सडकको अवस्था जोखिमयुक्त भएकाले राति सवारीसाधन आउजाउ गर्न स्थानीय प्रशासनले रोक लगाएको छ ।
हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्याङडाँडा र बकैया गाउँपालिका-११ घट्टेपाखामा शनिबार बिहान गएको पहिरोले कान्तिलोकपथ अवरुद्ध भएको छ । उक्त क्षेत्रमा निरन्तर वर्षा भएका कारणले सडक माथिबाट पहिरो खस्ने गरेको छ ।
घट्टेपाखाको पहिरो पन्छाउने काम भइसके पनि भर्याङडाँडाको पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा पानी परिरहेको छ ।
पहिरो गएकाले हेटौंडाबाट कान्तिलोकपथ भएर काठमाडौं गइरहेका सवारीसाधन ठिंगनमा रोकिएका छन भने काठमाडौंबाट आएका सवारी बागमती पुलपारि रोकिएका छन् ।
कान्तिलोकपथ जोखिमयुक्त सडक भएकाले राति सवारीसाधन आउजाउ गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । सडकको अवस्थामा स्थलगत अध्ययन गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित सुरक्षा निकायको टोली बिहीबार ठिंगन, भर्याङडाँडा, घट्टेपाखा र बागमती पुलसम्म अनुगमन गर्न पुगेको थियो ।
