कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्लास्टिकको प्रयोग कसरी कम गर्ने ? 

सन्दर्भ : विश्व वातवरण दिवस
‘प्लास्टिक प्रदूषण निर्मूल पारौँ, सकेसम्म पुन: प्रयोग नसके बाहिष्कार गरौं’
गोविन्द पोखरेल

काठमाडौँ — २०७२ साल वैशाख १ गते सरकारले काठमाडौंमा प्लास्टिक झोलालाई पूर्ण रुपमा प्रतिबन्ध लगायो । यसको सिकै गर्दै मुलुकका अन्य नगरपालिकाहरुमा पनि प्लास्टिकका झोला निषेधित गर्न थालियो । धमाधाम प्लास्टिक झोला नियन्त्रण अभियान चलाइयो । बोराका बोरा प्लास्टिक झोलाहरु नियन्त्रणमा लिइयो ।

प्लास्टिकको प्रयोग कसरी कम गर्ने ? 

प्लास्टिक झोला नियन्त्रण अभियान चलिरहँदा वैशाख १२ गते महाभूकम्प गयो । भूकम्पपछि प्लास्टिक झोलाको प्रयोग ह्वातै बढ्यो । हिजोआज काठमाडौं लगायत मुलुकका अधिकांश सहरमा प्लास्टिकजन्य फोहोरको थुप्रो छ ।


काठमाडौं महानगरिपालिकाको वातवरण व्यवस्थापन महाशाखाका अनुसार काठमाडौंमा निस्कने फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको मात्रा १५ प्रतिशत छ ।


जुन ५ तारिख विश्व वातवरण दिवस । यो वर्षको नारा प्लास्टिकसँग सम्बन्धित छ । त्यही भएर प्लास्टिकको चर्चा पुन: चल्न थालेको छ । काठमाडौंमा प्लास्टिकजन्य फोहोरहरु संकलन गर्दै प्लास्टिक प्रदूषण नियन्त्रणका लागि प्रयास थालिएको छ ।


‘प्लास्टिक प्रदूषण निर्मूल पारौँ, सकेसम्म पुन: प्रयोग नसके बाहिष्कार गरौँ’ भन्ने नाराका साथ यो दिवस संसारभर मनाइँदै छ । नेपालमा सरकारी तवरबाट प्लास्टिकजन्य फोहोर र प्लास्टिक प्रदूषण सम्बन्धि देशव्यापी रुपमा वैज्ञानिक अनुसन्धान भएको पाइँदैन । दस्तावेजको नाममा सन् २०१३ मा एसियाली विकास बैंक (एडीबी)ले नेपालको सहरी फोहोर व्यवस्थापन सम्बन्धि तयार गरेको एउटा रिपोर्ट मात्र छ ।


एडीबीले त्यसबेला ५८ वटा नगरपालिकामा अनुसन्धान गरेको थियो । एडीबीको रिपोर्टमा कूल फोहोरमध्ये १२ प्रतिशत फोहोर प्लास्टिकजन्य रहेको उल्लेख छ । ५ वर्षअघिको रिपोर्टमा यस्तो नतिजा छ आएको थियो भने अहिलेको अवस्थामा फोहोरमा प्लास्टिकको मात्रा बढेको छ ।


प्लास्टिक एक प्रकारको पोलिमर हो जुन धेरैवटा मोनोमरहरु मिलेर बनेको हुन्छ । यो हत्तपत्त कुहिँदैन । पोलिथिन कम घनत्व भएको प्लास्टिक हो । यसलाई एकपटक प्रयोग गरेपछि पुन: प्रयोग गर्न मिल्दैन । यही गुणका कारण पोलिथिन झोलालाई प्रतिबन्ध गर्न खोजिएको हो ।


पछिल्लो दशकमा विश्वमा एक शताब्दीमा उत्पादन भएकाभन्दा बढी मात्रामा प्लास्टिक उत्पादन भएको छ । दैनिक रुपमा प्रयोग हुने ५० प्रतिशत प्लास्टिक एक पटक प्रयोग भएर फ्याँकिन्छन् ।

विश्वमा वार्षिक ५ खर्बवटा प्लास्टिक ब्यागहरु खपत हुने गरेको यूएन इन्भारोन्मेन्टले जनाएको छ । सन् २०१६ मा ४ सय ८० बिलियन वटा प्लास्टिकको बोतल विक्री भएको थियो । यस्ता बोतलहरुलाई धेरैजसो एकपटक प्रयोग भएपछि पुन: प्रयोगमा आउँदैनन् । विभिन्न माध्यम हुँदै समुद्रमा पुगेर प्रदूषण गरिरहेका हुन्छन् ।


संयुक्त राज्यको वातवरणीय कार्यक्रमका अनुसार विश्वमा कूल उत्पादित प्लास्टिक मध्ये कृषि क्षेत्रमा ३ दशमलव ३ प्रतिशत,इलेक्ट्रोनिकमा ५ दशमलव ८ प्रतिशत, अटोमोबाइल्समा ८ दशमलव ९ प्रतिशत, निर्माण क्षेत्रमा १९ दशमलव ७ प्रतिशत,उपभोक्ता(सामाग्री,खेलकुद,स्वास्थ्य)ले २२ दशमलव ४ र बाँकी ३९ दशमलव ९ प्रतिशत प्लास्टिक प्याकेजिङ उद्योगमा प्रयोग हुने गरेको छ । कम रकममा खरिद गर्न सकिने र टिकाउ हुने भएकाले प्लास्टिकको प्रयोग बढीरहेको छ ।


बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुमा प्लास्टिक कभर बढी भेटिन्छन् । यस्ता प्लास्टिकहरु एक पटक प्रयोग भएर पुन:प्रयोगमा आउँदैनन् र प्रदूषण बढाउँछन् । प्याकेजिङ उद्योगहरुले प्लास्टिक कभरको विकल्पमा कागजको कभर प्रयोग गरे प्लास्टिक प्रदूषणलाई केही हदसम्म रोक्न सक्छन् ।


प्लास्टिकजन्य फोहोरको कुरा गर्ने हो भने विश्वमा वार्षेनी ३० करोड टन विर्सजन हुने गरेको छ । यो फोहोरको तौललाई तुलाना गर्ने हो भने संसारका सबै मानिसहरुको तौल बराबर हुन जान्छ ।


लामोसमयसम्म टिकिरहने र पुर्ण रुपमा माटोमा विलिन हुन प्लास्टिकलाई धेरैसमय लाग्छ । धेरै पुराना प्लास्टिकका स–साना टुक्राहरु पानीमा बस्ने जीवहरुले खानासँगै लिन्छन् । यसले पानीको पारिस्थितीक पद्दतीलाई असर गर्छ । प्लास्टिकमा जमेको पानी लामखुट्टे जस्ता जीवहरुको क्रिडा स्थल बन्छ । उनीहरु त्यही फैलन्छन् र विभिन्न सरुवा रोगहरुको संक्रमण बढाउन मद्दत पुर्‍याइरहेका हुन्छन् ।



अहिल्यैको रफ्तारमा प्लास्टिकको प्रयोग भइराख्ने हो भने सन् २०५०सम्म समुद्रमा माछाको संख्याभन्दा प्लास्टिकको संख्या धेरै हुने वैज्ञानिकहरुले भविष्यवाणी गरेका छन् ।


प्लास्टिकको प्रयोग घटाउन राष्ट्र एक्लैले सक्दैन । सबै क्षेत्रको सहयोग अपरिहार्य छ । सबैले आ–आफ्नो व्यक्तिगत तवरबाट प्लास्टिक प्रदूषणलाई घटाउन सकिन्छ ।


तीव्र आर्थिक वृद्धिदर भएका मुलुकहरुमा प्लास्टिकको प्रयोग बढी हुने गरेको छ । अमेरिका,जापान तथा अन्य युरोपियन मुलुकहरुले प्लास्टिकको उत्पादन घटाउने ध्यानमा छन् । ती देशहरुले प्लास्टिकलाई पुन प्रयोग र व्यवस्थापकीय पक्षमा जोड दिन थालेका छन् ।


चीन विश्वको सबैभन्दा बढी प्लास्टिक उत्पादन गर्ने मुलुकको रुपमा चिनिन्छ । विश्वमा उत्पादन हुने कूल प्लास्टिकमध्ये २८ प्रतिशत चीनमा उत्पादन हुन्छ । सरसर्ती हेर्दा प्लास्टिक उद्योगले धेरैको जीवनस्तर उकास्नुको साथै आर्थिक वृद्धिदर पनि बढाएको देखिन्छ भने अर्कोतर्फ प्लास्टिक प्रदूषणको समस्या पनि उतिकै देखिएको छ ।


जमिन प्रदूषणमा प्लास्टिकले भूमिका खेलिरहेको हुन्छ । यसले माटोको उर्वर क्षमता घटाउदै उत्पादनमा कमी ल्याउँछ । यसरी प्लास्टिकले वातवरणलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ ।


र, अन्त्यमा प्लास्टिक प्रदूषण नियन्त्रण गर्ने हो भने यसको प्रयोगलाई हामी कम गर्न सकिन्छ । सकेसम्म पुन: प्रयोग गर्न सकिदैन भने यसलाई प्रयोग नै नगरिदिने । हाटबजारमा जाँदा प्लास्टिक झोलाको विकल्पमा पटकपटक प्रयोग गर्न मिल्ने खालका झोला प्रयोग गर्न सकिन्छ । सकेसम्म प्लास्टिकलाई जथभावी नफाल्ने,प्लास्टिक कभरको विकल्पमा कागजको प्रयोग गर्ने,प्लास्टिकलाई एक ठाँउमा राख्न सके केही हदसम्म यसलाई नियन्त्रण गर्न सकिन्छ ।


हाम्रो मुलुकमा प्लास्टिकजन्य फोहोर सम्बन्धि छुट्टै बृहत रुपमा अनुसन्धान भएको पाइँदैन । विरलै रुपमा कुनै क्षेत्रमा लक्षित गरी विद्यार्थीहरुले शोधपत्र तयार गरेका छन् ।


राज्यले प्लास्टिक नियन्त्रणका लागि अभियान र पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका विकल्पमा सर्वसाधरणहरुलाई प्लास्टिकको प्रयोगमा निरुत्साहित गर्न सके प्लास्टिकको प्रयोग स्वत: रुपमा घट्छ । सरकारले प्लास्टिकको नियन्त्रण र व्यवस्थापनलाई ध्यान दिँदै यस सम्बन्धि गहन खोज र अनुसन्धान जरुरी छ ।


प्रकाशित : जेष्ठ २२, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?