बागमती सरकारको बजेट बहुमतले पारित

बागमती सरकारले असार १ मा आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट पेश गरेको थियो ।

असार २०, २०८३

प्रताप विष्ट

Bagmati government budget passed by majority

हेटौंडा — बागमती प्रदेश सरकारको आगामी आव २०८३/०८४ को बजेट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८३ बहुमतले पारित गरेको हो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा पेश गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

मन्त्री तामाङले पेश गरेको उक्त प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईले निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । उपसभामुख चापागाईले निर्णायार्थ प्रस्तुत गरेको प्रस्तावको पक्षमा प्रतिपक्षी सांसद विपक्षमा प्रस्तुत भएका थिए । प्रस्तावको पक्षमा बढी सांसद रहेकाले उपसभामुख चापागाईले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरेकी थिइन् । 

प्रदेश सभामा सरकारको बजेटमाथि सांसदहरुले गत असार १६ देखि निरन्तर छलफल गर्दै आएका थिए । सांसदहरुले बजेटमाथिको छलफलमा राखेका धारणा बारेमा शुक्रबार र शनिबारको बैकठले विभागीय मन्त्रीहरुले जवाफ दिएका थिए । बागमती सरकारले असार १ मा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट पेश गरेको थियो । बागमतीमा कांग्रेसको नेतृत्वमा एमालेको संयुक्त सरकार छ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully