जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति सूचना जारी गर्दै भोलि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
धादिङ — जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले धादिङ जिल्लामा रात्रिकालीन सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, धादिङले आइतबार राति एक सूचना जारी गर्दै उक्त निर्णय गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सिंहदरबार काठमाडौंबाट चितवन, गोरखा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरूमा रातिको समयमा सवारी आवागमनमा उच्च जोखिम रहेको जानकारी गराएपछि प्रशासनले यो कदम चालेको हो ।
सूचना अनुसार आम सर्वसाधारणको जिउज्यानको सुरक्षार्थ साउन ३ गते राति १०:०० बजेदेखि साउन ४ गते बिहान ०५:०० बजेसम्मका लागि सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरू गुड्न पाउने छैनन् । यद्यपि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सेवाहरू भने निरन्तर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
