भीमफेदीको चिसापानी पुल मर्मत सकिएसँगै सवारी साधन सञ्चालन

मर्मत सम्भार कार्य एक सातामा सम्भव भएको वागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नविन सिंहले बताए ।

श्रावण ३, २०८३

प्रताप विष्ट

Bhimphedi's Chisapani Bridge reopens to traffic after repairs are completed

हेटौंडा — काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा-भीमफेदी, कुलेखानी-फाखेल र सिस्नेरी खण्डमा पर्ने भीमफेदी-६ स्थित चिसापानी पुल सञ्चालनमा आएको छ । 

भीमफेदी बजारसँगै जोडिएको चिसापानीको अत्यन्त जीर्ण फलामे पुल मर्मतपश्चात् आइतबारदेखि सवारी साधन आउजाउ गर्न थालेका छन् । पानीमा भिजेर २४ सै घन्टा काम गरेकाले मर्मत सम्भार कार्य एक सातामा सम्भव भएको वागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नविन सिंहले बताए । पुल मर्मत सम्भार कार्य असार २७ गतेबाट सुरु गरिएको थियो । पुलको मर्मत सम्भार कार्य गरिरहँदा खोलामा निर्माण गरिएको डाइभर्सनवाट आउजाउ गरिरहेका थिए । 

भैंसे-भीमफेदी सडक खण्डमा रहेको प्रयोगविहीन फलामे ट्रष्ट वृजको फलामहरु झिकेर चिसापानीस्थित पुलमा विच्छाइएको थियो । करिब ४ दशकअघि निर्माण गरिएको चिसपानी पुलमा बिच्छ्याइएका काठहरु मक्किसकेको र पुलमा राखिएका फलामका पाताहरु पनि उप्किसकेकाले सवारी साधनहरु आउजाउ गर्न समस्या भएकाले मर्मत गरिएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख सिंहले बताए । ३ मिटर चौडाई र ४० मिटर लम्बाईको उक्त पुल भएर दैनिक २ हजारभन्दा बढी सवारी साधनहरु  आउजाउ गर्छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully