अष्ट्रेलियाको आगो 

नयाँ वर्षको दिनमा अष्ट्रेलियाको राजधानी क्यानवेरामा वायुको गुणस्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा बीस गुणा ज्यादा हानिकारक थियो । त्यस अघि प्रदूषणकै कारण मेलवर्नमा भएको क्रिकेट प्रतियोगितामा दर्शकहरूले बलसमेत देखेनन् । हरेक वर्ष बसोबासका लागि उपयुक्त सहरको विश्वसूचीमा उपल्लो स्थान ओगट्ने अष्ट्रेलियाका यी सहरहरूको वायु प्रदूषणको अवस्था यतिखेर संसारकै प्रदूषित सहरहरूको भन्दा नाजुक छ । त्यसको कारण— गत सेप्टेम्बरयता निरन्तर लागिरहेको आगलागी हो ।

अष्ट्रेलियाको आगो 

अहिलेसम्म आगलागीले १ करोड ७ लाख हेक्टर जमिन सखाप पारेको छ । जुन नेपालको प्रदेश नम्बर १, २, वागमती, गण्डकी र ५ नम्बर प्रदेशको जम्मा क्षेत्रफल जोड्दाभन्दा पनि ठूलो भूभाग हो । क्षेत्रफलमा अष्ट्रेलिया नेपालभन्दा करिब ५२ गुणाले ठूलो छ । नेपालको कुल वन क्षेत्रभन्दा दोब्बर क्षेत्र हो । अझै पनि सयौं ठाउँहरूमा आगो लागिरहेका छन्, जुन तत्काल रोकिने गुञ्जायस छैन । अष्ट्रेलियाका कतिपय ठाउँहरूमा त आगलागीको मौसम सुरु भएकै छैन ।


अष्ट्रेलियामा आगलागी शताब्दियौंदेखिको नियति हो । त्यहाँ आगोको लागि आवश्यक मौसम र इन्धन प्रचुर भएकाले झिल्कोमात्रै भेटे पनि आगोले रौद्ररूप धारण गर्छ । अष्ट्रेलिया संसारकै सुक्खा महादेश हो । त्यहाँ गर्मीयाममा तापमान उच्च हुने गर्छ । त्यहाँको १३ करोड ४० लाख हेक्टर जमिनमा वन छ । गर्मीयाममा उच्च तापमान, कम आद्रतायुक्त हावा र जंगलहरूमा सुकेको झारपात र रुखका हाँगाबिँंगाले आगलागीको इन्धनको काम गर्छ । प्राकृतिक (चट्याङ) वा मानवीय कारण (बिजुलीको तारबाट झिल्का खसेर, मान्छेले जानाजान वा असावधानीवश आगो जंगलमै छोडेमा) बाट आगो लाग्छ । उच्च गतिको हावाले आगोलाई ठूलो भूभागमा फैलाउँछ र नियन्त्रणमा बाधा पुर्‍याउँछ । यो वर्ष तुलनात्मक रूपमा आगलागीका लागि मौसम धेरै नै अनुकूल रह्यो । त्यसैले प्रभाव र तीव्रताको हिसाबले यसपालीको आगलागी कीर्तिमानी बनेको छ ।


आगोले ठूलो जनधन र अतुलनीय वातावरणीय क्षति पुर्‍याएको छ । क्षति अझै बढ्ने निश्चित छ । हालसम्म २९ जनाले ज्यान गुमाइसकेका र ४३०० घर तथा भवनहरू जलेर नष्ट भएका छन् । दसौं हजार मानिस घरबार छोड्न बाध्य भएका छन् । एक अनुमान अनुसार हालसम्म उक्त आगलागीले १ सय १० अर्ब डलर बराबरको प्रत्यक्ष–अप्रत्यक्ष क्षति पुर्‍याएको छ ।


यतिखेर आगलागीले अष्ट्रेलियाको जैविक विविधता र विश्व वातावरणमा पारेको प्रभाव संसारभर चर्चामा छ । आगलागीमा करिब १ अर्ब जनावर मरेको आशंका छ । लोपोन्मुख रैथाने प्रजातिहरूको वासस्थानमा लागेको आगोको कारण करिब ५०० जति त्यस्ता जीवजन्तुहरू सधैंका लागि लोप भएको बताइएको छ । आगलागीले जनावरहरूको वासस्थान, प्रजननस्थल, खाद्य सामग्री र पानीको स्रोतहरूसमेत नष्ट वा क्षतिग्रस्त भएको त्यसबाट बचेका जनावरहरूको भविष्यको जीवन पनि संकटग्रस्त बन्ने पक्का छ । यस आगलागीबाट पृथ्वीको वायुमण्डलमा हालसम्म जलवायु परिवर्तनको कारक मानिने ३५ करोड टन कार्बन उत्सर्जन भएको छ । जुन अष्ट्रेलियाले वर्षभरिमा उत्सर्जन गर्ने परिमाणको दुई तिहाइ हो ।

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनको हिसाबले बितेको वर्ष र पुरै दशक अष्ट्रेलिया लगायत सम्पूर्ण विश्वको लागि ऐतिहासिक बन्न पुग्यो । अष्ट्रेलियाको मौसम विभागको प्रतिवेदन अनुसार, सन् २०१९ देशकै इतिहासमा सबैभन्दा गर्मी र कम वर्षात भएको वर्ष बन्न पुग्यो । यस अघि सबैभन्दा सुक्खा वर्ष मानिएको सन् १९०२ भन्दा सन् २०१९ मा १२ प्रतिशतले कम वर्षात भयो । त्यसैगरी सबैभन्दा उष्ण वर्षको रेकर्ड बनाएको २०१३ को तुलनामा २०१९ को औसत तापक्रम ०.२ डिग्री सेल्सियसले बढी थियो । सन् २०१९ पृथ्वीको लागि पनि अहिलेसम्मकै सबैभन्दा उष्ण वर्ष सावित भयो । गतवर्ष पृथ्वीको औसत तापमान (सन् १९६१ देखि १९९० सम्मको औसत तापमानको तुलनामा ) ०.८ डिग्री सेल्सियसले उच्च थियो र २०१० को दशक नै सबैभन्दा गर्मी । यसरी निरन्तर उकालो लागेको तापमानले पृथ्वीको वर्षात, वातावरण, विपद्हरूमा व्यापक फेरबदललाई ल्याएको छ, जसलाई जलवायु परिवर्तन भनिन्छ । त्यसकारण अष्ट्रेलियामा यसपाला समय अगावै र भीषण रूपमा लागेको आगोको कारक जलवायु परिवर्तन हो भन्नेमा धेरैको मतैक्य छ ।


यो त टेलर मात्रै

यतिखेर सञ्चार माध्यममा देखिएका दन्किरहेका आगोका ज्वाला, त्यसबाट निस्केको कालो बाक्लो धुवाँ र त्यसलाई नियन्त्रणको लागि हवाइजहाज र जमिनमा भइरहेका प्रयास, आगलागीबाट बच्न बस्ती छोडेर भाग्दै गरेका मानिसहरू, आगोपछि मरेका जनावरहरूका छरिएका सिनो र उजाडिएको दृश्य हलिउडको कुनै फिल्मको जस्तो लाग्छ । तर अध्येताहरूले यसलाई जलवायुजन्य संकटको टेलरमात्रै भनेका छन् । किनभने जलवायु परिवर्तनले पृथ्वीको पर्यावरणमात्र होइन, कृषि, औद्योगिक उत्पादन र अर्थतन्त्र लगायतका मानवीय क्रियाकलापहरूमा व्यापक असर पार्ने वैज्ञानिक दाबी छ । यसले विश्वभर बाढी–पहिरो, अतिवृष्टि, खडेरी, आगलागी जस्ता विपद्हरूको बढोत्तरी गरिरहेको छ । भविष्यमा त्यस्ता विपद्हरूको तीव्रता, सीमा र आवृति अझै बढ्ने अनुमान छ ।

अष्ट्रेलियामा जलवायु परिवर्तन र डढेलोको सम्बन्ध बारेमा सन् २०१२ मा अर्थशास्त्री रोज गार्नेटको नेतृत्वमा एक अध्ययन गरिएको थियो । अध्ययनले जलवायु परिवर्तनको कारण भविष्यमा आगलागीको मौसम चाँडै सुरु हुने, लामो समयसम्म रहिरहने र तीव्र हुने पूर्वानुमान गरेको थियो । उक्त अध्ययनमा त्यहाँ जलवायु परिवर्तनले चरम आगलागीका घटनाहरूमा सन् २०३४ सम्ममा ६५ प्रतिशत र २०६७ सम्ममा ३०० प्रतिशतले बढ्ने र त्यसको संकेत २०२० सम्म देखिने बताइएको थियो । जुन यतिखेर सत्य सावित भएको छ । तथापि अष्ट्रेलियाली स्कट मोरिसनको सरकार त्यस्ता अध्ययनहरूमा आधारित पूर्वतयारी भन्दा जलवायु परिवर्तन र आगलागीको सम्बन्धलाई नकार्न र बंग्याउन उद्यत छ—देशभित्र र देश बाहिर ।


जलवायु सम्मेलनमा सलाइको काँटी

पृथ्वीको जलवायु परिवर्तनको कारक मानव निर्मित कार्बन लगायतका हरितगृह ग्यास उत्सर्जन रहेको वैज्ञानिक तथ्यहरूले पुष्टि गरिसकेका छन् । यद्यपि यस विषयलाई कार्बन उत्सर्जक विकसित देशका सरकारहरू र ठूला तेल/कोइला कम्पनीहरूले विवादित बनाइरहेका छन् । उनीहरूले आफ्नो कार्बन उत्सर्जनको विगतको दोषबाट उम्कन तथ्यहरूलाई बेवास्था गर्ने, बंग्याउने र त्यसमाथि धावा बोल्ने गरिरहेका छन् । फलस्वरुप विश्वव्यापी रूपमा कार्बन उत्सर्जन घटाउने ठोस कदम चाल्न बाध्यकारी सम्झौताहरू हुन सकिरहेका छैनन् ।


डिसेम्बरमा स्पेनको म्याड्रिडमा सम्पन्न भएको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) लेपेरिस सम्झौताको कार्यान्वयनमा ठोस काम गर्ने अपेक्षा गरिएको थियो । तर सम्मेलन उत्सर्जन कटौती, कार्बन व्यापारको व्यवस्थापन र जलवायुजन्य क्षति तथा नोक्सानीमा लगानी र जलवायु वित्तजस्ता विषयमा विना सहमति टुंगियो । त्यसका लागि अष्ट्रेलिया लगायतका धनी राष्ट्रहरू बाधक बने । पेरिस सम्झौतालाई जलवायु परिवर्तनको कोशेढुंगा माने पनि त्यो बाध्यकारी सम्झौता होइन, स्वयंसेवी प्रकृतिको सम्झौता हो । त्यसकारण पेरिस सम्झौताको पालना भएमा पनि पृथ्वीको तापमान सन् २१०० सम्ममा ३.२ डिग्री सेल्सियसले वृद्धि हुने क्लाइमेट एक्सन ट्रयाकरको प्रक्षेपण छ । जबकि जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय निकाय आईपीसीसीले जलवायुको प्रलयकारी असरबाट पृथ्वीलाई जोगाउन तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने बताएको छ । यसै बीचमा बाराक ओवामा राष्ट्रपति हुँदा गरिएको पेरिस सम्झौताबाट ट्रम्पको अमेरिकाले हात झिकेपछि यसको प्रभावकारितामा थप प्रश्न उब्जेको छ ।


अष्ट्रेलियाको वर्तमान सरकार जलवायु परिवर्तनको विश्व राजनीतिमा कहिले ट्रम्पको अमेरिकासँग मिलेर (जलवायु विज्ञानप्रति अविश्वास र आक्रमण गर्न) त कहिले ब्राजिल, चीन र भारतसँग मिलेर (कोप २५ मा) सम्झौताको वातावरण बिगार्न लागिपरेको छ । कोप २५ मा अष्ट्रेलियाले आफूले क्योटो अभिसन्धिले निर्दिष्ट गरेको भन्दा बढी कार्बन उत्सर्जन घटाएकोले त्यो क्रेडिट पेरिस सम्झौताको कार्यान्वयनमा पाउनपर्ने अडान राखेको थियो । जसलाई ब्राजिल, चीन र भारतले समर्थन र १०० भन्दा बढी देशले विरोध गरेका थिए । क्योटो अभिसन्धि अनुसार कार्बन उत्सर्जन केही समयसम्मलाई बढाउन पाउने छुट पाएको विकसित राष्ट्र अष्ट्रेलियाले त्यही छिद्रमा टेकेर गरेको त्यस्तो हर्कत कोप २५ को असफलताको एउटा कारक बन्न पुग्यो । यद्यपि पेरिस सम्झौतामा पुरानो क्रेडिट पाउने बुँदा उल्लेख छैन । अष्ट्रेलियाले कोप २५ मा देखाएको उक्त चलाखीपूर्ण कदमलाई गार्डियन पत्रिकाले घरमा डढेलो लाग्दा आगोको कारक घटाउने विश्व सम्मेलनमा मोरिसन सरकार सलाइको काँटी बोकेर गएको भन्दै कटाक्षपूर्ण टिप्पणी छापेको थियो ।


अष्ट्रेलियाले विश्व मञ्चमा जलवायुबारे प्रतिगामी चरित्र देखाउनुका पछाडि वर्तमान मोरिसन सरकार र उनको पार्टीको कोइलाजस्ता फोहोरी ऊर्जाप्रतिको मोह प्रमुख छ । अष्ट्रेलिया विश्वमै कोइला बढी उत्पादन गर्ने मध्येमा चीन, भारत र अमेरिकापछिको चौथो राष्ट्र हो । अष्ट्रेलियाको कार्बन उत्सर्जन धनी देशहरूको तुलनामा कम भए तापनि प्रतिव्यक्ति उत्सर्जनमा अष्ट्रेलिया उच्च स्थानमा पर्छ । एक नेपालीले वर्ष दिनभरि गर्ने कार्बन उत्सर्जन एक अष्ट्रेलियालीले केही दिनमै गर्छ । जलवायु विश्व नीतिमा यस्तै रवैयाको कारण जलवायु परिवर्तन निस्पादन सूचांक २०२० मा अष्ट्रेलिया जलवायु परिवर्तन नीतिको लागि संसारकै खराब मुलुक बन्यो । जर्मन वाच भन्ने संस्थाले निकालेको उक्त प्रतिवेदनले मोरिसन सरकारलाई प्रतिगामी भनेको छ ।


घर बाहिर त्यस्तो चरित्र देखाइरहेको मोरिसन सरकार घरभित्र आगलागीको कारक जलवायु परिवर्तनलाई मान्न तयार छैन । मोरिसन सरकार र उनका समर्थकहरूको राय छ— अष्ट्रेलियाभर यतिखेर लागिरहेको आगोको कारण जलवायु परिवर्तन होइन, बरु जंगलमा थुप्रिएको इन्धन हो । यो अर्धसत्यमा टेकेर पुरातनपन्थी सञ्चार माध्यमहरूले जलवायु परिवर्तन पक्षधरहरूमाथि निरन्तर दोषारोपण गरिरहेका छन् । उनीहरूले जंगलमा आगलागीको इन्धन मानिने सुकेका हाँगाबिँगा त्यसै छोडिएकोले डढेलो लागेको बताइरहेका छन् । तर जंगलमा इन्धन थुप्रनुले भन्दा जलवायु परिवर्तनले आगलागीलाई यति भयावह बनाएको वैज्ञानिक दाबी छ ।


अष्ट्रेलियाको घरेलु राजनीति र वैदेशिक नीति एक दशकदेखि जलवायु परिवर्तनको पक्ष र विपक्षमा विभाजित भइरहेकोले आगलागीको समस्यामा यतिखेर घ्यु थपिएको जस्तो भएको छ । समस्याको कारकप्रतिको बुझाइ र समाधानको उपायमा यहाँका राजनीतिक दलहरू विपरीत ध्रुवमा छन् । त्यसैले अष्ट्रेलियाको यसपालीको आगो त ढिलो–चाँडो निभ्ला नै, तर आगलागीको कारक मानिएको जलवायुजन्य राजनीतिक आगो निभ्न झने निकै समय लाग्न सक्छ ।

ट्वीटर : @uttababu

प्रकाशित : माघ ४, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?