१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

शब्दको सामर्थ्य

वीणा झा

महत्त्वपूर्ण पदमा बसेकाहरू प्रायःजसो शब्द चयन र संवाद शैलीप्रति त्यति संवेदनशील भएको देखिँदैन । तिनीहरू बारम्बार विवादमा आउने बिभिन्न कारणमध्ये शब्द चयन र संवाद शैली पनि एक हो । पछिल्लो उदाहरण हेरौं । आउँदो संविधान दिवसको बिदा कसरी मनाउने भन्ने सन्दर्भमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्रीका शब्द चयन र संवाद शैली चर्चाको विषय बनेको छ । 

गतवर्ष सेप्टेम्बरतिर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकियोङ हवाई अड्डाको उद्घाटनपछि सिक्किमेलीलाई गरेको सम्बोधन सामाजिक सञ्जालमा खुब मनपराइएको थियो । कारण तिनले नम्र तरिकाले नेपाली भाषामा गरेको सम्बोधन थियो । मोदीका शब्द चयन र संवाद शैलीले सिक्किमेलीहरूले सम्मानित भएको अनुभूति गरे । त्यसले मोदीको प्रतिष्ठा बढाएको थियो ।


सिक्किम भारत भित्रकै भाग हो र पनि तिनले किन त्यस्तो गरे होलान् ? सम्भवतः एउटै उद्देश्य होला, अपनत्वको अनुभूति गराउने । केही महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटप्रति बिभिन्न व्यक्ति र निकायले तिनलाई आफ्नो धरातल बिर्सेर ‘रेसियल’ अभिव्यक्ति दिएको आरोप लगाएका थिए । यसबाट के प्रस्टिन्छ भने शब्द चयन र संवाद शैलीले व्यक्तिप्रतिको दृष्टिकोण अथवा भनौं छवि निर्माणमा ठूलो भूमिका खेल्छ ।


सम्बन्धहरूको विस्तार र संकुचनलाई प्रत्यक्ष प्रभावित गर्छ । त्यसैले राज्यका महत्त्वपूर्ण पदमा आसिनहरूले शब्द चयन गर्दा संवेदनशील हुनुपर्छ । तिनका शब्द, शैली र संवादले कुनै पेसाकर्मी र सर्वसाधारणलाई उपेक्षित, अपमानित र मूल्यहीन भएको महसुस नहोस् । सरकार तिनका समस्याप्रति संवेदनशील छ भन्ने अनुभूति भइरहोस् । सार्वजनिक पद धारण गर्नेले आफ्नो इच्छालाई मात्रै केन्द्रमा राख्न मिल्दैन ।


लिखित नभए पनि समाजले पद अनुसारको मर्यादा अपेक्षा गरेको हुन्छ । सत्तासिन, प्रतिपक्षी तथा जुनसुकै तन्त्रमा पनि प्रायः सत्ता वरिपरि देखिने केही खास पदमा आसिनका शब्द चयन र संवाद शैली देख्दा हाम्रो राजनीतिक संस्कार कस्तो छ र हामी कुन युगमा छौं भन्ने प्रश्न मनमा उठ्छ । तिनका शब्द, शैली र संवादले बेलाबखत सत्ताको उन्माद प्रस्ट देखाउँछ । तिनका असंवेदनशील प्रस्तुतिले बेलाबखत सरकारलाई विवादमा समेत तान्ने गरेको अनेकौं उदाहरण छन् ।


कहिले ट्विटमा दोहोरी खेल्ने त कहिले मिडियासामु औंला ठड्याउँदै आफू ज्ञानले पूर्ण रहेको भान दिने प्रस्तुतिमा प्रयोग गरिने शब्द चयन, शैली तथा प्रस्तुतिले तिनका संवेदनहीनता प्रस्ट देखिन्छ । अहिले आम नागरिकले पत्रिका हेर्दा, टिभी खोल्दा वा सामाजिक सञ्जालभित्र छिर्दा जताततै सरकारमा बसेकाहरूको असंवेदनशील शब्द, शैली र प्रस्तुति देख्छन् ।


यसले समाज र सरकारको दूरी घटाउनुको सट्टा बढाएको छ । केही दिनअघि गृह मन्त्रालयको एक वर्षको कार्य समीक्षा सुनाउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । जुन शैलीमा निर्मला पन्तको बलात्कार र हत्याप्रति गृहमन्त्रीले शब्द चयन गरे, त्यो कुनै पनि हालतमा नेपाली समाजमा स्वीकार्य थिएन ।


निषेध र नियन्त्रण बिलकुलै फरक अर्थ दिने शब्दहरू हुन् । गृह मन्त्रालय छ । प्रहरी प्रशासन छ । न्याय सर्वोपरी हो भन्ने विश्वासले गर्दा समाजलाई ढुक्क बनाउँछ र सर्वसाधारणको ढुक्क भएर बाँच्ने आत्मविश्वास बढ्छ । तर गृहमन्त्रीका शब्द चयनले सर्वसाधारणका जीवनप्रति सम्बन्धित निकायको संवेदनशीलता कतिको छ भन्ने शंका उब्जायो । प्रयोग गरिने शब्द र शैली आफ्नालागि भन्दा पनि अरुका लागि महत्त्वपूर्ण हुन्छ । त्यसैले आफूले के सोचेर प्रयोग गरेको भन्दा पनि जसका लागि प्रयोग गरियो, तिनले के अनुभूति गरे त्यो महत्त्वपूर्ण हुन्छ ।


सम्मानित पदमा आसिनहरूलाई लक्षित गरी सामाजिक सञ्जाल र बिभिन्न मिडियामा प्रयोग गरिने अनुपयुक्त शब्द चयन र शैलीले विश्वसामु हाम्रो संस्कारलाई गिज्याउने गरेको छ । यसले भावी पुस्तालाई कस्तो संस्कार सिकाउला र समाजमा कस्तो प्रभाव पार्ला भन्नेप्रति संवेदनशील हुन आवश्यक छ । किनकि समृद्धिका लागि सम्मानको अनुभूति आवश्यक हुन्छ ।


‘दिनभरि बीपी रातभरि विप्लव’, ‘भेट्ने बानी परेकाहरूले भारतबाट आएकालाई भेटेका होलान्’ जस्ता शब्द चयन र प्रस्तुति सही र आवश्यक थिए ? के विशिष्टहरूले बोल्ने शब्द यिनै हुन् ? शब्दको सही प्रयोगले समाजलाई उत्साहित बनाउन सकिन्छ भने गलत तरिकाले प्रयोग गरियो भने निराशा र अन्योल बढाउँछ ।


अकर्मण्यताका कारण बेलाबखत कुर्सी असुरक्षित महसुस हुँदा समाजलाई त्रसित बनाउँदै बिभिन्न शब्द चयन गरेको पाइन्छ । ‘गणतन्त्र खतरामा’, ‘हाम्रो सार्वभौमिकता खतरामा’ जस्ता प्रस्तुति पनि कम खतरनाक होइनन् । सही शब्द प्रयोग गरेर बोल्दा या लेख्दा शब्दको मात्र होइन, समाजकै सामर्थ्य बढ्छ । जसले स्वस्थ समाज निर्माणमा टेवा पुग्छ ।


जुन कुरा किताबबाट भन्दा समाजबाट सिकिन्छ ।

प्रकाशित : भाद्र २१, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?