सहरी छाउसँगको संघर्ष

सुभेच्छा भण्डारी

काठमाडौँ — ‘घामतिर नहेरी हिँडेस् नि’, भान्छाको झ्यालबाट नियालेर हेरिराख्नुभएकी आमाले बाहिर निस्केर भन्नुभयो । कालो, लामो कपालमा ठूला राता रिबन । माथि सेतो कमिज अनि तल फुर्र परेको जामा । शिशु कक्षादेखि ८ सम्मको रातो जामासँगको त्यो यात्रा । साँचिकै रातो रङसँग नै प्रेम बसिसकेको थियो ।

रातो रङजस्तै गाडा प्रेम । त्यसमै रङ्गिएकी म घर बाहिर रहेको कोठाको झ्यालमा आफ्नो प्रतिविम्ब नियालिरहेकी थिएँ । आमाको बोली सुनेपछि उहाँलाई पुलुक्क हेरेँ । थोरै रिसमा, धेरै जिज्ञासु भावमा । प्रतिक्रियामा के भन्ने मसँग
जवाफ थिएन ।

घरको छेल पर्दै गेटबाट बाहिर निस्किएँ । त्यसैगरी बाहिर निस्किँदै थिए, मनको बाँध फुटेर जिज्ञासाका भेलहरू । घामलाई चाहिँ किन नहेर्ने होला भन्ने सोचले डोर्‍याउँदा–डोर्‍याउँदै आधा बाटो हिँडिसकेछु, पत्तो भएन । मुन्टो तल झुकाएर, कुनै अपराधपछि मान्छेले चिन्छन् भन्ने डरले अनुहार लुकाएको अपराधीजस्तै अघि हिँडिरहेँ म ।

टिँटिट्...। नजिकै आएर एउटा गाडीले हर्न बजायो । झस्केर मुन्टो माथि उठाउँदा त आफ्नै दाइ । मलाई हेरेर मुसुक्क
हाँस्नुभयो । हर्नको आवाजको झस्काइभन्दा दाइलाई देखेपछिको झस्काइ बढी भयावह भयो । सम्झिएँ, आमाले घरका छोरामान्छेको अनुहार नहेर्नु भनेको । अनि मुन्टो झुकाउँदै केही नबोली फटाफट पाइलाको गति बढाएँ ।
साँच्चिकै प्रतिघन्टाको दरमा काटिँदैथिए मेरा स्वतन्त्रताका पखेटा रनिसास्सिएका आशाहरू बैसाखीको सहाराले अघि बढ्दै थिए ।

विद्यालयको गेटमा पुग्दा मेरा पाइलामा स्वतः ब्रेक लाग्यो । विद्यालय शिक्षाको मन्दिर । र मन्दिरभित्र नछिर्ने नियम आमाले बनाइदिनुभएको सूचीको पहिलो नम्बरमा थियो । यसपाली म छिरेँ । नियम तोडेर म भित्र छिरेँ । ढुङ्गाको मूर्तिलाई नछुने आज्ञा विपरित मैले सजिव मेरा शिक्षाका देवी र देवतालाई छोएँ । पूजाको थालीरूपी कापी–किताब खोली मेरो भविष्य रङ्गाउने मन्त्रोच्चारण गर्न थालेँ । दुर्भाग्यवश मैले धेरै माया गर्ने रातो रङले भने मलाई आफ्नो काबुमा राख्न थालिसकेको थियो ।

यसरी मेरो रातो जामा पछाडि झुक्किएर लागेको रातो दागले कतै मलाई हाँसोको पात्र बनाउँछ कि भन्ने डरले मेरा अनगिन्ती महिना बितिरहे । विद्यालयको रातो जामाभन्दा कलेजको निलो जामा पछाडिको दाग बढी शक्तिशाली ठहरियो । मेरो प्यारो रातो रङ मेरालागि रातो ट्राफिक बत्ती जसरीस्टपको सिग्नल बन्यो, जसले मेरो स्वतन्त्रतालाई निचोरेर त्यसको रसले सामाजिक कुरीतिलाई पोसिरह्यो ।

‘छाउगोठमा सर्पको टोकाइबाट १ महिलाको मृत्यु’ । एक गाँस चाउमिन मुखमा हाल्दै एउटा साथीले मोबाइलको स्क्रीन हेर्दै सुनाइन् । त्यसपछि चाउमिन गला तल पुर्‍याउँदै भनिन्, ‘यो छाउगोठको आतङ्क के हो यस्तो ? कता कता रहेछ हो मित्र यो आतङ्कको असर ?’

स्नातक पढ्दै गर्दा देशका घटना र सामाजिक विषय–वस्तुका गफले चाउमिन र समोसाका प्लेटसँगै टेबुलमा ठाउँ पाएको थियो । दुई प्रश्न उनको मुखबाट खस्न नपाउँदै तर्कको ओइरो लाग्यो । ती प्रश्नले मलाई भने सोचमग्न बनाइदिए । त्यही सोचको फलस्वरुप सेमिनारको टपिक रोजेँ ‘छाउपडी इन नेपाल’ ।

एउटा माकुरा आफूले बनाएको जालोमा सिकारको खोजीमा टहलिएझैँ टहलिएँ म इन्टरनेटको जालोमा । मैले खोजेँ, पढेँ । सुदूर पश्चिमका छाउका छाप्रामा कुक्रुक्क परेर बसेका तीखुट्टाको दुखाइ पर्दा बाउँडिए मेरा खुट्टा । तिनै छाप्रामा निसास्सिएका पलहरू सोच्दा मेरा सुस्केरा छुटे ।

एउटा सेमिनार सकेर स्लाइडमा भएका तस्बिरमा प्रस्ट भावले अमिलिएको मेरो मन लिएर घर पछाडिको आँगन टेक्दा गिज्यायो, मलाई त्यो कन्क्रिट कोठाले । गिज्यायो, त्यो झ्यालको सिसाले जसमा म रातो पोसाक लगाएपछिको आफ्नो रूपलाई नियाल्थेँ ।

त्यो सेमिनारको अन्तिम स्लाइडमा त्यतिबेला मैले आफ्नो तस्बिर पनि हुनुपर्ने महसुस गरेँं— एउटा निलो कन्क्रिट छाउगोठको चिसो भुइँमा काला थाङ्नामाथि कक्षा ८ को तयारी गरिरहेकी म ।

फराकिलो थियो, म बसेको छाउगोठ । ढोका पनि अग्लो । निसास्सिनलाई आगोको धुवाँ थिएन । अगाडि नै थियो धारो, रगतले निथ्रुक्क भएका कपडा धुन । तर बेलुका घाम अस्ताएपछि मात्र । साँच्चिकै लुगा धुँदा रातो पानीसँगै बगेको मेरो आत्मबल समेट्न कुरेका दिन निकै सङ्घर्षपूर्ण थिए । शारीरिकभन्दा कैयौँ गुणा मानसिक रूपले । धर्म र सामाजिक रीतिको ढिकीमा पिसिएका मेरा प्रश्नले पनि कुनै अस्तित्व पाएनन्, त्यतिबेला ।

नौ वर्षअघि दबिएका ती प्रश्नलाई आज पनि समाज हरेक पल दबाउने चेस्टा गर्छ । सुदूर पश्चिमका व्यथा र ग्रामीण परिवेशका चलनचल्तीलाई औँल्याउँदै गर्दा मानिस आज आधुनिकताको व्याख्यामा अझै प्रचलित कन्क्रिट छाउगोठलाई समावेश गर्न बिर्सिन्छ । स्वतन्त्रतालाई निमोठेर लैङ्गिक विभेदलाई ऊर्जा दिने कुरीतिलाई मानिस च्वाट्ट छोड्न डराउँछ । देवीको पूजा गरेर घरकी सजीव देवीलाई रातो अविरले रङ्गाउन अनगिन्ती मानिस आज पनि समाजको स्वीकृति पत्रको पर्खाइमा बस्छन् ।

बनेका नियमलाई चुनौतीस्वरुप छाउगोठको प्रचलनलाई नियमितता दिँदै सृष्टिकर्ताको मृत्युको तमासा हेर्ने समाजले कुन हदसम्मको अमानवीयताको परिचय दिँदैछ ? आधुनिकताको मुकुट लगाएर सहरी छाउपडीलाई ऊर्जा दिने मानसिकतामा परिवर्तन ल्याउन तपाईँको भूमिका के ?

प्रकाशित : श्रावण ३२, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

बिचौलिया

सिउँडी
विमल निभा

काठमाडौँ — यतातिर पार्टी र सरकारको कुरा मिलिरहेको छैन भन्ने कुरा बाहिर आएको छ । यो कुरा बाहिर आइसकेपछि मैले झट्ट समातेर एक पार्टीको कमरेडसँग सोधेंँ, ‘के तपाईंहरूका सरकारसँग कुरा मिलिरहेको छैन कमरेड ?’ ‘कुन सरकार ?’ उनले पनि मसँग झट्ट सोधे ।

‘तपाईंहरूकै सरकार, अरु कुन सरकार ?’

