चितवन प्रशासनमा राष्ट्रिय परिचय पत्र बनाउनेको धेरै भएपछि कार्यालयले सेवा समय बढाउँदै एकै दिन ७५० जनालाई टोकन वितरण गर्न थालेको छ।
What you should know
चितवन — असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालय चितवनमा राष्ट्रिय परिचय पत्र बनाउने र कार्ड लिन आउने सेवाग्राही दैनिक ३ सय जना हाराहारी थिए । त्यो बेलासम्म कार्यरत कर्मचारीलाई पनि सेवा दिन सहज थियो ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै चितवन प्रशासनमा एकाएक परिचय पत्र बनाउनको भीड लाग्यो । अत्यधिक भीडले कार्यालय नै अस्तव्यस्त हुन थालेपछि चितवन प्रशासनले बुधबार सूचना जारी गर्दै आज (बिहीबार)देखि सेवा दिने समय नै बढाएको छ ।
बिहान ८ बजे नै कार्यालय पुगेर कर्मचारीहरुले राष्ट्रिय परिचय पत्र बनाउने सेवा दिन थालेका छन् । भीडले सेवाग्राही मर्कामा पर्न थालेपछि समय व्यवस्थापन गरेर सेवाको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए । ‘असार मसान्तसम्म सेवा दिन सहजै थियो, साउन लागेपछि सेवाग्राहीको भीडले सेवा प्रवाहमै असहज भयो,’ प्रजिअ अर्यालले भने, ‘सेवाग्राहीले दुःख पाउन थालेपछि बिहानदेखि साँझसम्म सेवा दिइरहेका छौं ।’
राष्ट्रिय परिचय पत्रका लागि बिहीबारदेखि बिहान ८ बजेबाट साँझ ७ बजेसम्म समय व्यवस्थापन गरिएको छ । अस्वभाविक रुपमा सेवाग्राहीको भीड लागेपछि चितवन प्रशासनले दोब्बर संख्यालाई सेवा दिने गरी समय अवधि बढाएको हो । यसअघि दिनमा करिब ३ सय जना हाराहारीलाई राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा दिँदै आएकोमा बिहीबारदेखि दैनिक ७५० जनालाई सेवा दिने गरी टोकन वितरण गरिएको प्रजिअ अर्यालले बताए।
प्रशासनले भीड व्यवस्थापन गर्न विगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीलाई कार्ड वितरण रोकेर उक्त काममा खटिने जनशक्तिलाई पनि परिचयपत्रको फोटो खिचाउने काममा खटाएको छ । परिचय पत्र वितरण कार्य केही समयका लागि स्थगित गरिएको बारेको सूचना पनि प्रशासनले सामाजिक संजाल र कार्यालयको सूचना बोर्डहरुमा टाँसेको छ ।
प्रशासनले सार्वजनिक बिदाको दिन पनि सेवा दिने तयारी गरिएको जनाएको छ । ‘बिहानदेखि साँझसम्म काम गर्दा पनि भीड यस्तै रह्यो भने हामी बिदाको दिन पनि सेवा दिने गरी तयारी गरिरहेका छौं,’ प्रजिअ अर्यालले भने।
बैंकहरुले चालु आर्थिक वर्षदेखि नयाँ बैंक खाता खोल्न, खाता नवीकरण गर्नलगायत प्रायोजनमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सेवाग्राहीको भीड लागेको हो । चितवन प्रशासनले जिल्लाका बैंकहरुमा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरिसकेका ग्राहकको सोही नम्बरकै आधारमा सबै काम अघि बढाई दिन अनुरोध समेत गरेको छ । परिचय पत्र बनाउनेदेखि कार्ड लिन आउने ग्राहकको भीड लागेपछि चितवन प्रशासनले सहजीकरणका लागि बैंकहरुलाई पनि आग्रह गरेको हो ।
