बागमती सरकारबाट एमाले आजै बाहिरिने तयारीमा

एमाले प्रदेश संसदीय दलका नेता थपलियाले बदलिदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीबाट राजीनामा दिने तयारी गरिएको बताए ।

श्रावण ५, २०८३

प्रताप विष्ट

UML preparing to leave Bagmati government today

हेटौंडा — बागमती प्रदेश सरकारबाट एमालेले आफ्ना मन्त्रीहरुलाई सामूहिक राजीनामा गराएर सरकारबाट समर्थन फिर्ता लिने भएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मंगलबार साँझसम्म प्रदेश सरकारमा रहेका आफ्नो पार्टीका सबै मन्त्रीले राजीनामा दिने तयारी गरिएको बताए । ‘सकेसम्म मुख्यमन्त्रीलाई भेटेर दिन्छन्, भेट्ने वातावरण बन्न सकेन भने ईमेलबाट राजीनामा दिन्छन्,’ संसदीय दलका नेता थपलियाले भने ।  

एमाले बागमती प्रदेश संसदीय दलको सोमबारको बैठकले तत्काल सरकारबाट राजीनामा नगरेर पार्टी केन्द्रबाट स्पष्ट निर्देशन आएपछि मात्रै थप निर्णय गर्ने निष्कर्ष निकालेको थियो । पार्टी केन्द्रीय नेतृत्व र  संसदीय दलको नेतासमेतले सामूहिक राजीनामा दिने निर्देशन दिएकाले अहिले नै राजीनामा दिने तयारीमा जुटेको विना विभागी मन्त्री किरण थापाले बताए ।  

चार दिनअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारमा रहेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमपछि एमालेले तत्काल राजीनामा नदिने निर्णय गर्दै नयाँ रणनीति अपनाएको थियो । तर अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो । 

एमाले प्रदेश संसदीय दलका नेता थपलियाले बदलिदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीबाट राजीनामा दिने तयारी गरिएको बताए ।

एमालेका एक केन्द्रीय नेताले नेकपासित मिलेर सरकार बनाउने विषयमा पार्टीको सहमतिनजिक पुगेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिन लागिएको बताए । बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको नेतृत्वमा हाल प्रदेशमा रहेका १४ मन्त्रालयलाई ८ कायम गरिएको छ । साउन १ बाट उक्त निर्णय कार्यान्वयन गर्दै ८ मन्त्रीलाई जिम्मेवारी दिएको छ भने ६ मन्त्रीलाई विना विभागीय मन्त्रीका रुपमा राखेका थिए । 

बागमती सरकारमा एमालेबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी मन्त्री रहेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully