मकवानपुर जिल्ला अदालतबाट अनलाइन ठगीसम्बन्धी कसुरमा म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर — मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिक र एक होटल सञ्चालक नेपालीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाको संयुक्त टोलीले भारतको बिहार राज्य, पटना निवासी २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज तथा हेटौँडा–१० स्थित बास्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बास्तोलालाई पक्राउ गरेको हो । उनीहरूले विभिन्न प्रलोभन देखाई भारतीय नागरिकसहित अन्य व्यक्तिलाई अनलाइनमार्फत ठगी गर्दै आएको सूचनाका आधारमा साउन ७ गते होटलबाट नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानका क्रममा उनीहरूले प्रयोग गरेका मोबाइलमा टेलिग्राम, ह्वाट्सएपलगायत एपमार्फत समूह बनाई ठगीका लागि रकमको कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। मकवानपुर जिल्ला अदालतबाट अनलाइन ठगीसम्बन्धी कसुरमा म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै पक्राउ परेकाहरूले प्रयोग गरेका विभिन्न युजर आईडीबाट ठगिएका व्यक्तिलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
