बिहीबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकपश्चात् एमालेका तर्फबाट सरकारमा सहभागी ६ जना मन्त्रीले राजीनामा दिने तयारी भए पनि अन्तिम समयमा रोकिएको छ ।
मकवानपुर — बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धन सरकारको भविष्यको विषयमा केन्द्रको स्पष्ट निर्देशन कुर्ने सहमति भएको छ ।
बिहीबार दिउँसो ४ बजेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकपश्चात् एमालेका तर्फबाट सरकारमा सहभागी ६ जना मन्त्रीले राजीनामा दिने तयारी भए पनि अन्तिम समयमा रोकिएको छ ।
कांग्रेस–एमाले दुवैको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएका कारण दुवै दल सत्तालाई निरन्तरता दिन सहमत भएका हुन् । ‘हामी केन्द्रको आधिकारिक र स्पष्ट निर्णयपश्चात् सरकारको भविष्यको विषयमा निर्णयमा पुग्नेछौं । तत्काललाई कसैले पनि राजीनामा नदिने सहमति भएको छ,’ मन्त्रिपरिषद्को बैठकपश्चात् एक मन्त्रीले भने,‘मुख्यमन्त्रीज्यूले बर्खास्त नगर्ने र राजीनामा दिनुपर्ने अवस्था आए सोही अनुसार अगाडि बढ्ने भनेर सहमति भएको हो ।’
उनका अनुसार शुक्रबार (साउन १ गते)बाट बागमती प्रदेशमा आठ वटा मन्त्रालय कायम हुँदैछ । हाललाई कांग्रेसले ५ वटा र एमालेले ३ वटा मन्त्रालयको नेतृत्व सम्हाल्ने र कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भनेर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले तोक्नेछन् । हाल बागमती प्रदेश सरकारमा १४ वटा मन्त्रालय रहेका छन् । शुक्रबारबाट खर्च कटौतीका लागि आठवटा मन्त्रालय कायम हुँदैछ ।
‘तत्काललाई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको विषयमा प्रदेश प्रमुखलाई जानकारी गराउने र जिम्मेवारी नपाएका मन्त्रीहरुलाई विनाविभागीय रुपमा मुख्यमन्त्रीको कार्यालयमा राख्ने तयारी भएको छ,’ उनले भने ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सरकार सञ्चालन र गठबन्धनको विषयमा दलको नेतृत्वबीच छलफल भइरहेको र सहमतिमै सवै विषय टुंगिने बताए ।
हाल बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरूमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा रहेका छन् ।
