केराको थामबाट कागज बनाएर मासिक ६० हजार कमाउँछन् प्रेमप्रसाद

साउदीमा आठ वर्ष काम गरेर फर्किएका प्रेमप्रसाद तिमल्सिनाले मकवानपुरगढीमा केराको थामबाट हस्तनिर्मित कागज उद्योग चलाएर आम्दानी गरिररहेका छन् ।

असार २२, २०८३

प्रताप विष्ट

Prem Prasad earns 60,000 rupees per month by making paper from banana peels

What you should know

हेटौंडा — सन् २०११ मा १२ कक्षा पास गरेपछि प्रेमप्रसाद तिमल्सिनाको सपना थियो, आफ्नै देशमा केही गर्ने । तर सपना पूरा गर्न पूँजी थिएन । त्यसैले ड्राइभिङ सीप बोकेर उनी रोजगारीका लागि साउदी अरब पुगे ।  आठ वर्षसम्म परदेशमा पसिना बगाए । त्यहाँ कमाएको रकम लिएर उनी नेपाल फर्किए, तर जागिर खान होइन, गाउँमै उद्यम खडा गर्न ।

मकवानपुरगढी गाउँपालिका–३ देवीडाँडामा सञ्चालित तिमल्सिना हाते कागज उद्योग त्यसै निर्णयको परिणाम हो । घरगाउँमा फालिने केराको थामबाट हस्तनिर्मित कागज उत्पादन गरेर ग्रामीण उद्यमशीलताको नयाँ सम्भावनाको. ढोका खोलेका छन् । ‘विदेशको पैसा खहरेको पानीजस्तै रहेछ,’ तिमल्सिनाले भने, ‘आफ्नै ठाउँमा व्यवसाय खडा गर्न सकियो भने जीवनभर टिक्ने सम्पत्ति बन्छ । सन्ततिले पनि सिक्छन्, देशलाई पनि फाइदा हुन्छ ।’ विदेश बसाइँले उनलाई अनुशासन र निरन्तर मेहनत गर्न सिकायो । ‘जहाँ भए पनि मेहनत र इमानदारीका साथ काम गर्न सकियो भने पैसा कमाउन गाह्रो हुँदैन भन्ने मैले विदेशमा सिके,’ उनी भन्छन् ।  

साउदीमै रहेका बेला उनले युट्युबमा भारतको कर्नाटकका एक इन्जिनियर दम्पतीले केराको थामबाट कागज बनाएको भिडियो देखे । त्यो दृश्य उनको मनमा गडेर बस्यो । ‘मेरो गाउँ केरा उत्पादनको पकेट क्षेत्र हो । जताततै केराको थाम फालिएको देख्थे । त्यसबेला यो फोहोरलाई पनि स्रोत बनाउन सकिदो रहेछ भन्ने लाग्यो,’ उनले भने । नेपाल फर्किएपछि उनले बाख्रापालन, भेटेरिनरी सेवा, ड्राइभिङलगायत धेरै काम गरे । तर अन्ततः फालिने कच्चा पदार्थलाई मूल्यवान् उत्पादनमा रुपान्तरण गर्ने सपना पछ्याउने निर्णय गरे ।  उनले गाउँमै २०८१ सालमा हाते कागज उद्योग स्थापना गरे । 

उद्योग सुरु गर्दा सबैभन्दा ठूलो चुनौती पूँजीभन्दा पनि परिवारलाई विश्वास दिलाउनु थियो । यो कामबाट पैसा आउदैन भन्ने सबैको धारणा थियो । ६ महिनासम्म एक्लै काम गरें । ‘जब उत्पादन बिक्री हुन थाल्यो र मेहनत पैसामा रुपान्तरण हुन थाल्यो, त्यसपछि मात्र परिवारले विश्वास गर्न थाले,’ उनले सुनाए । अहिले हाते कागज उद्योग परिवारकै सक्रिय सहभागितामा सञ्चालन भइरहेको छ । व्यवसाय विस्तारसँगै आगामी वर्षदेखि थप कर्मचारी राख्ने तयारी भइरहेको छ । केरा काटिसकेपछि खेतमै कुहिन छोडिने थाम उद्योगको मुख्य कच्चा पदार्थ हो । पहिले थामबाट विशेष मेसिनमार्फत फाइबर निकालिन्छ । त्यसलाई सुकाएर बाबियोसँग पकाइन्छ । प्रशोधनपछि लेदो बनाइन्छ र त्यही लेदोबाट हस्तनिर्मित कागज तयार गरिन्छ ।

तिमल्सिनाका अनुसार एक किलो फाइबरबाट २०/३० इन्च आकारका ५० देखि ६० वटा कागज उत्पादन हुन्छ । पूर्ण क्षमतामा उद्योग सञ्चालन हुँदा दैनिक ५०० वटासम्म कागज उत्पादन गर्न सकिने उनको भनाइ छ । मकवानपुरगढीको केरामा फाइबरको मात्रा तराईभन्दा धेरै रहेको उनको अनुभव छ । तराईमा एक ट्याक्टर थामबाट करिब २० किलो फाइबर निस्कन्छ भने यहाँ ७० देखि ८० किलोसम्म फाइबर निकाल्न सकिने उनले बताए ।  

मकवानपुरगढी गाउँपालिकाले मात्रै करिब १ लाख रुपैयाँ बराबरको हस्तनिर्मित कागज खरिद गर्ने जनाएको छ । अहिले उनका कागज धूप उद्योग, हस्तकला सामग्री, पेपर ब्याग, पेपर बक्स र अन्य वातावरणमैत्री प्याकेजिङका लागि प्रयोग हुन थालेका छन् । ‘हाम्रो लक्ष्य लोक्ताको विकल्प होइन, लोक्तासँगै अर्को नेपाली हाते कागजको पहिचान स्थापित गर्ने हो,’ उनले भने ।

पूर्णरुपमा उद्योग सञ्चालन गर्न सके मासिक करिब १ लाख रुपैयाँ आम्दानी गर्न सकिने तिमल्सिनाको दाबी छ । अहिले उनले मासिक ६० हजार रुपैयाँ भन्दाबढी आम्दानी गर्छन् । व्यवसाय विस्तार भएपछि तीन/चार जनालाई रोजगारी दिन सकिने उनको योजना छ । अहिले उनको उद्योगमा विभिन्न क्षेत्रबाट अवलोकन गर्न आउने गरेका छन् । 

अहिले उद्योग सञ्चालनमा सबैभन्दा ठूलो समस्या सडक र विद्युत् रहेको तिमल्सिनाको भनाइ छ । उद्योगसम्म पुग्ने बाटो नहुँदा वर्षायाममा कच्चा पदार्थ ढुवानी गर्न नसकिने र तीन–चार महिनासम्म उद्योग बन्द गर्नुपर्ने अवस्था आउने गरेको उनले बताए । त्यसमाथि पर्याप्त विद्युत् भोल्टेज र थ्री–फेज लाइन नहुँदा आधुनिक मेसिन सञ्चालन गर्न कठिन भइरहेको उनले बताए । 

५/१० वर्षको योजना बनाएर उद्यम सुरु गर्ने हो भने नेपालमै भविष्य बनाउन सकिने उनको अनुभव छ । अब उनको योजना  छ, ‘मकवानपुरमा सरकारी प्रयोजनका लागि आवश्यक हाते कागज आफ्नै उद्योगबाट उत्पादन गर्ने र कम्तीमा २० जनालाई रोजगारी दिने ।’  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully