सोमेश्वरगढीमा ठड्याइयो अभिमानसिंहको सालिक

नेपाल एकीकरणका नेतृत्वकर्ता अभिमानसिंह बस्न्यातको सालिक नेपाल-भारत सिमानाको छेउमा रहेको ऐतिहासिक सोमेश्वरगढी क्षेत्रमा अनावरण गरिएको छ।

असार २७, २०८३

रमेशकुमार पौडेल

A statue of Abhiman Singh erected at Someshwargadhi

What you should know

चितवन — नेपाल भारत अन्तराष्ट्रिय सिमाना आडैमा माडीको सोमेश्वरगढी क्षेत्रमा शनिबार ऐतिहासिक सैनिक व्यक्तित्व अभिमानसिंह बस्न्यातको सालिक अनावरण भएको छ । बस्न्यातले तत्कालीन तनहुँको सेन राज्यको अधिनमा रहेको चितवनलाई नेपालमा गाभ्ने एकीकरण अभियानको नेतृत्व गरेको इतिहासमा उल्लेख छ ।

विसं १८३४ साउन २६ मा सोमेश्वरगढीमा गोरखाली फौज र सेनका सैनिकबीच युद्ध भएको थियो । सो युद्धमा बस्न्यातले नेतृत्व गरेको फौज विजयी भएको थियो । जिल्ला समन्वय समिति (जिसस) चितवनद्वारा प्रकाशित ‘चितवन दर्पण’मा प्रकाशित देवीप्रसाद कँडेलको ‘चितवनको ऐतिहासिक रुपरेखा (प्रागैतिहासिकदेखि २००७)’ सम्म उल्लेख भए अनुसार सोमेश्वर पर्वतको टाँकुरामा  सेनवंशी राजा मणिमुकुन्द सेनकै पालमा किल्ला बनेको थियो । सो किल्लामा गोरखाली फौजले विजय प्राप्त गरे लगत्तै चितवन एकिकृत नेपालको अंग बन्यो । तर फेरि १८३५ चैत्रमा तनहुँका सेन राजाले आफ्नो राज्यको पहाड र मधेस दुवै भागमा अधिकार कायम गरेका थिए । 

त्यसपछि आक्रमण प्रत्याकमण सुरु भएर १८३७ मा तनहुँको सेन राज्य पहाडी भेगमा मात्र सीमित भएको थियो । सोमेश्वर पहाडको दक्षिणी पानी ढलो भारतीय भुभाग हो । सेनहरुको पालामा उनीहरुको राज्य सोमेश्वरदेखि दक्षिण हाल बिहारको रामनगरसम्म थियो । भारतमा रहेका अंग्रेजहरु रामनगरको बाटोबाट सोमेश्वर कटेर चितवन हुँदै तत्कालीन नेपालको पहाडी भूभाग पस्न सक्ने खतरा थियो । पूर्वी भेग किरात भूगोल पुगेका  बस्न्यातलाई चितवनको कविलास र सोमेश्वरमा काजमा खटाइयो ।

इतिहासकार देवीप्रसाद कँडेलले लेखे अनुसार विसं १८३४ साउन ३ मा कविलासपुर गढीमा सेनका सैनिकसँग युद्ध भएको थियो । त्यहाँ विजय भएपछि अगाडी बढेको नेपाली सेनाको टोली सोमेश्वर पुगेको हो । सोमेश्वरगढी क्षेत्रभन्दा लगभग ५ सय मिटर वरै बस्न्यातको सालिक तयार भएको छ । सोमेश्वरगढी क्षेत्र नेपाल-भारत सिमानाको आडैमा छ । सोमेश्वरगढी चितवनको महत्वपूर्ण पर्यटकीय गन्तब्य हो । पूर्वाधार निर्माणको क्रममा लगभग सात वर्षअघि बस्न्यातको सालिकको स्वरुप तयार भएको थियो ।

विभिन्न ऐतिहासिक अध्ययन र दस्तावेजमा आधारित रहेर बस्न्यातको यथार्थपरक सालिक तयार गरी यो पटक अनावरण भएको हो । सालिक अनावरण कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाको मध्यपृतनाका पृतनापति उपरथी विष्णुकुमार खड्का थिए । कार्यक्रममा बस्न्यात नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता काजी अर्थात प्रधानसेनापति रहेको उल्लेख छ। यस्ता ऐतिहासिक व्यक्तित्वको सालिक निर्माणले नयाँ पुस्तामा राष्ट्रिय भावना फैलाउने विश्वास रहेको कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य ठाकुर ढकालले बताए ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट जारी ‘नेपालको सैनिक इतिहास–२०४९’मा उल्लेख भए अनुसार नेपाल एकीकरण अभियानका प्रमुख सैन्यकमाण्डर मध्ये एक प्रधानसेनापति (काजी) अभिमानसिंह बस्नेतले १८३४ मा तत्कालीन राजा प्रतापसिंहबाट लालमोहर प्राप्त गरेका थिए । जस अनुसार उनको नेतृत्वको फौज तत्कालीन तनहुँका सेन राज्य अन्तर्गतको कविलासपुुरगढी, उपरदाङगढी, परेवाकोटगढी र सोमेश्वरगढीमा विजय प्राप्त गरी नेपालमा समाहित भएको थियो ।

यो विजयले नेपालको दक्षिणी सिमानाको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाएर एकीकरण अभियानलाई थप रणनैतिक गहिराई दिएको सैनिक इतिहास–२०४९ मा उल्लेख छ । माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नयाँ गोरखागणले अभिमानसिंह बस्न्यातको सालिकलाई नयाँ र यथार्थ स्वरुपमा तयार गर्न संयुक्त रुपमा काम गरेका हुन् । सालिक निर्माण गरेको भनणदा केही तल ढुङ्गेधारा, बिसौनीलगायतका संरचना पनि तयार भएका छन् । माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले त्यसको उद्घाटन गरिन् । 

सोमेश्वरगढी क्षेत्रमा रहेको सोमेश्वरकालिकामा नेपालका मात्रै नभएर भारतीयको पनि गहिरो आस्था र विश्वास जोडिएको छ । रामनवमीका बेलामा जंगलको विकट कष्टकर बाटो हुँदै भारतीयहरु सोमेश्वरकालिका उक्लने गर्दछन् । सालिक अनावरण कार्यक्रममा बोल्दै माडी नगरपालिकाका मेयर महतोले सोमेश्वर क्षेत्रको धार्मिक साथै ऐतिहासिक पाटो पनि उजागार भएको बताइन् ।

आदिवासी थारु समुदायको पनि सोमेश्वर क्षेत्रमा आस्था र विश्वास रहने गरेको छ । ‘पालिका र नेपाली सेनाको सहकार्यले एउटा नयाँ र नमुना योग्य काम भएको छ । सोमेश्वरले हामीलाई धार्मिक आस्थासँग जोडेकै थियो । यो कार्यले यहाँको ऐतिहासिक र राष्ट्रियताको पक्ष पनि थप उजागार भएको छ । यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने छ,’ मेयर महतोले भनिन् ।  सोमेश्वरगढी क्षेत्र नेपाल सरकारको एक सय पर्यटकीय गन्तब्यमा समावेश छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully