बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिँदै

देशभरका सातै प्रदेशमा नेकपा एमाले-नेकपाबीच प्रदेश तहमा सत्ता-समीकरण अगाडि बढ्ने भएसँगै मन्त्रीहरुले राजीनामा दिने भएका हुन् ।

श्रावण ५, २०८३

सुवास विडारी

6 UML ministers resign from Bagmati government

मकवानपुर — नेकपा (एमाले)बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिने भएका छन् ।

देशभरका सातै प्रदेशमा नेकपा एमाले-नेकपाबीच प्रदेश तहमा सत्ता-समीकरण अगाडि बढ्ने भएसँगै मन्त्रीहरुले राजीनामा दिने भएका हुन् ।

केहीदिन अगाडि मात्र बागमती सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले केन्द्रीय तहबाटै एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि मन्त्रीहरूले सरकार छाड्न बाध्य भएका थिए ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउन एमालेका मन्त्रीहरु काठमाडौंबाट हेटौंडा आउँदै छन् । एक कार्यक्रममा काठमाडौंमा रहेका मुख्यमन्त्री बानियाँ मन्त्रीहरुले राजीनामा दिने भएपछि हेटौंडा आउँदै छन् । एमाले संसदीय दलका नेता जग्नाथ खतिवडाले राजीनामा दिने विषय टुंगिएको र आजै हेटौंडा पुगेर मुख्यमन्त्री बानियाँले बुझाउने बताए ।

हाल बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरूमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल तथा श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा रहेका छन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully