तीजको सम्झना : ‘कल्चरल ग्याप’ अनि मेरो त्यो गल्ती...

भाद्र १५, २०७६

मदनकृष्ण श्रेष्ठ

काठमाडौँ — अन्तरजातीय विवाह विरलै हुने समयमा श्रेष्ठ परिवारमा जन्मेर पनि सुवेदी परिवारको छोरीसँग अन्तरजातीय विवाह गर्नसक्ने मान्छे म । एक किसिमले समाजसँग नडराउने, अरुले के भन्लान भन्ने वास्ता नगरिकन समाजलाई पेल्नसक्ने मान्छे म । म आफूलाई हिम्मत भएकै व्यक्ति सम्झन्थें ।

म भीत्र कुनै किसिमको जातीय संकुचना छैन भन्ठान्थें । तर म भीत्र पनि अन्तरकुन्तरमा संकुचित भावना लुकिरहेको रहेछ । 

तीजको दिन थियो । मेरो मुखबाट अनायास संकुचित गलत शब्द फुत्त निस्केको थियो । जुन कारणले पत्नी यसोदाको सामु तीन/चार वर्षसम्मै म लज्जित भएको थिएँ । कहिलेकाहीँ त्यो कुरा सम्झिदा अहिले पनि नमज्जा लाग्छ । 

पछिल्ला वर्षहरुमा महिलाहरुका लागि हरितालिका तीजले एउटा राष्ट्रिय चाडकै रुप लियो । तर मेरो र यसोदाको बिहेताका तीजले अहिलेजस्तो व्यापक रुप लिईसकेको थिएन । २०२३/२४ सालतिर तीजका दिन जीतपुर फेदीबाट सुन्धारामा रहेको संचयकोषको अफिस आउँदा बालाजुतिर कतै पाँच/सातजना त कतै १२/१५ जनाको समूह समूहमा बसेर महिलाहरु थपडी बजाउँदै जुहारी जस्तो गीत गाइरहेको देख्थें । त्यतिबेला मलाई लाग्थ्यो, यो तीज भनेको काँठ तिरका बाहुनक्षेत्री दिदीबैनीहरुले मनाउने चाड हो जस्तो लाग्थ्यो । 

म हुर्केको नेवार समुदायमा तीजलाई कसैले वास्तै गर्दैनथे । नेवार समुदायका मान्छेहरुलाई तीजका दिन बाहुनक्षेत्री चेलीबेटीहरुले रातो साडी, रातै चोलो, कपालमा लपक्क तेल लगाएर रातो रिबन बाँधेको, के नमिलेको, के नसुहाएको जस्तो नजरले मात्र हेर्थे । तीजको महत्व बारे थाहै नभएको वातावरणमा हुर्केकाले होला मलाई तीजको कुनै चासो लाग्दैनथ्यो । न कुनै रौनक नै । 

एकदिन बिहानै घरबाट बाहिर निस्केको थिए । सानो काम भ्याएर बिहानको खाना खाने गरी घरभीत्र छिर्दा रातो साडी, रातै चोलो, रातो पोते, रातै चुरामा राताम्य भएकी यसोदालाई झ्वाट्ट देखें । त्यो दृश्य देख्ने बित्तिकै मेरो मुखबाट ‘छि...’ भन्ने शब्द निस्केछ । 

मेरो मुखबाट त्यस्तो शब्द के निस्केको थियो, यसोदाले आफूले कैयन बेर मिलाएर लगाएको राता लुगाहरु सबै बाङ्बुङ फुकालेर अरु बेला झैं घर बस्दा लगाउने कपडा लगाइन् । 

त्यो दृश्य देख्ने बित्तिकै उत्ति नै खेर मलाई आफ्नो गल्ती महसुस भइहाल्यो । मैले विचारै नगरी कस्तो बोल्नै नहुने शब्द बोलेछु । मैले सरी–सरी भनेर कयौंपल्ट अनुरोध गर्दा पनि यसोदाले रातो साडी लगाउँदै लगाइनन् । त्यो वर्ष मात्र हैन, त्यसपछि दुई/तीन वर्षसम्म पनि उनले तीजको दिन रातो साडी लगाइनन् ।

खासमा मैले मेरो परिवारमा कहिल्यै नदेखेको दृश्य थियो त्यो । त्यौड टोल बस्ने माईलो फुपाजु केशवलाल श्रेष्ठ दरबारमा मिर सुब्बाको रुपमा काम गर्ने भएकाले दरबारको साथ संगतले गर्दा तीजको दिन माईली फुपु हल्का रातो रंगको साडी लगाउनुहुन्थ्यो । न मलाई तीजको दिन महिला चिटिक्क पर्छन् भन्ने थाह थियो, न त्यो दिन लगाइने रातो कपडाको सांस्कृतिक महत्व नै । एक किसिमको ‘कल्चरल ग्याप’ नै थियो त्यो । 

बोल्न नहुने शब्द फुस्काएकोमा तुरुन्तै मैले आˆनो गल्ती स्वीकारीसकेको थिएँ । त्यो घटना प्रति मलाई सधैं पछुतो लागिरह्यो र यसोदाले त्यो सधैं सम्झिनै रहिन् ।

हामी दुवैले अन्तरजातीय विवाहको सुरुसुरुमा केही ‘कल्चरल क्ल्यास’ पनि हुन्छ भनेर समझदारी बनाउँदै गयौं । हामी दुईले फरक परम्परा र संस्कृतीमा ससाना कुराको पनि के कस्तो महत्व हुन्छ र त्यसले मान्छेलाई कसरी छुन्छ भन्ने संवेदनशिलता बुझ्दै गयौं । यस्तै यस्तै बुझाईले हामीलाई पाको बनाउँदै ल्यायो ।

हामी सबै जातजाति र सबै धर्मका रितीरिवाजहरुलाई आदर गर्ने हुँदै आयौं । हाम्रो अन्तरजातीय विवाह नभएको हुँदो हो त सायद धेरै वर्षसम्मै जातीय संकिर्णताले मेरो मनमा डेरा जमाएर बस्थ्यो होला । 

कवि दुर्गालाल श्रेष्ठ दाईले लेखिदिनु भएको सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल, मेचीकाली सिंगै ढिक्को साझा हाम्रो ज्यान नेपाल...बोलको गीत हामीले १५ गते टेलीफिल्ममा राखेका थियौं । उक्त गीतको भाव वास्तविकतामा हिजोआज तीजको दिन देख्छु म । विभिन्न जातिय समुदायका महिलाहरु रातो र हरियो लुगा लगाएर, चिटिक्क परेर, सबै दुःख बिर्सेर मच्चिदै छमछमी नाचेको देख्दा म आफैंलाई पनि नाच्न जाऊँ जाऊँ लाग्छ । कस्तो रमाइलो...। 


मदनकृष्ण

Link copied successfully