पहिरोले ललितपुरको चापागाउँ हुँदै हेटौंडातर्फ आउने–जाने सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ ।
हेटौंडा — लगातारको वर्षाले ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरे क्षेत्रमा पहिरो खस्दा कान्तिलोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षायाम सँगै यसपटक पनि कान्ति लोकपथमा पहिरोको जोखिम बढेको हो ।
प्रहरीका अनुसार पहिरोका कारण ललितपुरको चापागाउँ हुँदै हेटौंडातर्फ आउने–जाने सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुंगा खसेपछि तत्काल सवारी संचालन गर्न नसकिएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भए पनि निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने जोखिम अझै कायम रहेको छ ।
काठमाडौंलाई मकवानपुरसँग जोड्ने वैकल्पिक मार्गका रुपमा रहेको कान्ति लोकपथ वर्षायाममा भने सबैभन्दा बढी जोखिमपूर्ण सडकमध्ये बन्दै आएको छ । सामान्य वर्षा हुँदा पनि विभिन्न स्थानमा पहिरो खस्ने, सडक भासिने तथा ढुंगा झर्ने समस्या दोहोरिने गरेको छ । विशेषगरी ललितपुर क्षेत्रको पाङदुर, गिम्दी आसपासका भूभाग र मकवानपुरतर्फको भर्याङडाडा र ठिंगनदेखि बागमती पुलसम्मको क्षेत्र सामान्य वर्षा हुने बितिक्कै सडक अवरुद्ध हुने गरेको छ ।
कान्ति लोकपथ बन्द भएसँगै हेटौंडा–काठमाडौं आवतजावत गर्ने यात्रु तथा सवारी चालक समस्यामा परेका छन् । विशेषगरी छोटो दूरीका कारण यही सडक रोज्ने साना तथा मध्यम सवारी साधन अहिले वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन् । सडक बन्द हुँदा यात्रामा समय र लागत दुवै बढ्ने अवस्था सिर्जना भएको छ ।
वर्षायाममा कान्ति लोकपथ पटक–पटक बन्द हुने समस्या पुरानै भए पनि जोखिम न्यूनीकरणका लागि दीर्घकालीन समाधान हुन नसकेको गुनासो स्थानीयको छ । पहिरो नियन्त्रण, ढल निकास व्यवस्थापन, भित्तो संरक्षण तथा कमजोर भूभागको स्थायी व्यवस्थापन प्रभावकारी रुपमा हुन नसक्दा हरेक वर्ष एउटै समस्या दोहोरिने गरेको सरोकारवाला बताउँछन् ।
प्रहरीले अत्यावश्यक कामबाहेक यो सडक प्रयोग नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । सडक खुलाउने प्रयास जारी रहे पनि मौसममा सुधार नआएसम्म पूर्ण रुपमा सञ्चालन हुने समय भने यकिन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त सडकमा राति सवारी साधन आउजाउ गर्न रोक लगाएको छ ।
