बुढी राप्तीमा डुबेका एकजनाको मृत्यु

घोँगी टिप्न गएका व्यक्ति डुबेको भन्ने जानकारी पाएपछि प्रहरीले उद्धार गरेको थियो, उपचारका क्रममा उनको ज्यान गएको हो ।

श्रावण २, २०८३

रमेशकुमार पौडेल

One person drowned in Budhi Rapti River, dies

चितवन — खोलामा डुबेर शनिबार चितवनमा एकजनाको मृत्यु भएको छ । बुढी राप्ती खोलामा डुबेका खैरहनी नगरपालिका-८ का ४० वर्षीय राजाराम ढकालको उपचारको क्रममा मृत्यु भएको हो । 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार घोँगी टिप्न गएका व्यक्ति डुबेको भन्ने जानकारी प्राप्त भएपछि उद्धारका लागि दिउँसो साढे २ बजे खैरहनी इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो ।

उद्धार गरेर भरतपुर अस्पतालमा उपचारका क्रममा चिकित्सकले दिउँसो ३ बजेर ४० मिनेट जाँदा मृत घोषणा गरेको डीएसपी यादवले बताए । बर्खामा नदी, खोला, पोखरी र घोल बढेका कारण यस्तो बेला पौडी खेल्न र पानीमा माछा मार्ने लगायतका गतिविधिमा सावधानी अपनाउन प्रहरीले स्थानीयलाई सजग गराएको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully