चितवनमा ग्यास सिलिन्डर पड्कँदा १ को मृत्यु, १ जना सख्त घाइते

घटनामा भरतपुर महानगरपालिका-१२ बस्ने ३० वर्षका प्रमोद कोइरालाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

श्रावण ८, २०८३

रमेशकुमार पौडेल

One killed, one seriously injured in gas cylinder explosion in Chitwan

चितवन — एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा शुक्रबार चितवनमा एकजनाको निधन भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । 

घटनामा भरतपुर महानगरपालिका-१२ बस्ने ३० वर्षका प्रमोद कोइरालाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उक्त घटनामा सख्त घाइते भएका पर्सा पटेर्वा गाउँपालिका-५ का २८ वर्षीय इम्तियाज देवानको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्र भुसन यादवले दिउँसो सवा तीन बजे तिर भरतपुर महानगरपालिका-१६ को गणेश टोलमा रहेको औषधि फ्याक्ट्री रोयल फर्मास्युटिकल्समा सिलिन्डर विस्फोट भएको जानकारी दिए । उनका अनुसार फ्याक्ट्रीको दोस्रो तलामा रहेको एसीको कुलिङ ग्यास भर्ने क्रममा काल्टोन ४१० ए नामको ग्यास सिलिन्डर विस्फोट भएको हो । 

भरतपुरस्थित सरकारी अस्पतालमा उपचाररत कोइरालालाई दिउँसो ४ बजेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुशन्धान भइरहेको डीएसपी यादवले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully