पहिरो खस्न लागेका कारण चितवन जिल्ला प्रशासन कार्यालयले हिजो साँझ सूचना निकालेर अर्को सूचना नआउँदासम्म नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ ।
चितवन — सोमबार मध्यान्हदेखि नै लगातार जसो पानी परेका कारण चितवनको विभिन्न क्षेत्रमा डुबान भएको छ । पहिरो खस्न लागेका कारण चितवन जिल्ला प्रशासन कार्यालयले हिजो साँझ सूचना निकालेर अर्को सूचना नआउँदासम्म नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ ।
डिभिजन सडक कार्यालयले मंगलबार बिहान पनि सो सडकको जलबिरेमा पहिरो खसेको जनाएको छ । तर नारायणी र यसका अन्य सहायक नदीहरु त्रिशूली, राप्ती, रिउ र लोथरमा पानी र बाढीको तह चेतावनीको बिन्दुभन्दा तलै छ ।
लोथर खोला र रिउ खोलामा पनि बाढीको तह चेतावनी बिन्दुभन्दा तलै छ । माडी बनकट्टामा रिउ खोलाको तह बढ्दो छ । राप्ती खोलामा मिसिने लोथर खोलामा बाढीको तह स्थीर छ । चितवन क्षेत्रको भोर्ले र कालीखोलामा त्रिशुलीको बाढीको तह चेतावनीको विन्दुभन्दा तल र घट्दो छ । चितवन आएर नारायणीमा मिसिने राप्तीखोलाको मकवानपुर क्षेत्रमा पनि बाढीको तह चेतावनी विन्दुभन्दा तलै छ ।
