खारे खोलामा आएको बाढीले लोङाटाका १० परिवारलाई पुनः विस्थापित बनाएको छ भने १५ भन्दा बढी घर जोखिममा परेका छन् र सुम्नाको खेतबारी समेत बगाएको छ ।
What you should know
दोलखा — २०७२ सालको भूकम्पले किर्से गाउँका सबै मुहान सुके । काकाकुल बनेपछि गाउँ नै पानी खोज्दै बसाइँ सर्यो । किर्सेभन्दा केही तल बेँसीको खेतमा नयाँ गाउँ बन्यो– लोङाटा । भूकम्पले पानीका मुहान सुकेपछि खोला किनारमा झरेको यही गाउँका अधिकांश बासिन्दा बुधबार रातिको खारे खोलाको बाढीले फेरि विस्थापित भएका छन् ।
किर्सेबाट १० परिवार पानीकै लागि लोङाटा झरेका थिए । खारे खोलाको बाढी आँगनसम्म आइपुगेपछि घरका काठपात जोगाउन सकिन्छ कि भनेर घर भत्काउँदै छन् लोङाटाका पहलबहादुर तामाङ ।
‘भूकम्पले पानी सुकेपछि तल बसाइँ सर्यौं, यहाँ पनि पानीले नै घर लग्यो । अब कता जाने ?’ उनले भने, ‘बस्तीमा बाढी पसेपछि रातभर माथिल्लो भेगमा खुला आकाशमुनि बितायौं ।’ बाढीले खेतबारी सबै बगाएको उनले बताए । लोङाटाभन्दा केही तल दाइको घरमा आश्रय लिएको उनले सुनाए । किर्सेबाट विस्थापित भएका सबै परिवार पुनः लोङाटाबाट पनि विस्थापित भएको उनको दुःखेसो छ ।
‘बाढीका कारण लोङाटाका कुनै पनि घर सुरक्षित छैनन् । तीनवटा घर त खोलाले तानिसक्यो,’ उनले भने, ‘ती घरका काठपात पछि काम लाग्छ भनेर भत्काउन थालेका छौं । पानी परेको पर्यै छ । बालबच्चा र वृद्धवृद्धाको बिचल्ली भएको छ ।’
भूकम्पपछि ऋण गरेर बनाएको नयाँ घर पनि खोलाले बगाइदिएको उनले बताए । घर जोगाउन नसकिए पनि अन्नपात जोगाउन हारगुहार गरिरहेको उनको भनाइ छ ।
बुधबार राति गौरीशंकर–८ को खारे खोलामा आएको बाढीले लोङाटाका १० परिवार विस्थापित भएका छन् । यस्तै, बाढीले लोङाटापारि सुम्नाका १५ भन्दा बढी घर जोखिममा परेका छन् । सुम्नाका स्थानीयका खेतबारी पनि बाढीले बगाएको छ । खारे खोला तटीय क्षेत्रका बस्तीमा बाढीको त्रास कायम छ ।
तत्काल विस्थापित भएकालाई छिमेकी तथा भाडाको घर खोजेर सुरक्षित स्थानमा सारिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताए ।
लोङाटाका विस्थापित दुई परिवारलाई खोलापारि सुरक्षित घरमा कोठा भाडामा लिएर सारिएको उनले बताए । अन्य परिवारलाई भने तत्कालका लागि छिमेकीको घरमा आश्रयको व्यवस्था मिलाइएको छ ।
‘बस्ती सबै खोलाको कटानले जोखिममा परेको छ । केही घर बग्ने क्रममा छन्,’ उनले भने, ‘निकै जोखिम भएकाले स्थानीयलाई तत्काल सुरक्षित स्थानमा सारेका छौं । संकट टरेपछि वैकल्पिक व्यवस्था गर्नेछौं ।’
खारे खोलाको बाढीले १५ भन्दा बढी घर जोखिममा परेको उनले बताए । जोखिममा रहेका घरका स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको पनि उनले जानकारी दिए ।
बाढीले गौरीशंकर–६ चंखु र ७ मार्बु जाने सडक पूर्णरूपमा बगाएकाले यातायात अवरुद्ध भएको छ । चंखु र मार्बु दुवै वडा सडक सञ्जालबाट विच्छेद भएको उनले बताए । आपत्कालीन अवस्था आएमा तत्काल सुरक्षा निकाय वा गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ ।
गत मंगलबार राति सिप्रिङ खोलामा आएको बाढीले बगाएका ७३ वर्षीय चसमान तामाङको खोजी बिहीबार पनि सुरक्षाकर्मीले जारी राखेका छन् । गोठमा सुतिरहेका बेला एक्कासि आएको बाढीले गोठसहित उनलाई बगाएको थियो । बाढीले ३० वटा बाख्रा र १२ वटा गाईवस्तु पनि बगाएको थियो ।
बाढीले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनाको बाँधस्थल बगाएपछि विद्युत् उत्पादन बन्द भएको छ । पहिरोका कारण गौरीशंकर–९ टासिनामका ६ घर विस्थापित भएको पालिका अध्यक्ष कार्कीले बताए । यस्तै, सिप्रिङ खोलाको बाढीले फेदी गाउँका ७ घर जोखिममा परेका छन् ।
‘टासिनामका केही घर पहिरोका कारण जोखिममा परेका छन् र केही परिवार विस्थापित भएका छन्,’ उनले भने, ‘म सोही वडामा क्षतिको अवस्था बुझ्न पुगेको छु । कति घर प्रभावित छन् भन्ने विवरण संकलन भइरहेको छ । सबैलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाइनेछ ।’
यस्तै, विगु गाउँपालिका–८ कापाराङमा पहिरोले दुई घर विस्थापित बनाएपछि ती परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अन्य तीन घर जोखिममा परेका छन् । उत्तरी क्षेत्रमा निरन्तर पाँच दिनदेखि वर्षा भइरहेकाले आकस्मिक बाढी आउने क्रम बढेको छ । गत साता चीनतर्फ परेको वर्षाका कारण तामाकोसीका सहायक खोलामा बाढी आएपछि माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले आकस्मिक ‘फ्लसिङ’ गरेको थियो । त्यसका कारण १७ घण्टा विद्युत् उत्पादन बन्द भएको थियो ।
पछिल्लो दुई सातामा बाढी र पहिरोमा परेर जिल्लामा एक शिशुको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । पहिरोमा परेर एक जना गम्भीर घाइते भएका छन् ।
