नारायणगढ-मुग्लिन सडकमा आज पनि राति १० बजेदेखि सवारी साधन चलाउन रोक

वर्षाको पूर्वानुमान र पहिरोको जोखिमका कारण नारायणगढ-मुग्लिन सडक र मुग्लिनदेखि परको पृथ्वीराजमार्गमा अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक लगाइएको हो ।

श्रावण ३, २०८३

रमेशकुमार पौडेल

Vehicle movement banned on Narayangadh-Muglin road from 10 pm today

चितवन — वर्षाको पूर्वानुमान र पहिरोको जोखिमका कारण आज आइतबार पनि नारायणगढ-मुग्लिन सडक तथा मुग्लिनदेखि परको पृथ्वीराजमार्गमा राति १० बजेदेखि गाडी चलाउन चितवन जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

अर्को सूचना नआउँदासम्म उक्त सडक खण्डमा सबै खाले गाडी चल्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

चितवन प्रशासनले शनिबार राति पनि सो सडकमा गाडी चल्न रोकेको थियो । तर अनुमान गरेको भन्दा कम पानी परेको र पहिरोको जोखिम पनि नदेखेपछि आइतबार बिहान उज्यालो भएपछि गाडी चल्न सुरु भएको थियो । लेन अनुशासन नमानी चालकहरुले तछाडमछाड गरी गाडी चलाउन सुरु गरेका कारण मुग्लिन नजिक जलबिरेमा दुई यात्रु बस र ट्रक ठोक्किँदा केहीबेर बाटो अवरुद्ध भएको थियो । 

उक्त दुर्घटनामा करिब ३० जना घाइते भएका थिए । गाडी बन्द रहेका बेला सहयोग आवश्यक परेमा सम्पर्क गर्ने फोन नम्बरहरु चितवन प्रशासनले सार्वजनिक गरेको छ । नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपतकालिन केन्द्रको १२३४ र जिल्ला प्रहरी प्रवक्ताको ९८५५०१३९९९ मा सम्पर्क गर्न प्रशासनले सर्वसाधरणलाई अपिल गरेको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully