लामो समयदेखि अध्ययन र अनुसन्धानमा खटिएका ललितपुर महानगरपालिका–१५ निवासी चन्द्रशेखर सापकोटाले चेपाङ समुदाय र अन्य विपन्न परिवारलाई आधुनिक कृषि उपकरण वितरण गर्ने निधो गरे ।
चितवन — चेपाङ समुदायको बाहुल्य रहेको इच्छाकामनामा गाउँपालिकामा खेतीपाती गर्न कठिन छ । यो पालिकाको पहाडी भू–भागमा प्रविधि लैजान नसक्दा परम्परागत रुपमै खेती भइरहेको छ ।
यही समस्या देखेर कषि क्षेत्रमा लामो समयदेखि अध्ययन र अनुसन्धानमा खटिएका ललितपुर महानगरपालिका–१५ निवासी चन्द्रशेखर सापकोटाले यहाँ बसोबास गर्ने चेपाङ समुदाय र अन्य विपन्न परिवारलाई आधुनिक कृषि उपकरण वितरण गर्ने निधो गरे ।
दुई महिनाअघि ७ वटा हाते ट्याक्टर वितरण गरेका सापकोटाले आइतबार पुनः ५ वटा हाते ट्याक्ट चेपाङ परिवारलाई हस्तान्तरण गरे । व्यक्तिगत लगानीमै सापकोटाले १२ वटा हाते ट्याक्टर वितरण गरिसकेका छन् । ‘प्रविधिको प्रयोगबाट नेपालमा कृषि क्रान्ति गर्न सम्भव छ, पहाडमा पनि साना प्रविधिको प्रयोगबाट राम्रो उत्पादन र आम्दानी हुने भएकाले चेपाङ र विपन्न परिवारलाई हाते ट्याक्टर सहयोग गरेको हुा,’ सापकोटाले भने ।
इच्छाकामना गाउापालिकामा ७ वटा वडा छन् । सबै वडामा कम्तीमा एउटा हाते ट्याक्टर पुगोस् भन्ने चाहनाले सुरुमा ७ वटा हाते ट्याक्टर वितरण गरेको बताए । माग बढेपछि पुनः ५ वटा हाते ट्याक्टर वितरण गरेको उनले बताए । ‘एउटा ट्याक्टरबाट गाउाका सबैले मिलेर काम गरोस् भनेर सबै वडामा दिएको छु, आवश्यक परेको खण्डमा अरुलाई पनि सहयोग गर्छु,’ सापकोटाले भने ।
पहाडी भू–भागका स्थानीय विपन्न परिवारलाई कृषि उत्पादन बढाउन हाते ट्याक्टर सहयोग गरिएको उनको भनाई छ । ट्याक्टर लिनका लागि डाँडाबाट चेपाङहरु कुरिनटार बजार झरेका थिए । ट्याक्टर पाएपछि स्थानीय निरज चेपाङले भने, ‘पुरानै तरिकारले खेतीपाती गर्दै आइरहेका थियौं, अब ट्याक्टरबाट अरु धेरै उब्जनी होला कि ।’
निरज जस्तै प्रेम चेपाङ पनि खुसी थिए । उनले पनि मकै, कोदोलगायतका बाली लगाउँदै आइरहेका छन् । हात्ते ट्याक्टर पाएपछि उत्पादन बढाउन र काम गर्न पनि सहज हुने भन्दै सहयोग गर्ने दातालाई धन्यवाद दिए । सानो हात्ते ट्याक्टर भएकाले पहाडी भू–भागमा काम गर्न सहज हुन्छ । एउटा हाते ट्याक्टरको मूल्य करिब ५० हजार रुपैयाँ रहेको छ । २७ हजार जनसंख्या रहेको इच्छाकामना गाउँपालिकामा करिब ८ हजार जना बढी चेपाङ समुदायको बसोबास छ ।
