काभ्रेपलाञ्चोक जिल्ला स्थित अरनिको राजमार्ग अन्तरगत पाँचखाल नगरपालिका–४ स्थित बुधबार बिहान भएको सवारी दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ।
काभ्रे — काभ्रेपलाञ्चोक जिल्ला स्थित अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ स्थित बुधबार बिहान भएको सवारी दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार बिहान करिब ९:३० बजे पाँचखालको भित्री सडकबाट राजमार्ग क्रस गर्ने क्रममा प्र.३–०२–०१३ प ९५०१ नम्बरको स्कुटरलाई काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ०८–००१ ज ०१५० नम्बरको विद्युतीय (ईभी) गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक सिन्धुपाल्चोकको जलबिरे गाउँपालिका–१ घर भई हाल पाँचखालमा रहेको एक माइक्रोफाइनान्स संस्थामा कार्यरत २४ वर्षीया मिनकुमारी श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा बिहान १०:४८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा ईभीमा सवार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ का ६५ वर्षीय गोपाल भुजेल घाइते भएका छन् । उनको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ । स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । ईभी चालक सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ का ४३ वर्षीय कर्णबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
