पीडकका अभिभावकबाट पीडित किशोरीलाई साढे ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश
What you should know
हेटौँडा — हेटौँडाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला सुनाएको छ । उनीहरूको अभिभावकबाट साढे ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले हेटौँडा उपमहानगरपालिका-१४ का १८ वर्षीय सुजितकुमार लामालाई बलात्कार घटनाको मुख्य मतियार ठहर गर्दै साढे ३ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश भएको छ ।
यसैगरी उक्त घटनाका ६ जनालाई १० वर्ष कैद तोकिएको भए पनि नाबालक भएकाले २ तिहाई मात्र कैद फैसला गरेको छ । यी ६ जना १८ वर्षमुनिका छन् । उनीहरूको अभिभावकबाट ६ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
एक जना १५ वर्षका भएकाले उनलाई ३ वर्ष कैद र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । दोषी ठहर भएका सुजित लामा पूर्पक्षका लागि भीमफेदी कारागारमा थुनामा छन् । अन्य ७ नाबालक हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित बालसुधार गृहमा छन् । उक्त घटनामा संलग्न रहेका २ किशोर फरार छन् ।
गत ६ माघमा हेटौँडा उपमहानगरपालिका–२ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै एक किशोरीले दिएको उजुरीको आधारमा ८ जनालाई प्रहरीले गत २२ फागुनमा पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये जिल्ला अदालत मकवानपुरले एक युवकलाई पूर्पक्षका लागि भीमफेदी कारागारमा थुनामा राख्न आदेश गरेको थियो भने ७ नाबालकलाई हेटौँडास्थित बालसुधार गृहमा राख्न पठाएको थियो ।
किशोरीले आफूलाई सामूहिक बलात्कार गरेको भन्दै गत २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् । किशोरीकै जाहेरीको आधारमा ८ जनालाई प्रहरी पक्राउ गरेको थियो । अदालतद्वारा दोषी ठहरिएका किशोर र जोहेरी दिएकी किशोरी हेटौँडास्थित एकै क्याम्पसका विद्यार्थी हुन् । पीडित किशोरी स्नातक तह र किशोरहरू दस जोड दुईका विद्यार्थी हुन् ।
