महिला न्यायाधीशहरूको नेतृत्वमा हेटौँडा इजलासले एक वर्षभन्दा बढी पुराना सबै मुद्दा फर्स्यौट गर्दै न्याय सम्पादनमा उल्लेखनीय उपलब्धि हात पारेको छ।
What you should know
हेटौँडा — उच्च अदालत पाटन हेटौँडा इजलासमा एक वर्ष नाघेका मुद्दा शुन्य रहेको छ । हेटौडा इजलाशले मंगलवारसम्म एक वर्ष नाघेका मुद्दा सबै फर्स्यौट गर्न सफल भएको छ ।
‘गत आथिक वर्षमा ४८० थान मुद्दा फर्स्यौट हुन बाँकी रहेका थिए, ती सबै पूराना मुद्दा मंगलबारसम्म फर्स्यौट भइसकेका छन्’ उच्च अदालत पाटन हेटौँडा इजलासका उपरजिष्ट्रार एवं प्रवक्ता बद्री लामिछानेले भने, ‘गत आवका ४८० थान मुद्दासहित १२४७ मुद्दा मंगलबारसम्म फर्स्यौट गरिसकेका छौं ।’
आव ०८१/०८२ को जिम्मेवारी सरेर आएकोसहित हेटौँडा इजलासमा आव ०८२/०८३ मा १६४९ मुद्दा रहेका थिए । तीमध्ये १२४७ अर्थात ७५.६ प्रतिशत मुद्दा फर्स्यौट भएको उच्च अदालत पाटन हेटौँडा इजलासले जनाएको छ । अब फर्स्यौट हुन बाँकी मुद्दा ४०२ थानमात्र रहेको छ ।
गत आवमा १७२७ थान मुद्दा दर्ता भएकामा १२४७ थान मुद्दा अर्थात ७२.३० फर्स्यौट गरिएको थियो । हेटौँडा इजलासमा न्यायाधीशको ७ दरबन्दी रहेको छ । ७ दरबन्दीमध्ये ६ जना न्यायाधीश कार्यरत छन् । कार्यरत न्यायाधीशहरु सबै महिला छन् । उच्च अदालत पाटन हेटौँडा इजलाशमा न्यायाधीशसहित ६१ जनाको दरबन्दी रहेको छ । त्यसमध्ये ५३ जना कर्मचारी कार्यरत छन् । जसमा २९ जना महिला र २४ जना पुरुष छन् ।
हेटौँडा उपमहानगरपालिका–२ मा रहेको उच्च अदालत पाटन हेटौँडा इजलासको कार्यक्षेत्र मकवानपुर र चितवन जिल्ला रहेको छ ।
यसैगरी २३, २४ भदौको जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेर ३ करोड ५३ लाख १८ हजार मूल्य बराबरको क्षति भएको थियो । आगजनीबाट कम्प्युटर, फर्निचर, इजलास कक्ष, सवारी साधन र अदालतको भवन क्षतिग्रस्त बनाएको थियो । क्षतिग्रस्त भवनको मर्मत सम्भार गरेर अदालतको नियमित सेवा एक महिनापछि सुरु गरिएको थियो ।
