खारे खोलाको कटानले २५ बढी घर जोखिममा

बुधबार राति आएको बाढीले बस्ती कटान गरेपछि लंगोटाका १५ बढी घर जोखिममा परेका छन्।

श्रावण ७, २०८३

केदार शिवाकोटी

More than 25 houses at risk due to erosion by Khare Khola

दोलखा — दोलखाको उत्तरी क्षेत्रस्थित खारे खोलामा आएको बाढीले कटान गरेपछि गौरीशंकर गाउँपालिका–८ को लंगोटा र खारेखोला बस्ती जोखिममा परेका छन्।

बुधबार राति आएको बाढीले बस्ती कटान गरेपछि लंगोटाका १५ बढी घर जोखिममा परेका छन्। खोलाले निरन्तर कटान गरिरहेकाले स्थानीयले घरका सामान निकालेर सुरक्षित स्थानमा सारिरहेका स्थानीय रमेश श्रेष्ठले बताए। उनका अनुसार खोलामा आएको बाढीले बस्ती नै कटान गर्ने जोखिम छ।

यस्तै, गौरीशंकर गाउँपालिका–६ को गुरूम्फी बजार र गाउँपालिका–५ को सुम्ना बस्ती पनि खारे खोलाको कटानका कारण जोखिममा परेका छन्। जोखिममा रहेका बस्तीका स्थानीय बाढी आएपछि रातभर घर छाडेर सुरक्षित स्थानमा गएका थिए। बिहीबार बिहान घर फर्केका स्थानीयले घरबाट सामान निकाल्न थालेको श्रेष्ठले बताए।

यस्तै, बाढीले त्यस क्षेत्र पुग्ने सडक पूर्णरूपमा क्षति गरेपछि सडक अवरुद्ध बनेको छ। विद्युत्‌का पोलहरू बाढीले बगाएपछि विद्युत् सेवा पनि अवरुद्ध बनेको छ।

पुष्पलाल राजमार्ग अवरुद्ध

तामाकोसी नदीमा आएको बाढीले पुष्पलाल राजमार्गअन्तर्गत दोलखाको किर्नेटार सडकखण्ड बगाएपछि यातायात अवरुद्ध बनेको छ।

बुधबार राति तामाकोसीमा आएको बाढीले बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान गरेपछि तराईलाई दोलखासँग जोड्ने सडक पूर्णरूपमा अवरुद्ध बनेको छ।

राजमार्ग बन्द भएसँगै दोलखाबाट तराईसहित कोशी प्रदेश जाने सवारीसाधन चल्न सकेका छैनन्। बाढीले सडक बगाएका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ। वैकल्पिक सडक खुलाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

केदार

Link copied successfully