दोलखाको गौरीशंकर गाउँपालिका–९ टासिनाममा बाढीमा एक जना वृद्ध बेपत्ता भएका छन् भने पहिरोले एक घर बगाउनुका साथै ५ घरमा क्षति पुर्याएको छ ।
दोलखा — गौरीशंकर गाउँपालिका–९ टासिनाम र मूलखर्कमा बाढी र पहिरोमा परेर एक जना बेपत्ता भएका छन् ।
मंगलबार राति ११ बजेतिर सिप्रिङ खोलामा आएको बाढीले गोठ बगाउँदा गौरीशंकर गाउँपालिका–९ का ७३ वर्षीय चसमान तामाङ बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोठसहित बाढीले बगाएका तामाङसहित ३० वटा बाख्रा र १२ वटा गाई गोरु बाढीले बगाएको गौरीशंकर–९ का अध्यक्ष निमगेली शेर्पाले बताए ।
यस्तै, टासिनामका विभिन्न टोलमा गएको पहिरोले एक घर बगाउनुका साथै ५ घरमा क्षति गरेको उनले बताए । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए ।
बाढी र पहिरोमा परेकाहरुको उद्धार गरेर नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले सुरक्षित स्थानमा लगेका छन् । यस्तै, बाढीका कारण त्यही वडाको फेदीका ७ घर जोखिममा परेका छन् । बाढीले ९ दशमलव ५४ मेगावाटको सिप्रिङ खोला जलविद्युत्को बाँध बगाएपछि विद्युत् उत्पादन बन्द भएको छ । टासिनाम पुग्ने गोरेटो बाटोमा पहिरोले क्षति पुर्याएपछि गाउँको सडक सञ्जाल टुटेको छ ।