‘म आफैं सरकारमा छु ।’ उनको निधार खुम्चियो, ‘मेरो मसँग कुरो किन मिल्दैन ?’
कमरेड भर्खरै मन्त्री बनेकाले मसँग यस्तो चुक हुनगयो । तर मन्त्री पनि पार्टीकै हुन् नि ! अनि पार्टीसँग कुरो किन मिलिरहेको छैन त ? त्यसैले मैले म अघि उभिएका मन्त्रीसँग भनेंँ, ‘तपाईहरूका पार्टीसँग कुरो मिल्दैन मन्त्रीज्यू ?’
‘के कुरा गर्नुभएको ?’ उनले मेरो कुराको आशय बुझ्न खोजे ।

‘मेरो कुरा स्पष्टै छ नि, सरकार र पार्टीको कुरो किन मिलिरहेको छैन ?’
‘वास्तवमा कुरो के हो भने हामीले यो कुरा बुझ्नसकेको छैन, पार्टीको कुरो के हो ?’ उनले गम्भीर भएर भने, जब कुरा नै बुझिँदैन भने कुरो कसरी मिल्छ ?’

‘त्यसो भए, पार्टीको कुरो कसरी बुझ्ने त मन्त्रीज्यू ?’
यसको जवाफमा सरकारका तर्फबाट सरकारी मन्त्रीले म सम्मुख जे–जे कुरा गरे, त्यो कुरा मैले बुझ्न सकिन । त्यसउसले कुरा बुझ्नैपर्‍यो भनेर मैले एक वरिष्ठ पार्टी कमरेडसँगकुरा गरेँं, ‘आखिर कुरो केहो कमरेड ?’
‘के कुरा ?’ उनले उल्टै मसँग नै सोधे ।
‘पार्टी र सरकारको कुरो के हो ?’
‘के पार्टी र सरकारको कुरा ?’

‘सरकार र पार्टीको कुरो किन मिलिरहेको छैन कमरेड ?’ मैले कुरा स्पष्ट पार्न खोजेँं, ‘कुरो के हो ?’
‘यसमा कुरो नै यही हो कि सरकारसँग हाम्रो कुरो मिलिरहेको छैन, अरु कुरो के छ ?’
‘तर सरकारका मानिसहरू भनिरहेका छन्, पार्टीको कुरो नै बुझिएको छैन, कुरोके हो ?’

‘जब सरकार हाम्रो कुरा नै बुझ्दैन भने अरु कुरा के गर्ने र ?’ वरिष्ठ पार्टी कमरेडले एउटा लामो सास फेरेर भने, ‘असलमा कुरो यही हो ।’

मलाई पार्टी र सरकारको कुरा गजब लाग्यो । सरकार एउटा कुरा गर्छ र यसको जवाफमा पार्टी अर्को कुरा । जब दुवैका कुरा नै बेग्लाबेग्लै छ भने त्यो कुरा कसरी मिल्छ त ? यो कुरा मिलाउन पार्टी र सरकारले एउटै कुरा गर्नुपर्‍यो, अनि कुरा त्यसै मिल्नेछ । यसमा गाह्रो कुरा के छ ? अब सरकार र पार्टीले दुई थरीका कुरा गरेर मिलेन भन्न मिल्छ त ? त्यो कुरा त मिल्दैमिल्दैन नि ! अँ, एउटा कुरा, असलमा कुरो के हो भने मैले भेटेको वरिष्ठ पार्टी कमरेडको पनि मन्त्री बन्ने कुरा चलिरहेको छ । यस्तो हुने हो भने त सरकारसँग कसो कुरा नमिल्ला ? तर यो पनि आंशिक समाधान हो ।
ठूला–ठूला सरकारी ठेक्का लिने ठेकेदार र सरकारको कुरा मिलाउने एक बिचौलियासँग मेरो भेट भयो । अचेल उनी पार्टी र सरकारको कुरा मिलाउन लागिरहेका छन् । मलाई पनि पार्टी र सरकारमा दिलचस्पी लिएको देखेर उनी मुस्कुराए, ‘तपाईं कुरै बुझ्नुहुन्न ।’

‘के कुरा बुझिन मैले ?’ साँच्चिकै कुरा नबुझेरभनेंँ मैले ।
‘यो अरुका कुरामा नचाहिँंदो इन्ट्रेस्ट लिने व्यंग्यकार–स्यंग्यकारले बुझ्ने कुरै होइन ।’
‘के कुरा ?’
‘मैले सरकारसँग कत्रो–कत्रो ठेक्काको कुरा मिलाइसकेँं भने यो के कुरा हो र ?’ उनको स्वरमा आत्मविश्वास थियो, ‘म भोलि नै बालुवाटारजाँदैछु ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यू पार्टीका अध्यक्ष पनि होइनन् र ?’ मलाई चुपचाप टोलाइरहेको पाएर उनले थपे, ‘तपाईंहरू कुरै बुझ्नुहुन्न ।’

‘के कुरा ?’ मेरो बकफुट्यो ।
‘हेर्नोस्, पार्टी अध्यक्ष रहेका सम्माननीय प्रधानमन्त्रीज्यूसँग कुरा मिले सबै कुरा मिलेन त ?’ उनले हाँसेर भने, ‘पार्टी र सरकारको कुरा जरुर मिल्नेछ ।’

प्रकाशित : श्रावण ३२, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्