एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीको सचिवालयमा दर्ता गरे राजीनामापत्र

कांग्रेसले ३१ असारमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै प्रदेश सरकारमा नयाँ सत्ता समीकरणका लागि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

श्रावण ६, २०८३

प्रताप विष्ट

UML ministers submitted their resignation letters to the Chief Minister's Secretariat

What you should know

हेटौँडा — बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी सबै ६ मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष राजीनामापत्र बुझाउन गएका एमालेका मन्त्रीहरू मुख्यमन्त्री कार्यालयमा उपस्थित नभएपछि सचिवालयमा राजीनामापत्र दर्ता गराएका हुन् ।

चितवन गएका मुख्यमन्त्री बानियाँ बुधबार आउन नभ्याउने र राजीनामापत्र सचिवालयमा दर्ता गर्न भनेपछि मन्त्रीहरूले सोही अनुसार गरेका हुन् । 

कांग्रेसले ३१ असारमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै प्रदेश सरकारमा नयाँ सत्ता समीकरणका लागि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष ११ बजे राजीनामा बुझाउने तयारी गरेका थिए । मुख्यमन्त्री चितवनबाट आइनपुगेकाले साढे ४ बजे मुख्यमन्त्रीको सचिवालयमा राजीनामापत्र दर्ता गराएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन, पौडेल तथा श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा रहेका छन् ।साथै बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमालेले  फिर्ता लिएको छ । पार्टीले बुधबार नै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष समर्थन फिर्ताको पत्र बुझाएको छ । 

बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट ६ जना मन्त्री सहभागी थिए । उनीहरूमध्ये पाँच जना मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यालयमा उपस्थित थिए । स्वास्थ्यमन्त्री किरण थापा भने काठमाडौंमा रहेका कारण उपस्थित हुन सकेनन् ।

एमालेका ६ मन्त्रीले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने परेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully