३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अमेरिकी चाणक्य

रमेश के.सी.

हेनरी किसिन्जर ती राजनेताहरूमा पर्छन्, जसका हरेक शब्दलाई गम्भीरताका साथ लिइन्छ । उदारवादीहरूद्वारा देवत्वकरण र वामपन्थीहरूद्वारा दानवीकरण गरिएका अमेरिकाका पूर्व विदेशमन्त्री किसिन्जर विश्व कूटनीतिका विश्वकोश हुन् ।

अमेरिकी चाणक्य

जर्मनीको बाभरियामा सन् १९३८ मा जन्मिएका किसिन्जर अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री थिए भने रिचर्ड निक्सनको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार । बौद्धिक रूपमा तीक्ष्ण, रणनीतिक र तार्किक किसिन्जरले विशव प्रसिद्ध हार्वर्ड विशवविद्यालयमा बीस वर्ष प्रध्यापनसमेत गरेका थिए ।


शीतयुद्धको चरम अवस्थामा अमेरिकी कूटनीतिको शीर्ष स्थानमा रहेका उनको लेखन पनि अत्यन्त प्रभावशाली मानिएको छ । यिनै किसिन्जरको पाँच दशकभन्दा लामो प्राज्ञिक र कूटनीतिक जीवनलाई चिन्तक एवं लेखक वाल्टर आइज्याक्सनले बेलिविस्तार लगाएका छन्, पुस्तक ‘किसिन्जर’ मा ।


दोस्रो विश्वयुद्धताका यहुदी विरोधी नाजीहरूको उदय भइरहेको जर्मनीबाट आप्रवासीको रूपमा न्युयोर्क आएका किसिन्जरको यो असुरक्षा भाव पछिसम्म रहेको लेखक बताउँछन् । एउटा महत्त्वाकांक्षी यहुदी केटा कसरी अमेरिकी शक्तिको करिडोरमा पुग्यो भन्ने कथालाई लेखकले अनुसन्धानमार्फत व्यक्त गरेका छन् । न्युयोर्कमा लेखापाल पदबाट जागिर सुरु गरेका किसिन्जर पछि दोस्रो विश्वयुद्धकालमा सेना हुँदै हार्वर्डको विद्यार्थी र प्राध्यापक बने । पुस्तकमा किसिन्जरको प्राज्ञिक जीवनको विवरण आइज्याक्सनले दिएका छन् ।


कूटनीतिक जीवनमा किसिन्जर जहिले पनि विवादास्पद बने । उनको समयमा अमेरिका भियतनाम युद्धमा फँसेको थियो । दक्षिण–पूर्वी एसियामा साम्यवादको विस्तार र प्रभाव रोक्न लडिएको यो युद्धका प्रमुख योजनाकारका रूपमा किसिन्जर आलोचित छन् । भियतनामको युद्धको भूमिकालाई लिएर नोबेल शान्ति पुरस्कार पाए पनि उनी त्यहाँ भएको बमवर्षाका कारण नरसंहारका निम्ति बदनाम नै बने ।


सन् १९७२ मा चीनसँग सम्बधको सुरुवात नै किसिन्जरको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । तत्कालीन प्रतिस्पर्धी सोभियत संघबाट चीनलाई साम्यवादी गठबन्धनबाट रोक्न उनले सन् १९७२ मा राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा राष्ट्रपति निक्सनलाई चीनको भ्रमण गराएका थिए ।


अत्यन्त चलाख चाणक्य किसिन्जर साम्यवादी सोभियत संघसंँग चीनको गठबन्धन नहोस् भन्ने चाहन्थे । उनले चीन–सोभियत मतभेदको फाइदा उठाए । यसै कालमा चीन र सोभियत संघबीच सीमायुद्ध भएको थियो । को अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको केन्द्र बन्ने भन्ने विवाद थियो । सन् १९७२ को अमेरिकी–चीन सम्बन्धले गर्दा आजको चीन सम्भव भएको हो । जसको श्रेय किसिन्जरलाई जान्छ । जसको विस्तृत विवरण उनले ‘अनचाइना’ पुस्तकमा दिएका छन् ।


प्रसिद्ध ‘टाइम’ पत्रिकाका प्रबन्ध सम्पादक र सीएनएन टेभिभिजन सीईओ भइसककेका लेखक आइज्याक्सन अहिले अस्पिन इन्स्टिच्युटका प्रमुख हुन् । किसिन्जर मूलतः युरोपेली चिन्तन र परम्पराका कूटनीतिज्ञ हुन् । स्नाकोत्तर पढ्दै उनले युरोपेली राजनेता विश्मार्क र कूटनीतिज्ञ म्याटरनिखबारे थेसिस लेखेका थिए ।


