हिमनदीको जलस्तर बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन चिनियाँ प्रशासनको आग्रह

चीनको जाङ्मु पोर्ट प्रशासनले माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढिरहेको भन्दै नेपालतर्फको भोटेकोसी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

असार २५, २०८३

अनिश तिवारी

Chinese authorities urge coastal areas to exercise caution as glacier water levels rise

What you should know

सिन्धुपाल्चोक — चीनको जाङ्मु पोर्ट प्रशासनले माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढिरहेको भन्दै नेपालतर्फको भोटेकोसी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाकाअनुसार जाङ्मु प्रशासनले बुधबार बेलुका नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीनतर्फको बोकु हिमनदीको जलस्तर पनि छिट्टै बढिरहेको उल्लेख गरेको छ।

‘यसबाट भोटेकोसी नदीमा आकस्मिक बहाव बढ्ने तथा बाढीको जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ,’ सशस्त्र प्रहरी बल नेपाल न १६ हेड क्वाटर सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक नवराज नेपालले भने ।

चिनियाँ प्रशासनले सीमा नाका, नदी तटीय क्षेत्रका बासिन्दा, स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षात्मक उपाय तत्काल कार्यान्वयन गर्न आग्रह गरेको उनले बताए । 

‘जाङ्मु प्रशासनले पठाएको सन्देशमा भनिएको छ, माथिल्लो क्षेत्रमा रहेको हिम ताल जलस्तर तीव्र रूपमा बढिरहेको छ। बोकु नदीको जलस्तर पनि छिट्टै बढ्न सक्ने भएकाले बाढीको जोखिम रहेको छ । कृपया आवश्यक सुरक्षात्मक उपाय अविलम्ब अपनाउनुहोस्, भनिएको छ’ नेपालले भने ।

उक्त सन्देश प्राप्त भएपछि नेपाली प्रशासन र सुरक्षा निकायले भोटेकोसी नदी तटीय क्षेत्रको अवस्थामाथि निगरानी बढाउनुका साथै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको जनाएको छ । भोटेकोसी नदी चीनको बोकु हिमनदीसँग जोडिएकाले माथिल्लो क्षेत्रमा हुने तीव्र वर्षा, हिमतालको जलस्तर वृद्धि वा हिमताल फुट्ने जोखिमले तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउने सम्भावना रहने भएकाले यसअघि पनि यस्ता चेतावनीहरू आदानप्रदान हुँदै आएका छन्।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully