मकवानपुरमा एक वर्षमा २२८ जना फरार अभियुक्त पक्राउ

पक्राउ परेकाहरूबाट ११२ वर्ष १९ महिना ८ दिन कैद र २ करोड ९४ लाख ९२ हजार २ सय ७२ रुपैयाँ जरिवाना असुली गरिएको छ ।

श्रावण ८, २०८३

प्रताप विष्ट

228 absconding suspects arrested in Makwanpur in one year

हेटौंडा — विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर फरार भएका अभियुक्तहरूमध्ये जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आव ०८२/०८३ मा २२८ जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेकाहरूबाट ११२ वर्ष १९ महिना ८ दिन कैद र २ करोड ९४ लाख ९२ हजार २ सय ७२ रुपैयाँ जरिवाना असुली गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भीमफेदी गाउँपालिका–८, सल्लेका ६६ वर्षीय भीमबहादुर थिङलाई पक्राउ गरेको छ । ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६० साल असारमा थिङलाई १० वर्ष कैद गर्ने फैसला गरेको थियो । २३ वर्षदेखि थिङ फरार रहेका थिए । 

अदालतले दोषी ठहर गरी कैद गर्ने फैसला भएपछि थिङ रोजगारीका लागि केही वर्ष भारत गएका थिए । भारतबाट फर्किएपछि काठमाडौंमा बस्दै आएका थिङ घर आएको अवस्थामा प्रहरीले बिहीबार घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद काफ्लेले बताए।

मकवानपुर जिल्ला अदालतबाट फैसला कार्यान्वयनअन्तर्गत कैद र जरिवाना सजाय तोकिएपछि फरार रहेका थिङलाई जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजीका क्रममा पक्राउ गरेको हो ।

मकवानपुर प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने उद्देश्यका साथ अदालतद्वारा दोषी ठहर भई कैद र जरिवाना तोकिएका फरार प्रतिवादीहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully