आइतबार बिहान थाहा नगरपालिका–१० का ४१ वर्षीय आसमान गोपालीको शव राजमार्ग किनारमा फेला परेको थियो ।
What you should know
हेटौँडा — थाहा नगरपालिका–१० का ४१ वर्षीय आसमान गोपालीको हत्या आरोपमा मकवानपुर प्रहरीले ६ महिलासहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक होटल सञ्चालक समेत छन् ।
हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै आइतबार बिहान गोपालीको शव राजमार्ग किनारमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा बकैया–५ का ४० वर्षीय कमान सिंह माझी, हेटौंडा–१७ का २४ वर्षीय रविन चेपाङ रहेका छन् । यस्तै सिन्धुली घ्याङलेख–२ की ३३ वर्षीया निरु तामाङ, उदयपुर चौदण्डी–७ की ३१ वर्षीया मनिषा क्षेत्री, कैलाश–९ की २२ वर्षीया पार्वती ब्लोन, मनहरी–३ की ३४ वर्षीया राममाया थिङ, नुवाकोट पञ्चकन्या–५ की २२ वर्षीया मोनिका थिङ र ललितपुर गोदावरी–७ की ३५ वर्षीया आशिका लामा पनि पक्राउ परेका छन् ।
हेटौंडा–११ स्थित होटलमा ३ वटा कोठा बुक गरेर बसेका सबैलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानाएको छ । प्रहरीका अनुसार गोपालीसहित ६ जनाले कोठा बुक गरेको र आपसी विवादका कारण घटना भएको प्रारम्भिर अनुसन्धानमा खुलेको छ । शव आसपास रगत देखिएपछि थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । घटनाको अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट ट्रयाकर कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो ।
घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी अनुसन्धानका लागि होटल सञ्चालकसहित होटलमा राति बस्नेहरूलाई नियन्त्रणमा लिएका छौं,’ प्रहरी उपरीक्षक श्यामवहादुर खत्रीले भने, ‘उक्त घटनाका दोषी पत्ता लगाउन नजिक पुगिसकेका छौँ । मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ । मृतक गोपाली चौपाया व्यापारी हुन ।
