने ठाउँ थिएन । मेरा खुट्टा काम्न थाले । तर अचम्म, उसले मलाई दुईचोटि हेर्‍यो, तैपनि चिनेन र केही नभनी अघि बढयो । परम आनन्दको त्यस क्षणमा मलाई ब्रह्मज्ञान प्राप्त भयो : कोरोनाबाट मात्र होइन, रिन तिर्नुपर्ने साहूबाट बच्न पनि मास्क र कालो चश्माको जोडी ब्रह्मास्त्र नै रहेछ । जिन्दगीमा रिन त लिइरहनै पर्छ, कोरोना समाप्त भइसकेपछि पनि यो अस्त्र किन छोडुँला !

साहूबाट ‘अन्तर्धान’ हुन सकेकोमा दंग परेर हिंडिरहेको थिएँ, मध्यम गतिमा आइरहेको एउटा मोटरसाइकल सडकमा अकस्मात् प्रकट भएको कुकुरलाई छल्न खोज्दा कुइयँ गर्दै लडयो । पुरुष एकातिर, महिला अर्कातिर । तत्काल मानिसले घेरे, तर पहिला–पहिला जस्तो कसैले उठाएन । उठाउनु त के, कोरोनाको डरले छुनसम्म पनि आँट गरेन । उनीहरू नै ऐया–ऐया गर्दै जसैतसै उठे र सडकपेटीमा बसे । घुँडा र कुहिनो दर्फर्‍याएको देखिन्थ्यो, दुवै ठाउँमा लुगा च्यातिएको । ‘एम्बुलेन्स बोलाइदिऊँ ?’ एक जनाले सोध्यो । ‘पर्दैन,’ केटाले भन्यो । ‘नम्बर भन्नोस् त, म घरमा फोन गरिदिन्छु,’ मैले भनें । ‘हुँदैन, हुँदैन,’ केटीले मानिन ।

यतिन्जेलमा प्रहरी पनि आइपुग्यो र ‘एउटा मोटरसाइकलमा एक जना मात्र भन्ने नियम थाहा छैन ? दुई जना किन ?’ भनेर हप्कायो । उनीहरू माफी माग्न थाले । ‘तपाईंहरू श्रीमान–श्रीमती हो ?’ उसले सोध्यो । उनीहरू बोलेनन् । बुझ्दै जाँदा थाहा भयो, केटी विशुद्ध गृहिणी रहिछ र केटो लकडाउनका कारण जागीर गुमाएको बेरोजगार । आ–आफ्ना श्रीमान–श्रीमती अफिस गएको मौका छोपेर उनीहरू रमाइलो गर्न निस्केका रहेछन् । किस्सा सुनेर प्रहरी सहित सबै जना हाँस्न थाले । उनीहरूले भने छेउको औषधि पसलबाट एक–एक पत्ती पेनकिलर किने, एक–एक गोली त्यहीं खाए र ‘घर पुग्न ढीला हुन्छ’ भन्दै मोटरसाइकल चढेर टाप कसे ।

दिन ढल्न लाग्दा म आफ्नो टोल नजीक आइपुगेको थिएँ । सडकमा छाया परिसकेको थियो । एउटा ठूलो बिल्डिङको बाहिरी सिंढीमा केही ठिटाहरू गफिएर बसेका थिए । सबैले अनेक रंगका, अनेकथरि मास्क लगाएका । अब मास्कको पनि फेशन आएछ भन्ने सोच्तै म एक छेउमा गएर बसें ।

यत्तिकैमा एकातिरबाट चार जना प्रहरी र तिनका पछाडि पाँच–छ जना व्यापारी हाँपझाँप गर्दै आइपुगे । व्यापारीहरू प्रहरीलाई ‘यतै गएका थिए, हजूर’ भनेर बाटो देखाउँदैथिए । ‘के भयो दाइ ?’ एउटा ठिटाले सोध्यो । ‘पसलमा चोरी भयो,’ एक जना व्यापारीले भन्यो । ‘कसले चोरेछ ? सीसीटीभी हेर्नुभएन ?’ अर्को ठिटाले सोध्यो । ‘हेर्‍यौं नि । तर मुखमा टन्न कालो मास्क लगाएको छ, कसरी चिन्नु ?’ व्यापारीले भन्यो । दुवै ठिटा ‘चोर, चोर’ भन्दै चोर खोज्न उनीहरूसँगै हिंडे ।

तिनीहरू आँखाबाट ओझेल भएपछि ठिटाहरू फेरि गफिन थाले । एउटाले भन्यो, ‘मास्क लगाएपछि माल झ्याप हान्न क्या सजिलो भएको छ यार । एउटा रंगको मास्क लगाएर झ्याप हान्यो, अलिक पर गएर अर्को रंगको मास्क लगायो, कसैले चिन्दै चिन्दैन !’

‘हो त नि,’ अर्काले सही थाप्यो, ‘भर्खरै दुई जना ब्रो चोर खोज्न गयो नि, कालो मास्क लगाएर पसलमा माल झ्याप हान्ने उनीहरू नै त हो । अहिले अर्को रंगको मास्क लगाएको छ, अब कसले चिन्ने ? चोर नै पुलिससँग चोर खोज्न हिंडेपछि पुलिस ब्रो त सेन्टिफ्ल्याट !’

‘झ्याप हानेको माल नि ?’ कसैले सोध्यो ।

‘त्यो त यहीं छ ब्रो, भरे भाग लगाउनुपर्छ,’ एउटा झोला देखाउँदै उसले भन्यो र झोला बोकेर हिंड्यो ।

तिनका कुरा सुनेर मलाई रिंगटा लाग्ला जस्तो भयो । उठें र घरतिर लागें ।

घरको कर्मकाण्ड बेग्लै थियो । बाहिरै सारा लुगा फुकालेर नुहाएपछि मात्र घरमा प्रवेश पाइयो । केटाकेटी छक्क परेर हेर्दैथिए । काका मुसुमुसु हाँस्तै हुनुहुन्थ्यो, ‘पहिलेपहिले मलामी गएर फर्कंदा यस्तै हुन्थ्यो !’

प्रकाशित : असार ६, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?