बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा-ललितपुर र हेटौंडा-काठमाडौं सडक खण्डमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
मकवानपुर — अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक सूचना जारी गर्दै दुई प्रमुख सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
प्रशासनका अनुसार असार २८ गते रातिदेखिको वर्षाले सडकहरू अवरुद्ध भई दुर्घटनाको जोखिम बढेकाले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडक खण्डमा चौकीटोल, हेटौंडाबाट असार २९ गते साँझ ५ बजेदेखि असार ३० गते बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।
त्यस्तै, हेटौंडा–टीकाभैरव–बागमती–ललितपुर सडकखण्डको चौघडाबाट असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन रोकिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको समय र स्थानमा सवारी सञ्चालन नगर्न तथा सुरक्षित स्थानमा रहन आग्रह गर्दै मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न अनुरोध गरेको छ।
