सडकबाट करिब एक सय मिटर तल खोलामा बाप्र. ०२–०३२ च ८०५४ नम्बरको होण्डाको एभीएटर स्कुटर मंगलबार फेला परेको हो ।
हेटौंडा — मकवानपुरको इन्द्रसरोवरस्थित सिमखोलाले बगाएको स्कुटर फेला परेको छ । चालक भने फेला पर्न सकेको छैन । सोमबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा कुलेखानी ड्याममुनिको सिमखोलाको बाढीले बगाएर हराएको उक्त स्कुटर मंगलबार फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार हेटौंडा–काठमाडौ जोड्ने छोटो दुरीको भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत इन्द्रसरोवर–२ मा अवस्थित सिमाखोलाको लच्कामा आएको बाढीको उच्च बहावले स्कुटरसहित चालक बगाएको थियो ।
सडकबाट करिब एक सय मिटर तल खोलामा बाप्र. ०२–०३२ च ८०५४ नम्बरको होण्डाको एभीएटर स्कुटर फेला परेको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ । उक्त स्कुटरका चालक भने अझै बेपत्ता रहेका छन् ।
स्कुटरमा फेला परेको व्लुबुक अनुसार स्कुटरधनी सर्लाहीका महेश कार्की रहेका छन् । स्कुटर कसले चलाएको थियो भन्ने अहिलेसम्म एकिन हुन नसकेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लले बताए । चालकको खोलामा खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
