मनसुन सक्रिय भएसँगै बाढीपहिरो, डुबान तथा सडक अवरोधलगायतको जोखिम अनुमान गर्दै प्रदेश सरकारले विपद् पूर्वतयारीलाई तिव्रता दिएको छ ।
What you should know
हेटौंडा — बागमती प्रदेश सरकारले तीन वटै सुरक्षा निकायलाई विपद् पूर्वतयारीका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले शनिबार २ करोड ७५ लाख रुपैयाँ बराबरका सामग्री सुरक्षा निकायलाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाकालागि ७५ लाख ६२ हजार २९९, प्रहरीका लागि ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरीलाई १ करोड १६ लाख ८३ हजार ५२२ रुपैयाँ बराबरको विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । जसमा अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु इक्युपमेन्टलगायतका सामग्री रहेका छन् ।
मनसुन सक्रिय भएसँगै बाढीपहिरो, डुबान तथा सडक अवरोधको जोखिम अनुमान गर्दै प्रदेश सरकारले विपद् पूर्वतयारीलाई तिव्रता दिएको छ । विगतका विपद्बाट प्राप्त अनुभवलाई आधार बनाएर सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउने तयारी अनुसार मुख्यमन्त्री बानियाँले सुरक्षा निकायसँग छलफल पनि गरेका छन् । जोखिम बढी भएका स्थान पहिचान गरी त्यहाँ आवश्यक स्रोत–साधन, जनशक्ति र उद्धार सामग्री अग्रीम रुपमा व्यवस्थापन गर्ने रणनीति अपनाइएको छ ।
मनसुनका बेला सडक सम्पर्क विच्छेद हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले विभिन्न रणनीतिक स्थानमा उद्धार तथा राहत सामग्री भण्डारण गरिसकेको छ । मुख्यमन्त्री बानियाँका अनुसार नुवाकोट र मकवानपुरको हेटौंडा–थानाभर्याङलगायतका स्थानमा आवश्यक सामग्री सुरक्षित रुपमा राखिएको छ । आवश्यकता अनुसार ती सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले जानकारी दिए ।