अन्तर्राष्ट्रिय राजनीतिमा यथार्थवादी धाराका कूटनीतिज्ञ किसिन्जर राष्ट्रपति विड्रो विल्सनको आदर्शवादी धाराभन्दा भिन्न छन् । जहिले पनि शक्ति सन्तुलनमा जोड दिने किसिन्जरले शीतयुद्धको जटिल अवस्थामा पनि तत्कालीन सोभियत संघसित आणविक हतियार सम्बन्धी साल्ट सन्धिबारे सोभियत नेता ब्रेजनेभसंँग वार्ता गरेका थिए । तर उनलाई सोभियत साम्यवादको पतनका लागि योजनाकारका रूपमा चिनिन्छ ।


उनले अमेरिकाको विश्वव्यापी भूमिका बढाउन अहम् भूमिका खेलेका थिए । मध्यपूर्वको शान्ति प्रक्रियालाई इजिप्टका नेता सदातसँग समझदारी गरे भने हाम्रै दक्षिण एसियाको बंगलादेशको स्वतन्त्रता संग्राममा पाकिस्तानप्रति झुकाव राखेका थिए । पूर्वी युरोपबाट सोभियत प्रभाव कम गर्न उनले कूटनीतिक कसरत गरे ।


अहिले ९५ वर्षको उमेरमा पनि किसिन्जर पुस्तक लेखनमा व्यस्त छन् । उनको पछिलोपटक प्रकाशित पुस्तक ‘वर्ल्ड अर्डर’ हो । किसिन्जर सञ्चार माध्यमहरूका लागि कसरी सेलिब्रेटी बने भन्ने बारेमा लेख्न लेखकले एक भाग नै खर्चिएका छन् । विशेष गरेर भियतनाम युद्धमा कम्बोडियामाथि भएको बमवर्षाको दोषी किसिन्जरलाई ल्याटिन अमेरिकी देशहरूमा कम्युनिष्ट दबाउन एकाधिकारवादी शासकहरूलाई सघाएको आरोप वामपन्थी पत्रकार क्रिस्टोफर हिचेन्सले लगाएका छन् ।


सन् १०४८ मा जन्मिएको युरोप केन्द्रित वेस्टफेलिया विश्व व्यवस्थाका पक्षधर किसिन्जर अहिले पनि विश्वमा अमेरिकाको अविचलित नेतृत्व हुनुपर्छ भन्ने मान्यता राख्छन् । चीनको उदयलाई व्यवस्थापन गर्न उनी एसिया प्रशान्त समूह बनाउनुपर्ने अडानमा छन् । जहाँ जापान, अष्ट्रेलिया र भारत संलग्न हुनेछन् ।


जीवनको पछिल्लो चरण किसिन्जर एसोसिएट नामक सल्लाहकार फर्म खोलेर सक्रिय उनी संसारका विभिन्न सरकार तथा व्यापारी कम्पनीहरूसँग काम गरिरहेका छन् । अत्यन्त महत्त्वाकांक्षी र बौद्धिक क्षमता भएका किसिन्जरको जीवन विशेषतः कूटनीति सम्बन्धी चिन्तन र नीतिले भरिएको छ । यिनै अमेरिकी चाणक्यको जीवन कथा आइज्याक्सनले भनेका छन् ।


‘न्युक्लियर वेपन एन्ड फरेन पोलेसी’ नामक किताबबाट प्रशस्त चर्चा कमाएपछि अमेरिकी विदेश नीतिको संस्थापन पक्षको आँखामा परेका किसिन्जर हार्वर्डको प्राध्यापक जीवनबाट राष्ट्रपति निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । पूर्व प्राज्ञिक हान्स मोर्ग्यान्थ्युको यथार्थवादी विचारधाराका पक्षपाती किसिन्जरलाई कठोर कूटनीतिक अभ्यासकर्ताको रूपमा पनि लिइन्छ ।


भनिन्छ— उनी विश्व राजनीतिकको शक्ति सन्तुलनका लागि द्वन्द्व पनि सहन तयार छन् । आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रैथाने राष्ट्रवाद र लोकप्रियतावादको सिकारबाट अमेरिका विश्व रंगमञ्चबाट पछाडि फर्किरहेको छ । यस्तो अवस्थामा अमेरिकी शासकहरूका लागि यो पुस्तक पक्कै लाभदायी हुनेछ ।


भावना र आदर्शभन्दा शक्तिको राजनीतिमा रुचि राख्ने किसिन्जरको सन् १९४५ पछि विश्वमा अधिपत्य जमाउन सफल अमेरिकाको हैसियत घट्दै गइरहेको छ । अमेरिकी साम्राज्यको क्षयले पक्कै पनि किसिन्जरजस्ता राजनेतालाई चिन्तित तुल्याउनु स्वाभाविक हो । किसिन्जरको यो जीवनी त्यो युगको कथा हो, जहाँ अमेरिकाले चुनौतीपूर्ण कालखण्ड गुजारेको थियो । यही कालखण्डको दस्तावेजका रूपमा यसलाई पढ्नुपर्ने हुन्छ ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?