गौरीशंकर–८ र ९ का बाढीपहिरोपीडित ११ परिवारलाई पालिकाले अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गरेको छ।
What you should know
दोलखा — बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई गौरीशंकर गाउँपालिकाले तत्काल अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
एक सातादेखिको बाढीपहिरोबाट विस्थापित भएका गौरीशंकर–८ लोङाटा र गौरीशंकर–९ टाँसीनामका ११ घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताए।
उनका अनुसार बाढीपहिरोबाट विस्थापित भएकाको तत्काल बासको अस्थायी व्यवस्थापन गर्न रकम उपलब्ध गराउन लागिएको हो। बुधबार राति खारे खोलामा आएको बाढीले लोङाटा बस्ती कटान गरेपछि ७ घरपरिवारलाई स्थानान्तरण गरिसकिएको उनले बताए।
खारे खोलाको बाढीले खोला तटीय क्षेत्रका २२ घर जोखिममा रहेको उनले बताए। यस्तै, गौरीशंकर–९ टाँसीनाममा ४ घरमा बस्न नमिल्ने गरी क्षति पुगेकाले ती परिवारलाई स्थानान्तरण गरिएको उनले जानकारी दिए। टाँसीनाममा पहिरोका कारण थप १० घर जोखिममा परेका छन्।
यस्तै, पहिरोले गौरीशंकर–७ मार्बुका केही घरमा पनि क्षति पुर्याएको उनले बताए। मार्बुमा पहिरोबाट क्षति भएका घरहरूको लगत संकलन भइरहेको छ। घरमा बस्नै नमिल्ने गरी विस्थापित भएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराइने उनले बताए। स्थायी आवास निर्माणका लागि भने विस्थापित परिवारलाई किस्ताबन्दीमा २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइने उनले जानकारी दिए। ‘बाढी र पहिरोबाट गौरीशंकरका धेरै वडा प्रभावित बनेका छन्। धेरै परिवार विस्थापित भएका छन्,’ उनले भने, ‘घरविहीन बनेकालाई तत्काल बासको अस्थायी व्यवस्थापन गर्न ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने भएका छौं।’
जोखिममा रहेका २२ घरपरिवार जोखिम मोलेर बसिरहेकाले उनीहरू तत्काल स्थानान्तरण हुन चाहेमा पालिकाले सहयोग गर्ने उनले बताए। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको पनि उनले जानकारी दिए।
‘वर्षा नरोकिएकाले दैनिकजसो विस्थापितको संख्या थपिँदै गएको छ। धेरै परिवार बाढीपहिरोको जोखिममा परेका छन्,’ उनले भने, ‘जोखिममा परेका घर र परिवारलाई तत्काल सहायता उपलब्ध गराउन र सतर्कता अपनाउन पालिकाले आग्रह गरेको छ।’
संघ, प्रदेश र स्थानीय तहले संयुक्त रूपमा बाढी, पहिरो तथा आगलागीबाट विस्थापित भएकाको घर पुनर्निर्माण गर्ने कार्यविधि बनाए पनि प्रदेश सरकारले रकम नदिएको र संघीय सरकारले पनि पर्याप्त रकम उपलब्ध नगराएकाले पालिका आफैंले अस्थायी तथा स्थायी आवासमा सहयोग गर्न थालेको उनले बताए।
गत वर्ष बाढीपहिरो र आगलागीबाट नष्ट भएका ३० घरको पुनर्निर्माण सम्पन्न भए पनि संघीय सरकारले पहिलो किस्ता मात्रै पठाएको र प्रदेश सरकारले कुनै जिम्मेवारी नलिएकाले निर्माण सम्पन्न भएका घरका लागि पालिकाले आफ्नै स्रोतबाट प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको उनले बताए।
गत वर्ष नै बाढीपहिरो तथा आगलागीबाट विस्थापित परिवारलाई अस्थायी आवासका लागि ५० हजार रुपैयाँ र स्थायी आवासका लागि २ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए।
बुधबार सिप्रिङ खोलामा आएको बाढीमा बेपत्ता भएका गौरीशंकर–९ का ७३ वर्षीय चस्मान तामाङको खोजी जारी रहे पनि अझै फेला पर्न नसकेको उनले बताए। चस्मानसँगै ३० वटा बाख्रा र १२ वटा गाईवस्तु पनि बाढीले बगाएको थियो।
यस्तै, बाढीले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनाको बाँधस्थल बगाएपछि विद्युत् उत्पादन बन्द भएको छ।
