एमाले बाहिरिएपछि अल्पमतमा बानियाँ सरकार

बागमतीमा सत्ता समीकरणको केन्द्रमा हानेपा

श्रावण ६, २०८३

सुवास विडारी

Baniya government in the minority after UML's exit

What you should know

हेटौंडा — बागमती प्रदेश सरकारमा सहभागी एमालेका ६ मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब बागमतीको राजनीति नयाँ सत्ता समीकरणतर्फ मोडिएको छ।

एमालेबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले मुख्यमन्त्री बानियाँसमक्ष राजीनामा बुझाएका हुन् । देशभर प्रदेश तहमा एमाले–नेकपाबीच नयाँ सत्ता समीकरण अगाडि बढाउने सहमतिअनुसार एमाले सरकारबाट बाहिरिएको हो ।

हाल ११० सदस्यीय बागमती प्रदेश सभामा ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ तथा हाम्रो नेपाली पार्टी (हानेपा)का २ सांसद छन् ।

अबको अंकगणितमा कांग्रेस र नेकपा एक ठाउँमा उभिए ६२ सांसद पुग्ने भएकाले सहज बहुमतसहित सरकार गठन गर्न सक्ने अवस्था छ। तर एमाले र नेकपाले सरकार बनाउने प्रयास गरे उनीहरूको संख्या ५१ मा सीमित हुन्छ, जुन बहुमतभन्दा दुई सांसद कम हो ।

यही कारण दुई सांसद रहेको हानेपा बागमतीको सत्ता समीकरणको निर्णायक शक्तिका रूपमा रहेको छ । हानेपाले साथ दिए एमाले–नेकपा गठबन्धनले बहुमत पुर्‍याउन सक्छ । अन्यथा १२ सांसद रहेको राप्रपाको समर्थन खोज्नुपर्ने अवस्था आउनेछ। तर राप्रपाले हालसम्म कुनै पनि गठबन्धनलाई समर्थन गर्ने स्पष्ट संकेत दिएको छैन भने नेपाल मजदुर किसान पार्टी परम्परागत रूपमा प्रतिपक्षमै रहने अडानमा छ ।

यसैबीच, राजनीतिक वृत्तमा एमाले र नेकपाका नेताहरूले हानेपासँग सरकार गठनबारे छलफल सुरु गरेको चर्चा छ । त्यसैले बागमतीमा अबको सरकारको भविष्य दुई सांसद रहेको हानेपाको निर्णयमा धेरै हदसम्म निर्भर रहने देखिएको छ । एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने वा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भन्ने विषय आगामी राजनीतिक घटनाक्रमले तय गर्नेछ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully