बर्खायाममा कच्ची वनपथ बिग्रिने, खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने जस्ता समस्या बर्खामा देखिने गरेको छ ।
चितवन — वर्षायाम सुरू भएका कारण बुधबारदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकका लागि जिप सफारी सेवा बन्द हुने भएको छ । निकुञ्जले वर्षा सुरू भएसँगै हरेक वर्ष जिप सफारी बन्द गर्दै आएको छ । वर्षा सकिएसँगै असोज पहिलो साताबाट निकुञ्जभित्र जिप सफारी सुरु हुन्छ ।
निकुञ्ज कार्यालयले मंगलबार जारी गरेको सूचनामा अर्को व्यवस्था नभएसम्म सफारी बन्द रहने उल्लेख छ । 'यस चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुंगीको प्रजनन्का लागि वर्षायाम उपयुक्त समय हो,' निकुञ्जको सूचनामा उल्लेख छ ।
बर्खायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जंगलमा भएका स- साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने जस्ता समस्या पनि देखिन्छ । यस्ता कारणले सफारी गर्ने पर्यटकलाई असहजता हुन सक्ने निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए । उनले भने, 'वन्यजन्तु संरक्षण, बासस्थानको पुनरुत्थान र पर्यटकको सुरक्षालाई ख्याल गरेर निकुञ्जमा सञ्चालन हुने व्यावसायिक जंगल ड्राइभ असार १७ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको हो ।'
निकुञ्ज घुम्न आउने पर्यटक प्राय: जिप सफारी गरेर जंगली जनावर हेर्दै रमाउँछन् । निकुञ्जबाहिर रहेका मध्यवर्ती सामुदायिक वनमा पनि जिप सफारी हुन्छ । सामुदायिक वनको सफारी भने बर्खायाममा पनि सञ्चालन भइरहेको हुन्छ ।
