बागमतीमा विना विभागीय मन्त्रीलाई जिम्मेवारी, ६ मन्त्रीले पाए अतिरिक्त कार्यभार

मुख्यमन्त्रीको सचिवालयका अनुसार संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण सम्पन्न भएपछि प्रदेशमा मन्त्री र मन्त्रालयको संख्या ८–८ वटा कायम रहनेछ।

श्रावण १, २०८३

सुवास विडारी

Ministers without portfolios given responsibility in Bagmati, 6 ministers get additional responsibilities

मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशका मन्त्रालय संख्या घटाउने निर्णयसँगै विनाविभागीय रहेका ६ जना मन्त्रीलाई विभिन्न विषयगत मन्त्रालयको जिम्मेवारी तोकेका छन्।

मुख्यमन्त्री बानियाँले मन्त्री विनु रायमाझी पौडेललाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी विषय, जयराम थापालाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत श्रम, रोजगार तथा यातायात विषयको जिम्मेवारी दिएका हुन्।

यस्तै, सुरेश श्रेष्ठलाई सोही मन्त्रालयअन्तर्गत संस्कृति तथा पर्यटन, किरण थापा मगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य, उर्मिला नेपाललाई युवा तथा खेलकुद तथा भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण विषयको जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालय संख्या घटाइएको बताएका छन्। मन्त्रालय पुनर्संरचनापछि कार्यसम्पादनमा निरन्तरता कायम राख्न मन्त्रीहरूलाई अतिरिक्त विषयगत जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण सम्पन्न भएपछि प्रदेशमा मन्त्री र मन्त्रालयको संख्या ८–८ वटा कायम रहनेछ। यसअघि शुक्रबार बिहान पनि ७ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिएको थियो।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully