बागमती गाउँपालिका-५ मा १८ करोड लागतमा निर्माण गरिएको सहिद स्मृति आधारभूत अस्पतालले शुक्रबारदेखि विरामीको स्वास्थ्य परीक्षण गर्न थालेको हो ।
हेटौंडा — मकवानपुरको सुदूरपूर्वमा पर्ने बागमती गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल संचालनमा आएको छ ।
बागमती गाउँपालिका-५ मा १८ करोड लागतमा निर्माण गरिएको सहिद स्मृति आधारभूत अस्पतालले शुक्रबारदेखि विरामीको स्वास्थ्य परीक्षण गर्न थालेको हो । तीन वर्षअघि निर्माण सुरु भएको भवनको हालै निर्माण सम्पन्न भएपछि सहिद स्मृति आधारभूत अस्पताल संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए।
१५ शय्या रहेको उक्त अस्पतालमा सुत्केरी सेवा, आँखा परीक्षण, दन्त सेवा, बहिरंग सेवा, खोप सेवालगायत भिडियो एक्सरे, प्रयोगशालासमेतको सुविधा रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ताले बताए ।
हेटौंडाबाट करिब ६० किलोमिटर दुरीमा रहेको अस्पतालमा चिकित्सकसहित १५ जना स्वास्थ्यकर्मी रहेका छन् । यो अस्पताल छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी र काभ्रेको महाभारत गाउँपालिका बासिन्दालाई पनि पायक पर्ने गुप्ताले बताए ।
संघीय सरकारको लगानीमा करिब १८ करोडको लागतमा डेढ विघा जमिनमा निर्माण गरिएको यो अस्पताल भवन निर्माणको कार्य तीन वर्षअघि सुरु गरिएको थियो । ९ वटा वडामा विभाजित बागमती गाउँपालिकाका सबै वडामा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् ।
