बन्दुक, गोली र बाघको दाँतसहित निकुञ्जले समायो दुईजना, गैंडा मार्ने योजना बनाएको अभियोगमा मुद्दा

बाघको दाँत जस्तो देखिने अखेटोपहार, माउजर बन्दुक र गोलीसहित चितवन राष्ट्रिय निकुञ्जले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

श्रावण ५, २०८३

रमेशकुमार पौडेल

Two arrested with gun, bullets and tiger teeth in national park, charged with planning to kill rhino

चितवन — बाघको दाँत जस्तो देखिने अखेटोपहार, माउजर बन्दुक र गोलीसहित चितवन राष्ट्रिय निकुञ्जले दुईजनालाई नियन्त्रणमा लिएको छ । जेठ २४ गते पक्राउ परेका उनीहरूविरूद्ध साउन ४ गते स‍ोमबार नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले दिएको जानकारी अनुसार नवलपरासी मध्यविन्दु नगरपालिका-१ सेतोपानी बस्ने ६८ वर्षका खड्गनारायण चौधरी र चितवन इच्छाकामना गाउँपालिका-५ का ५२ वर्षका टेकबहादुर मगर रहेका छन् ।निकुञ्ज कर्मचारी र निकुञ्ज सुरक्षाका लागि तैनाथ नयाँ गोरख गणको संयुक्त "अप्रेशन कोभर्ट"को क्रममा उनीहरू पक्राउ परेका हुन् । 

मध्यविन्दु नगरपालिका-३ ब्रह्मथान घाटमा उनीहरू पक्राउ परेका थिए । पछि खड्गनारायणको घर खानतलासी गर्दा  बन्दुक, गोलीसहित बाघको दाँत जस्तो देखिने सातवटा अखेटोपहार बरामद भएको सूचना अधिकारी थापा मगरले बताए । साथै भारतीय मुद्रा पाँच सयको नोट १३६ थान पनि बरामद भएको छ ।

उनीहरू विरूद्ध बाघको दाँत खरिद बिक्रीको अपराध र गैंडा मार्ने उद्योग (प्रयास) गरेको अभियोगमा मुद्दा दायर भएको चितवन निकुञ्जले जनाएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully