कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्वतन्त्र मन नेपालको धन

समय रेखा
अभि सुवेदी

‘हरियो वन नेपालको धन’ अब धेरै समयसम्म नरहला । भर्खरै एउटा रोमकुप तरङ्गित गर्ने मारिस्सा कुपरको लेख ‘रुखले काठमाडौंलाई बचाउला, तर के काठमाडौंले रुख बचाउला ?’ काठमाडौं पोस्ट (२ सेप्टेम्बर २०१९) मा पढेंँ । यो कुरा परिचित भए पनि उच्चरित हुँदा झल्याँस्स हुने सबैको नियति हो । विषय अर्कै छ । हरियो वन सकिए पनि नेपालका मानिसको स्वतन्त्र मन सकिँंदैन ।

स्वतन्त्र मन नेपालको धन

हामीले नेपाली जन र यो भूमिको इतिहास लेखेकै छैनौं । केही ठूलाठालु र हैकमवादीको शासनको इतिहास लेखेका छौं । यो भर्खरै गणतन्त्र भएको लोकतान्त्रिक मुलुक हो । म विश्वासले भन्छु । धेरै वर्ष दलहरूमाथि प्रतिबन्ध लागेको र तिनका नेता/कार्यकर्ताहरूले अनेकौं यातना भोगेर आएको देश हो यो । तर पनि यो देशमा राजनीतिको जति चर्चा अरु विषयको गरिँंदैन ।


त्यसका राम्रा पक्ष छन् । बहुदलीय संस्कृति ठूलो उपलब्धि हो । तर नेपालमा यो विषयलाई हेर्ने ठिक पद्धति बनेको छैन । इतिहासमा हामी जानी–नजानी ठूलै विषय, ठूलै शासक र ठूलै शक्ति हात पार्नेका छलफल धेरै गर्छौं । हामीले इतिहास हेर्ने पद्धतिका खण्ड–खण्ड छन् । फलाना–फलाना राजा वा राणाहरूले शासन गरेको एक खण्ड, तिनीहरूलाई हटाएर आएका राजनीतिक प्रणालीको अर्को खण्ड भनेर हामी इतिहास हेर्छौं ।


परिवर्तनको इतिहास छ, बुझेका छौं । परिवर्तन भएका छन्, जानेका छौं । यिनै दुइटा खण्डमा घुमिरहेको इतिहास हो, नेपालको । अरु देशका पनि यस्तै खण्डमा इतिहास लेखिने हुन् । तर पछि गएर इतिहासकारहरूले नै भने, ए, यतिमात्र होइन । यो चेतना विकासको आफ्नै इतिहास हुन्छ । त्यो हामीले हेरेका छौं त ? उत्तर हुन्छ, हेरिएको छैन । त्यसोभए के हेरेर इतिहासको गति बुझेका छौं त ? त्यसको पनि उत्तर भेटिँंदैन । कहीं गति गाँठो परेको हुन्छ ।


दलीय चेतना र संगठन हाम्रो उपलब्धि हो भने त्यसमा गाँठा पर्नु हाम्रो हार हुनसक्छ । त्यही बुझेर नेपाली कांग्रेसको मिटिङमा कांग्रेस नेता प्रदीप गिरीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भनेछन्, ‘तिमीहरू शताब्दी पुरुष हुन सक्छौ । त्यसैले बाँडेर खाओ दुईजना, तर पार्टीभित्र यस्तो फुटको वातावरणको अन्त्य गर ।’ नेपाल कम्युनिस्ट पार्टीभित्र केही नेताबीच को तल हुने, को माथि हुने विषयमा भएका झगडा र तिनका अनौठा कार्यपद्धतिका विषयमा बाहिर चर्चा भएका छन् ।


यी कुरा इतिहासलाई गलत किसिमले व्याख्या गरिने र बुझिने चलनले गर्दा आएका हुन् । अमूक दल र त्यसको नेताले ठान्छ, इतिहास भनेको मै हुँ । परिवर्तन मैले ल्याएको हो । त्यसैले ऊ भन्छ, ‘मैले ठूलो भाग खानुपर्छ ।’ बिग्रिने त्यहींबाट हो । यदि अरुले होइन, परिवर्तन ल्याउने तिमी होइनौ, जनता हुन्, इतिहास तिमी होइनौ, वर्षौंदेखि मौन रूपले वा प्रकट रूपले काम गरिरहेका अनेकौं नरनारीले ल्याएको परिवर्तनको कथा हो । इतिहास भन्यो भने ऊ मान्दैन र उग्र हुन्छ ।


मानव अधिकार आयोग र स्वतन्त्र मिडियालाई ऊ त्यसका बाधक देख्छ । उनीहरूमा भ्रम हुन्छ, परिवर्तन भनेको उनीहरूले नियन्त्रण गरेको हल्ला हो, परिवर्तन भनेको उनीहरूजस्ता केही व्यक्तिको कारणले आएको हो । तर उनीहरू के जान्दैनन् भने परिवर्तन त्यति सजिलै हुँदैनन् । निकै नरनारीले वर्षौंदेखि प्रयास गरेर परिवर्तन ल्याउँछन् । नेपालको कथा पनि त्यही हो । तलका हरपहरूमा यही विषयलाई राख्न चाहन्छु ।


नेपालमा इतिहासकार, राजनीतिशास्त्री र कर्मी अनि राजनेताहरू जो शक्ति लिने होडमा हुन्छन्, धेरैले नेपालको धन नेपालीको स्वतन्त्र मन हो भन्ने कुरा उल्लेख गर्दैनन् । हुन त सबैतिर त्यस्तै हुन्छ । स्वतन्त्र मन हुने, स्वतन्त्रता बुझ्ने नरनारीले कसरी विस्तारै अनेकौं परिस्थितिमा पनि प्रयास गरेर मुक्तिको निम्ति काम गरिरहेका हुन्छन् भन्ने सजिलै नबुझिनु स्वाभाविक हुन्छ । नेपालमा पनि त्यस्ता मौन र वाचाल दुवैथरीका मुक्तिका इतिहास छन् ।


हामीले इतिहास हेर्ने पद्धति पश्चिमी विचारकहरूबाट धेरै लिएका छौं । हेगेल र उनका चेला कार्ल मार्क्सको विचारमा इतिहास परिवर्तन भएर बढ्छ । त्यो द्वन्द्वात्मक रूपले बढ्छ । हिजो र आज फरक हुन्छन् । अर्का प्रख्यात पश्चिमी दार्शनिक हुन्, वाल्टर बेन्जामिन जसका साहित्यिक विचार हामीले प्रयोग गर्ने गरेका छौं । ती भन्छन्– ‘हिजो र आज भनेका बिजुली जुधेजस्तो अकस्मात एकैठाउँमा आएर जुध्ने द्वन्द्वात्मक खेल हुन् ।’ हामीले नेपालमा मार्क्सले भनेजस्तो इतिहासलाई गतिशील, परिवर्तनशील मानेका छौं । तर हाम्रा राजनेता र सामाजिक विचारकका व्यवहारमा इतिहासलाई गाँठो पार्ने, अगाडि बढ्न प्रेरित नगर्ने बरु बाधा गर्ने प्रवृत्ति देखिन्छ ।


नेपालमा स्वतन्त्र मनहरूको इतिहास प्रस्ट लेखिएको छैन । त्यो इतिहासका किताबहरूमा खुलाएर लेखिँंदैन । रामचन्द्र गुहाहरूले त्यस्तै अलिखित अनि लेखिने पनि सम्भावना नभएका सरल र सीमान्त नरनारीका मुक्ति संघर्षका इतिहास खोजे । अनि सवाल्टर्न अध्ययन भनेर इटालेली आन्टोनियो ग्राम्चीको शब्द प्रयोग गरेर ठेलीहरूमा प्रकाशित गरे ।


नेपालमा त्यस्तो भएको छैन । तर यहाँ केही सूक्ष्म स्वतन्त्र हुनचाहने मनहरूका कथा छन्, जसको विषयमा हामीले आफैं छलफल गरेर अर्थ निकाल्नुपर्ने हुन्छ ।


म आफू एक साहित्यकार भएको कारणले यहाँ एकाध साहित्यिक उदाहरणबाट आफ्नो तर्क राख्न चाहन्छु । पहिलो, नेपालमा साहित्यिक पत्रिकाको प्रयोगलाई अत्यन्त सूक्ष्म किसिमले हेरिनुपर्छ । नेपालमा साहित्यिक पत्रिकाहरू अधिनायकवादी र लोकतान्त्रिक शासकहरूका पालामा अनेकौं दुःखले चलिरहे । आजको ठूलापाते अखबारको युगमा ती साहित्यिक पत्रिकाहरू त्यतै पनि पसेका छन्, तर नेपालमा आफ्ना विचार विम्ब विधान मिलाएर, प्रतीक बनाएर आफ्ना मुक्तिका चाहना राख्न तिनले साहित्यिक पत्रिका भनिने माध्यमको प्रयोग गरेका इतिहास छन्, हामीसँग । एउटा यस्तो छ :


‘सम्वत् १९९१ को वर्ष । जुद्धशमशेर राणा प्रधानमन्त्री थिए । ...त्यो दिन एउटा साहित्यिक पत्रिका निकाल्ने अनुरोध गरेर केही युवाले जुद्धसामु प्रस्ताव ल्याएका थिए । यस विचारलाई सुब्बा ऋद्धिबहादुर मल्लले उठाएका थिए । केही युवा र मृगेन्द्र शमशेर, बालकृष्ण शमशेर, सरदार रुद्रराज पाण्डे यस काममा मल्ललाई मद्दत दिन उत्साहित थिए । एउटा बैठक बसेको थियो । त्यसमा ब्रिटिस राजदूत कर्णेल सी.टी. डक्स पनि सामेल थिए ।


जुद्धशमशेरले यी राजदूतको भनाइ पत्रिका खोल्न चाहनेहरूलाई सुनाउन लगाए एउटा कर्मचारीलाई । उसले विनम्रतापूर्वक सुनायो– राजदूत महोदय भन्नुहुन्छ, ‘गोरखापत्र’ छँदैछ । अर्को पत्रिका किन चाहियो ? हामीले हिन्दुस्तानमा अरु पत्रिका चलाउन खुला गरिदिँदा यस्तो आपत्ति आइरहेछ ।’ यसको केही समयपछि माघ १९९१ मा शारदा पत्रिका खोल्न जुद्धशमशेरले अनुमति दिए । (शिव रेग्मीद्वारा सम्पादित र संकलित शारदाका सम्पादकीय विचारहरू, काठमाडौ ः नेराप्र प्रतिष्ठान, २०५८, पृ. १३) ।


यो एक प्रकारले शक्ति छोड्न नचाहने अधिनायकवादी शासक र आफ्ना विचार राख्ने कुनै फोरम खोज्ने स्वतन्त्र मनहरूको बीचमा भएको बाध्यात्मक सम्झौता थियो । अङ्ग्रेजी शासकलाई हिन्दुस्तानमा पत्रिका खोल्न दिएपछि परेका चिन्ताको कथा यहाँ महत्त्वपूर्ण छ । जुद्धसँग बसेका ती राजदूतको ब्रिटिस भारतमा स्वतन्त्र विचारका वाहक साधनहरूलाई दबाउने अङ्ग्रेज शासकको चिन्ता जुद्धलाई मनपरेको प्रसङ्ग बुझ्न सकिन्छ । यो सम्झौता सानो भए पनि यसलाई साहित्यकारहरूले सम्पन्न गर्नु महत्त्वपूर्ण थियो । यसलाई मैले सिर्जनात्मक रूपले हासिल गरेको विचलनको कथा भनेको छु ।


शारदा पत्रिकाका धेरैजसो अङ्कहरू मैले एउटा शारदा र रूप–रेखा, दुई युगको प्रसङ्ग भन्ने लेख लेख्नको निम्ति पढेको थिएँ । यो लेख मेरो सिर्जना र मूल्याङ्कन (२०३९) किताबमा छ । राणाकालमा स्वतन्त्र मनका अभिव्यक्ति भएका रचना त्यो पत्रिकामा प्रकाशित भएका छन् । त्यो चेतना प्रवाहलाई म एक मौन र सिर्जनशील चक्रवात भन्छु । यदि त्यो अनि राजा महेन्द्रले पञ्चायती शासन लागू गरेपछि २०१८ सालदेखि प्रकाशित साहित्यिक पत्रिका रूप–रेखा नभएका भए स्वतन्त्र र सिर्जनशील मन भएका नरनारीका अभिव्यक्ति गर्ने फोरम हुने थिएनन् ।


यो लेखमा विषय उठाएको मात्र हुँ । यो लामो र बृहत्तर उदाहरणसहित हेर्ने विषय हो । साहित्यिक बाहेक अन्य किसिमका राजनीतिक चेतना प्रवाह गर्ने पत्रपत्रिकाहरूबाट पनि उदाहरणहरू लिनुपर्छ । मेरो भनाइको सार यस्तो छ ।


नेपालमा अधिनायकवादीका शासन ढाल्ने, जनताको अधिकारको विषयमा आन्दोलनहरू गर्ने, स्वतन्त्र विचार अनेकौं अप्ठ्यारा अवस्थामा पनि राख्ने, कुनै बेथिति देखापरे भने तिनको विरोध गर्ने, आफ्ना भाषा, पहिचान, थलोको अधिकारको निम्ति आवाज उठाउने, युगले दिएका चेतना र अधिकारको प्रयोग गर्न सधैंजसो लागिपर्ने ती मौन तर परेको बेला वाचाल हुने मनहरू भएको देश रहेछ, नेपाल । ‘नेपालको धन हरियो वन’ हुन नसके पनि स्वतन्त्र मन नेपालको धन र शक्ति हो ।

प्रकाशित : भाद्र २१, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?